Logo

महिला जजको घाँटीमा बल लागेपछि जोकोविच अयोग्य घोषित



काठमाडौं । प्रतिस्पर्धाका क्रममा दूर्घटनावस आफूले फर्काएको बल लाइन जजलाई लागेपछि लन टेनिका विश्व नम्बर एक खेलाडी नोभाक जोकोविच युएस ओपन टेनिसका लागि अयोग्य घोषित भएका छन् ।

चौथो चरणको खेलमा दुर्घटनाबस लाइन जजलाई बलले लागेको थियो । स्पेनिस पाब्लो कारेनो बुस्तासँगको खेलको क्रममा ६–५ ले पछि परेका बेला सर्भ गुमाएका जोकोविच बल मार्फत आफ्नो कुण्ठा पोखेका थिए । उनले गोजीबाट बल निकाली आफू पछाडि हिर्काए ।

सो बल गएर महिला लाइन जजको घाँटीमा लाग्यो । जोकोविचले लगत्तै जजसँग माफी मागेका थिए । लामो छलफलपछि जोकोविचलाई प्रयोगिताका लागि अयोग्य घोषित गरिएको हो ।

३३ वर्षका सर्बियन खेलाडी जोकोविचले बल जोखिमपूर्ण तथा सावधानी नअपनाई हिर्काएकाले ग्राण्ड सलामको नियम अनुसार अयोग्य घोषित गरिएको अमेरिकाको टेनिस एसोसिएशनले जारी गरेको व्यक्तव्यमा उल्लेख छ ।

उनी प्रयोगिताका लागि अयोग्य घोषित भएकाले युएस ओपन टेनिसबाट बरियताका लागि प्राप्त गरेको अंक पनि खारेज भएको छ । जोकोविचले यो वर्ष कुनै पनि खेलमा हार बेहोरेका थिएनन् ।

जोकोविच बाहिरिएपछि अब पुरुष तर्फ नयाँ ग्राण्ड सलाम विजेता प्राप्त हुने पक्का भएको छ।

जोकोविच, रोजर फेडेरर र राफायल नाडाल भन्दा बाहिरका खेलाडीले सन् २०१६ पछि पहिलो पटक प्रमुख उपाधि जित्ने भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्