Logo

स्याङ्जामा १९ जुवाडेसहित २२जनामा कोरोना पुष्टि



स्याङ्जा । आइसोलेसनमा कोरोना संक्रमितको संख्या न्यून हुँदै गएका बेला स्याङ्जामा फेरी कोरोना संक्रमित थपिएका छन्। थपिएका मध्ये अधिकांश समूहमा बसेर तास खेल्नेहरु रहेका छन् ।

स्याङ्जाको पुतलीबजार नगरपालिकामा मात्र आइतबार बिहान एकैपटक २२ जना कोरोना संक्रमित पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ। संक्रमित मध्ये एक महिला हुन भने २१ पुरुष।

 

थपिने मध्येमा १९ जना तास खेल्नेहरु, दुईजना विदेशबाट आइ क्वारेन्टाइनमा बसेका र एक सरकारी कर्मचारी रहेको नगर स्वास्थ्य प्रमुख बिष्णु काफलेले जानकारी दिनुभयो । यसैसाता, प्रहरीले छुट्टाछुट्टै २ खालमा बसेर तास खेल्दै गरेका अवस्थामा पक्राउ परेका युवाहरुलाई दुई दिनपछि क्वारेन्टाइनमा राखेको थियो। यसरी पक्राउ पर्ने २२ जना जुवाडे रहेका थिए ।

भारत र मलेसियाबाट फर्केका २ जना पनि क्वारेन्टाइनमा बसेका मध्येका हुन भने एकजना सरकारी कर्मचारी जिल्ला अस्पताल स्याङ्जामा उपचारमा क्रममा गएका बेला पिसिआर परिक्षण गराउदा पोजिटिभ देखिएको प्रमुख काफ्लेले भने।

योसंगै स्याङ्जामा कोरोना संक्रमित हुनेको संख्या ३ सय ३७ पुगेको छ। आइसोलेसनमा बस्नेको संख्या घटेर ५ जना पुगेका बेला आइतवार बिहान २२ जना थपिएसँगै २७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले बताए। कोरोनाका कारण २ जनाको भने मृत्यु भएको छ भने ३ सय ८ जनाले कोरोना जितेर घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्