Logo

मत्स्येन्द्रनाथको रथ तान्‍ने क्रममा स्थानीय र प्रहरीबीच झडप, पाटन बन्यो रणमैदान



रातो मत्स्येन्द्रनाथ रथयात्राबारे सरकार गम्भीर नभएको भन्दै पाटनबासीले बिहीबार पुल्चोकमा भेला भएर विरोध प्रदर्शन गरेका छन् । उनीहरुको विरोध प्रर्दशनमा प्रहरीेले हस्तक्षेप गरेपछि स्थानीय युवाहरु र प्रहरीबीच झडप भएको छ । निषेधाज्ञाका बाबजुद रथ तानेको भन्दै प्रहरीले रोकेपछि केहीबेर झडप भएको थियो ।

प्रहरीले भीडलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्याँससमेत प्रयोग गरेको छ । स्थानीय युवाले रथ तान्‍न अवरोध गरेको भन्दै प्रहरी टोलीमाथि ढुंगामुढा प्रहार गरेका थिए । युवाहरुले आफैं रथ तानेर पुल्चोकबाट धमाःफल्चा पाटीसम्म पुर्‍याएका छन् । अहिले पुल्चोक सशस्त्र प्रहरीसमेत ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निषेधाज्ञा उल्लंघन गर्दै युवाहरु बिहानैदेखि प्रदर्शनमा थिए। ११ बजेपछि उनीहरुले जबरजस्ती रथलाई घिच्याउँदै पुल्चोकको मुल सडकमा पुर्‍याएका थिए। उनीहरुले संस्कृति मास्न नपाइने नारावाजी लेखिएका प्लेकार्ड बोकेका थिए।

दिउँसो १ बजेपछि भने अवस्था तनावपूर्ण बन्दै गएको थियो। प्रहरीको परिचालन बाक्लिँदै गएपछि युवाहरु आक्रमक देखिएका थिए। प्रहरीले वाटर क्यानन लिएर पुगेपछि प्रहरीमाथि ढुंगामुडा प्रहार भएको थियो। त्यसपछि प्रहरीले पानीको फोहराले हान्न थालेको छ। प्रदर्शनकारीले प्रहरीलाई खेदेका छन्।

प्रहरीलाई खेदेपछि पुल्चोकमा सशस्त्र प्रहरी पनि परिचालित भएको छ। सुरक्षाकर्मीले भिड तितरवितर पार्न थालेको छ अहिले। पुल्चोकको मुल सडक यतिखेर ढुंगामुढाका कारण आन्दोलनस्थलका रुपमा परिणत भएको छ।

प्रतिक्रिया दिनुहोस्