Logo

कोटेश्वर–जडिबुटीको जाम हटाउन सडक विस्तार थालियो



कोटेश्वर–जडिबुटी क्षेत्रमा हुने अत्यधिक जाम हटाउनका लागि ४ लेनको सडक बिस्तार गरी ८ लेन बनाउनका लागि काम थालिएको छ । भौतिक योजना तथा यातायातमन्त्री वसन्त नेम्वाङले गत भदौ १५ गतेदेखि काम शुरु भएको बताए । उक्त सडक खण्डमा कोटेश्वरबाट जडिबुटी जाँदा दायाँपट्टी एकतर्फ सडक बिस्तार गरिनेछ ।

हाल नेपाली सेनाले तारबार गरेको जग्गा अधिग्रहणको काम सम्पन्न भइसकेको र एकसाताभित्रै टेन्डर पनि हुने मन्त्री नेम्वाङले जानकारी दिए । नेम्वाङका अनुसार उक्त सडक खण्डमा चार लेन थप गर्नका लागि १२ करोड रुपैयाँ खर्च लाग्नेछ । उक्त सडक खण्डमा भइरहेको जाम कम गर्नका लागि सरकारले तीनकुनेदेखि जडिबुटीसम्म सुरुङ बनाउने काम अगाडि बढाइसकेको छ ।

सुरुङ निर्माणको अध्ययन गरिरहेको जाइकासँग छलफल गरी सडक ८ लेन बनाउने काम अगाडि बढाइएको हो । सुरुङ निर्माणको काम सकिन अझै ३ वर्षसम्म लाग्ने बताइएको छ । उनका अनुसार असोज र कात्तिकसम्म सबै प्रक्रिया पूरा गरेर चैतसम्म सबै काम सक्ने गरी काम अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्