Logo

उग्रताराको नगरीसम्म ट्रक–यात्रा



फागुन ६ (फ्रेवुअरी १८) । भारत उत्तराखण्डको प्रसिद्ध पर्यटकीय र सामरिक महत्वको स्थल पिथौरागढ । पछिल्ला दिनमा यस स्थानले शैक्षिक क्षेत्रको परिचय पनि बनाइरहेको छ । यहाँ अनेक प्रसिद्ध विद्यालयहरु छन् । मेरो छोरा आदित्येन्द पनि अहिले पिथौरागढमै अध्ययन गरिहेका छन् । २०२० को जनवरी ३१ अर्थात २०७६ को माघको १७ गते मेरी सानी छोरी शिवार्तीको विवाह थियो । त्यही विवाहोत्सवमा सरिक हुन काठमाण्डौ आएका आदित्येन्द्र शिवार्तीको द्विरागमन (अनअमाउनु) आदीको कार्यबाट निवृत्त भएपछि फागुन १ (फ्रेवुअरी १३) मा पिथौरागढ पुगेका हुन् । हामीहरु काठमाण्डौमा निश्चिन्त थियौं । मोटामोटी सबै कार्य खुसीखुसी सम्पन्न भएका थिए । तर यो के ? आदित्येन्द आफ्नो स्कूल पुगेको एक साता पनि भएको थिएन ।

आज अर्थात फागुन ६ (फ्रेवुअरी १८) को साँझ अचानक स्कूलबाट फोन आयो– दराज खोल्नेवेलामा आदित्येन्द्रको दाहिने हातको औंलामा चोट लाग्यो । टुटेको हुन सक्ने सम्भावना छ, सम्भवतः अप्रेशन पनि गर्नुपर्ने हुन सक्छ । हामीहरु यो समाचार सुनेर हतप्रभ थियौं । केही पनि फुरिरहेको थिएन । किंकर्तव्यविमुढ अवस्था । खयर जे होस । नेपालका प्रसिद्ध हड्डीरोग विशेषज्ञ (अर्थोपेडिक्स) डा रामकेवल साहसँग सल्लाह गरेँ र आदित्येन्द्रलाई एकपटक हेरेर आउने निर्णय गरियो र भोली विहान पिथौरागढतर्फ प्रस्थान गर्ने योजना बनाइयो । यसका लागि धनगढी हुँदै डडेलधुर, बैतडी, झुलाघाटको बाटो भएर पिथौरागढ पुग्ने मैले सोच बनाएँ । धनगढीका लागि हवाइजहाजको टीकट सहज उपलब्ध थिएन । कसै गरी टीकटको जुगाड गरियो ।
+++++ +++++ +++++
फागुन ७ (फ्रेवुअरी १९) । म प्रातःकाल एउटा सानो झोला (व्याकप्याक) काँधमा भुुण्ड्याएर एयरपोर्टतर्फ लागेँ । पौने सात वजे रिपोर्टिग टाइम थियो । म एयरपोर्ट अलि छिटै पुगेको थिएँ । श्री एयरलाइान्सको विमानबाट उडान निर्धारित थियो । बोर्डिगं पास लिएर म प्रतीक्षा कक्षमा बसिरहेको थिएँ, देख्छु धनगढी कर्मथलो बनाएका नेपालको रेडियो एवं विचार तथा अभिव्यक्ति स्वतन्त्रता आन्दोलनका एक योाद्धा पत्रकार दीर्घराज उपाध्याय र नेपाल पत्रकार महासंघक केन्द्रीय सदस्य श्याम भट्ट मतर्फ नै बढिरेका थिए ।

म नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्ष हुँदा उपाध्याय पत्रकार महासंघ कैलालीका अध्यक्ष थिए । पत्रकार जे पी जोशीको हत्या प्रकरणमा छानविनका लागि उनकै नेतृत्वमा पत्रकारहरुले कैलालीमा संघर्ष गरेका थिए । काठमाण्डौबाट धनगढीसम्मको यात्रा नेपालको विमानयात्राका सन्दर्भमा सबभन्दा लामो यात्रा हो । अरु विमानका लागि यो यात्रा करिव सवा घण्टाको हुने गर्दछ तर श्री एयरलाइन्स यो यात्रा करिव ५०÷५५ मिनटमै तय गर्दछ । प्रतीक्षा कक्षमा हामीहरु तीनैजना कुराकानी गरि नै रहेका थियौं कि यत्तिकैमा कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिकाका मेयर अशोक चन्द पनि हामी भएतिरै आइरहेको देखियो ।

उहाँहरु तीनैजना बुद्ध एयरको विमानबाट धनगढी जाने निश्चित छ । म भने श्री एयरको विमानबाट जाँदैछु । मैले विमानबाट धनगढी अवतरण गरेर त्यहाँबाट अतरिया र अतरियाबाट डडेलधुरा तथा बैतडीको पाटन–गोठालापानी–झुलाघाट हुँदै पिथौरागढ जाने योजना बनाएको छु । काठमाण्डौ एयरपोर्टबाट श्री र बुद्ध दुवै विमान करिवकरिव सँगै उडेका हुन् तर धनगढीमा भने मैले पहिले अवतरण गरेँ । म काठमाण्डौमै दीर्घ, अशोक र श्याम जीसँग विदावारी भइकेको थिएँ । उहाँहरु सबैले धनगढीमा कुनै समस्या परे जानकारी गराउन भन्नुभएको थियो तर मलाई कुनै समस्या परेन । अतरियासम्म पुर्याइदिन मैले नागरिक दैनिकका पत्रकार पुष्पराज जोशीलाई आग्रह गरेको थिएँ । केहीवेरको विश्रामपछि पुष्प जी गेटा एयरपोर्ट आइपुगे । म उनीसँग उनको मोटरसाइकलमा अतरिया लागेँ । अतरियाबाट मेरो गन्तव्य थियो– झुलाघाट ।
+++++ +++++ +++++
फागुन ८ (फ्रेवुअरी २०) । हिजो राती पाटनमा पत्रकार मित्र लक्ष्मीदत्त पाण्डेको घरमा विश्राम गरिेयो । आज विहानै त्यहाँबाट प्रस्थान गरेर गोठालापानीको बाटो भएर झुलाघाट हुँदै पिथौरागढ पुगेर राती पुनः पाटन नै आइयो र लक्ष्मी जीकै घरमा विश्राम गरियो । यस यात्राका बारेमा पहिले नै  त्यो झुलाघाट यो झुलाघाट (https://www.bikastimes.com/2020/07/51843/) आलेखमा चर्चा गरिसकिएकोले यहाँ थप चर्चा गर्नु आवश्यक ठानिएको छैन ।
+++++ +++++ +++++
फागुन ९ (फ्रेवुअरी २१) । विहानै उठेँ । हिजोको विमर्शअनुुसार, विहानै सात साढे सात बजेसम्म माथि सडकमा पुग्नुपर्ने थियो । आज मलाई धनगढी पुग्नुपर्ने हतारो थियो । नित्यक्रिया सम्पन्न गरेर निर्धारित समयमा म लक्ष्मी जीसँगै सडकमा पुगेँ । यहाँ पाटनबाट डडेलधुरा र धनगढीका लागि यातायातको साधनको अभाव रहने गर्दछ । आज पनि त्यस्तै भयो । निकैबेर कुर्दा पनि कुनै साधन भेटिएन । मेरो आँखा बारम्बार घडीतर्फ गइरहेको थियो । मेरो मानसिक अवस्थाको शायद लक्ष्मी जीले मूल्यांकन गरे । उनले मलाई सोधे–दाई जाने नै हो त ? जसरी पनि जाने हो भने ट्रकसँग कुरा गरौं ? मैले हुन्छ भने । लक्ष्मी जीले एकजना पुलिसको सहयोगले त्यहीँ छेवैमा रोकिएको एउटा ट्रकको चालकसँग कुरा गरे । ट्रकका चालक डडेलधुरासम्म मलाई लगिदिन सहमत भए ।

मैले मनमनै गमे, उग्रताराको नगरी अर्थात डडेलधुरासम्म ट्रकको यात्रा रमाइलै होला । म ट्रकमा सवार भएँ र लक्ष्मी जीसँग विदा हुँदै अगाडीको यात्राहेतु प्रस्थान गरेँ । ट्रकको नम्बर थियो, प्र न ७–९६४ । चालक, नवराज साउद र सहचालक विनोद साउद । आज विहानैदेखि वर्षा भइरहेको थियो । एक त पहाडी बाटो त्यसमाथि यो वर्षा । बाटो चिप्लो भएको थियो । तर नवराज जी अनुभवी लागिरहेका थिए । उनी निकै राम्ररी गाडी चलाइरहेका थिए । करिव एगारह वजे म हडेलधुरा पुगेँ । बीचमा अनारखोली नामक जगहमे चिया खाइएको थियो । अनारकली बैतडी र डडेलधुराको सीमा छुट्याउने ठाउँ हो । यहाँ अहिले सानो वजार छ । स्थानीय वासिन्दाका अनुुसार यो ठाउँ पहिला यो क्षेत्रको सानो व्यापारिक केन्द्रका रुपमा स्थापित थियो । अब सडक बनिसकेपछि यहाँको वजार निकै पातलिएको छ । ट्रकको यस्तो यात्रा मैले निकै दिनपछि गरिरहेको थिएँ ।

यसभन्दा पहिला मैले कहिले ट्रक–यात्रा गरेको थिएँ त्यसको स्मरण मलाई छैन । तर आजको यो यात्रा मेरालागि विशेष छ । रोमाञ्चक र सँगै अविस्मरणीय पनि । साउदवन्धुको यो सहयोग सँधै स्मरणीय रहने छ । धन्यवाद नजवराज र विनोद जी । मलाई यस ट्रकमा तुफान डाँडासम्म जानु थियो । यसअघि बाटोमा दाहिनेतर्फ उग्रतारा भगवतिको मन्दिर थियो । मैले बाहिरबाटै ढोगेँ । मैले यसअघि निकै पटक मन्दिर पुगेर भगवतिको दर्शन गरिसकेको छुँ । यसपटक समयाभाव पनि भएकाले मन्दिरभित्रै गएर दर्शन गरिएन । उग्रतारा भगवति यस क्षेत्रको अत्यन्त प्रसिद्ध देवी हुन् । उनी अत्यन्तै जाग्रत मानिन्छिन । यस क्षेत्रका जनताको उग्रताराप्रति अगाध आस्था र विश्वास छ । मलाई तुफान डाँडामा झारेर ट्रक अगाडी बढ्यो ।

मेरो बाटो कुरि बसेका पत्रकार वरुणसगँ त्यहीँ भेट भयो । त्यहँि होटल क्लासिकमा हामीले सँगै भोजन गर्यौं । होटल क्लासिकका सञ्चालक र कर्मचारीहरुसँग मेरो पूरानो परिचय छ । मैले अब यहाँबाट धनगढीसम्मको यात्रा गर्नु थियो । पानी परि नै रहेको थियो । यातायातको साधनको अभाव यथावत अनुभूत भइरहेको थियो । भोली शायद कसैले नेपाल वन्दको आव्हान गरेको थियो । हुन सक्छ शायद त्यसैको प्रभाव थियो गाडीहरु आज कम चलेका थिए । खायर जे होस, वरुणले एउटा ट्याक्सीको वन्दोवस्त गरे । गाडीमा एकजना अझै थिए । भाडा दुबैजनाले मिलेर अतरिया पुगेपछि तिर्नुपर्ने थियो । हामी गाडीमा सवार भयौ । गाडी अगाडी बढ्यो । मैले गाडीको सीसाबाट पछाडी हेरेँ वरुण हाथ हल्लाइरहेका थिए । मैले आजको सुरक्षित यात्राका लागि उग्रतारा भगवतिलाई सम्र्झे । पानी अझै पनि परि नै रहेको थियो

प्रतिक्रिया दिनुहोस्