Logo

लेखक तथा साहित्यकार विनोद पोखरेलको विहानी विमोचन



लेखक तथा साहित्यकार विनोद पोख्रेलको मेरो विहानी कविता संग्रह विमोचन भएको छ । विगतमा फुटकर लेखनलाई आत्मसात गरेका पोख्रेलले जीवनमा भोगेका विभिन्न आयामहरुलाई मेरो विहानी कवितासंग्रह नाम दिएर जन्म दिएका हुन् । उनको त्यही कृतिको शुक्रवार विमोचन गरिएको छ ।समाजिक अगुवा एवं साहित्यकार एकराज शर्मा, वरिष्ठ पत्रकार तथा साहित्यकार नारायणप्रसाद शर्मा, प्राध्यापक गदाधर पौडेल र प्राज्ञ उत्तमकृष्ण मजगैयाँले संयुक्तरुपमा पुस्तकको विमोचन गरेका थिए । पुस्तकको समीक्षा गदै डा. हिमलाल पन्थीले पोख्रेलको कविता संग्रहले साहित्यिक बिहानी शुरु भएको बताए ।

पोख्रेलले जीवनको भोगाइ खोतल्ने प्रयास गरेको उनले बताए । सिर्जना गर्न सजिलो नभएको र सिर्जना भएकोलाई प्रकाशन गर्ने झनै समस्या भएको उनले बताए । कार्यक्रममा बोल्दै सामाजिक अगुवा एकराज शर्माले अगाडि बढ्न खोज्ने व्यक्तिको खुट्टा तान्ने प्रवृत्ति रहेको भन्दै त्यसको अन्त्य हुनुपर्ने बताए । उनले समाजमा यस्तो प्रकारको प्रवृत्ति हरेक क्षेत्रमा रहेको समेत बताए । साहित्यकार तथा प्रेस काउन्सिलका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माले पुस्तकले व्यक्तिको पहिचान बनाउन भूमिका खेल्ने बताए । ‘पोख्रेलका रचना पुराना मूल्य मान्यतालाई थाती राखेर सिर्जना भएका छन् । प्राध्यापक गदाधर पौडेलले पोख्रेलको पुस्तक पहिलो भए पनि लेखन निरन्तरता रहेको बताए । लेखनमा सीमा, मर्यादा कायम राख्न सक्नुपर्ने पौडेलको भनाइ थियो । डा. कृष्णराज डिसीले साहित्य मात्रैले बाँच्न सक्ने अवस्था नरहेको बताए । साहित्यमा समयअनुसार अगाडि बढाउन सक्नुपर्ने उनको भनाइ थियो । राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालले पोख्रेलले बूढेसकालमा पनि साहित्यमा सक्रिय रहेको भन्दै प्रशंसा गरे । पोख्रेल ज्ञान बाँड्ने व्यक्तित्व रहेको खनालले सम्झना गरे । वरिष्ठ साहित्यकार गिरिराज शर्माले कविता संग्रहले सरल भाषा, यथार्थ बोल्न सफल भएको बताए ।

सरल भाषामा लेखिएकाले सबैले सहजरुपमा बुझ्न सक्ने उनको भनाइ थियो । उनले लेखकलाई कमी(कमजोरी औल्याइदिएर अगाडि बढ्न सहयोग गर्नुपर्ने बताए । प्रा।डा।जनार्दन आचार्यले लेख रचना प्र्र्रकाशन गर्न धेरै कठिनाइँ हुने बताए । कठिनाइँलाई समाधान गर्दै निरन्तरता दिन उनले आग्रह गरे । प्राज्ञ उत्तमकृष्ण मजगैयाँले पहिलो पुस्तकसँगै यसलाई निरन्तरता दिन लेखकलाई सुझाव दिए । पहिलेदेखि नै साहित्य रचना गर्दै आएको भए पनि पुस्तकको रुपमा पहिलो भएको उनको भनाइ छ ।

लेखक संघ दाङका संस्थापक अध्यक्ष शंकर पौडेलले पोख्रेलले अब कविको रुपमा आफूलाई उभ्याएको बताए । साहित्यकार सरिता देवकोटाले साहित्यिक क्षेत्रसँगै पोख्रेलले हरेक क्षेत्रमा आफूलाई अव्बलरुपमा उभ्याउँदै लगेको बताइन् । साहित्यकार किरण आचार्यले पोख्रेलले आफ्ना सिर्जनालाई एकत्रित बनाउन सफल भएको बताइन् । पुराना लेखहरु हराए पनि नयाँ सिर्जना जोगाउन सफल भएको उनले बताइन् ।

कार्यक्रममा साहित्यकार तथा पूर्वमन्त्री बलदेव शर्मा मजगैयाँ, वरिष्ठ पत्रकार भगीरथ योगी, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाँ, वरिष्ठ साहित्यकार नवराज लम्सालले भर्चुअल शुभकामना दिएका थिए । मेरो बिहानी कविबाट संङ्ग्रहमा सत्यको र आफ्नो भोगाईको अभिव्यक्ति भएको धारणा मजगैंयाले राखेका थिए । त्यसैगरी योगीले न्याय, समानतन, सद्भाव र मानवअधिकारको पक्षमा पोख्रेलका कविता बोलेको बताए । पत्रकार महासंघका पूर्वअध्यक्ष झाले समकालिन समाजमा देखिएका विसंगतिलाई अस्वीकार गर्दै विनोद पोख्रेलले सरल भाषामा सिर्जना गर्दै आएको चर्चा गरे ।

त्यसैगरी डा लम्सालले मेरो बिहानी संङ्ग्रह आफैमा अर्गानिक भएको चर्चा गर्दै कविले आफ्नो भोगाई सरल रूपमा पस्केको बताए ।कार्यक्रम लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षतामा भएको थियो । लेखक विनोद पोख्रेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ज्ञापन संघका उपाध्यक्ष गोविन्द पौडेलले दिएका थिए । कार्यक्रमको सहजीकरण संघका सचिव हुमबहादुर डिसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्