Logo

राष्ट्र भनेको भूगोल होइन र माटो मात्र पनि होइन



विराटनगरको इलिट क्लवमा मैले मैले भाषण दिएपछि एउटा प्रश्न देशभक्ति र राष्ट्रियतालाई लिएर मलाई सोधियो । मलाई सम्बोधित प्रश्नको उत्तरमा मैले प्रश्नकर्तालाई सोधे – राष्ट्र भनेको के हो ? नेपाल भनेको के हो ? देश भनेको के हो ? जनता होइन र ? यदि जनताको अधिकार खोसिन्छ भने देशको हितको कसरी त्यसले रक्षा ग¥यो ?

मैले भन्न खोजेको के हो भने देश भन्नोस् चाहे राष्ट्र भन्नोस् त्यो भूगोल होइन, माटो होइन त्यो यथार्थमा जनता हो । जुन कुराले जनताको हित हुन्छ । त्यहि कुरो देश हितको कुरो हो । जनताको अधिकार हनन देशको अधिकार हनन हो । यदि नेपालको भूगोलबाट एक करोड नेपाली जनताको आवादी लोप भयो भने मेरो अर्थमा नेपाल लोप हुन्छ । यद्यपि भूगोल आफ्नो ठाउँमा जस्ताको तेस्तै स्थायी भईरहने छ ।

जुन दिन अर्थात (१ पौष २०१७) देशवासीहरुले प्राप्त गरेको मौलिक अधिकार खोसियो, वाक् स्वतन्त्रता, सँगठन स्वतन्त्रता आदिदेखि जनता वञ्चित पारिए, जनप्रतिनिधिहरु थुनिए, संसद विघटित पारियो, फेला पर्न सकेका संसदसदस्य एकलाई पनि नछोडेर बन्दी बनाईयो, संसद अध्यक्ष थुनिए, निर्वाचित प्रधानमन्त्री, राजनीतिमा लागेका केहि पनि व्यक्ति त्यस राजाको दमनचक्रबाट जोगिएनन् चाहे त्यो भूतपूर्व प्रधानमन्त्री हुन् या साधारण कार्यकर्ता । त्यस दिनपछि कसैले राजालाई राष्ट्रियताको समर्थक या प्रतिक मान्छ भने त्यो जस्तो ठूलो भ्रम नेपालको राजनीतिका सम्बन्धमा अर्को कुनै हुन सक्दैन । त्यस दिन स्पष्ट रुपबाट राजाले आफूलाई जनताभन्दा पृथक् तत्व मात्र होइन कि विरोधी तत्वको रुपमा प्रकट गरे ।

राष्ट्रियताका विवेचनामा प्रथम तत्व र अन्तिम तत्व पनि जनता हो । राष्ट्रियता जनताको सामूहिक मनोभावनालाई लक्षित गर्ने शब्द हो । सामूहिक रुपबाट समयमा आइपर्ने व्यापक समस्याहरुको समाधानमा लाग्नुपर्दा सहज किसिमले उत्पन्न हुने जनभावना नै राष्ट्रियता हो । राष्ट्रियताको यस परिभाषामा तीन तत्व सामेल छन् । व्यापक समस्या, त्यसको समाधानको सामूहिक प्रयत्न र त्यस प्रयत्नबाट सहज किसिमले उत्पन्न हुृने भावनात्मक एकता । अर्को शब्दमा राष्ट्रियता भन्नाले लक्षित गर्ने तत्वहरु – १. जनता २. तिनको अगाडि उपस्थित भएको समस्या ३. त्यस समस्याको सबैले मिलेर समाधान गर्ने दिशापट्टिको सामूहिक प्रयत्नमा अनुभव गरेको एकताको भावना । यसरी राष्ट्रियताको विचार गर्दा भूगोलको भूमिका गौण भएर जान्छ ।

यदि शासकले नेपाली समाज र नेपाल देशको हितको ध्यान राखेको भए सबभन्दा पहिले उनको प्रयत्न नेपाली राष्ट्रियताको सृजना गर्नपट्टि लाग्ने थियो । नेपालको शासनव्यवस्थाको आधुनिकीरण र नेपाली जनताको असहनीय दरिद्रता निराकरण जनताको सामूहिक प्रयासको आधारमा गर्न सकिन्थ्यो । शासन यन्त्रमा जनताको सक्रिय सहयोग तथा गरिबी मेटाउने प्रयत्नमा, जनताको सामूहिक राष्ट्रिय अभियान दुबै साथ–साथ हुनसकेको भए नेपाल यति पिछडिएको देश रहने थिएन ।

गरिबी मेटाउनका लागि उपयुक्त तथा शासनयन्त्रमा सहयोगी जनतामा यत्रो ठूलो राष्ट्रिय शक्ति आउने थियो कि नेपालको आधुनिकीकरणको बाटो सरल भएर जाने थियो । शाह हुन चाहे राणा हुन्, कुनै राजाले पनि यस दिशापट्टि ध्यान दिएनन् । राष्ट्रियता एउटा ठूलो शक्ति हो, उर्जा हो भन्ने कुरापट्टि ध्यान गएन । ध्यान गएको भएपनि राष्ट्रिय शक्तिको उदय आफ्नो निहित स्वार्थका लागि घातक सम्झेर त्यसको विकासको बाटो थुनेर राखे । हजारौंको संख्यामा नेपाली जनतालाई विदेशी पल्टनमा जागिर खाएर उदरपूर्ति गर्न कर लाउने तत्वले राष्ट्रियताको ढिढोरा पिटेको सुहाउदैन ।

मैले भन्न खोजेको के हो भने, १८१६ पछि नेपाल देश बन्यो नेपाल राष्ट्र बनाउने प्रयत्न भएन, शरीरको ढाँचा खडा भयो त्यसमा आत्मा आउन सकेन, फ्रेम बनाइयो तर तस्विर राखिएन, भाँडो कुँदियो तर त्यसभित्र राख्ने तत्व राखिएन । उपर्युक्त ऐतिहासिक विश्लेषणको प्रकाशमा यो भन्न सकिन्छ कि जहिलेपनि नेपालको एकतन्त्री शासन व्यवस्थाको विरुद्ध आवाज उठ्यो त्यो राष्ट्रियताको आवाज थियो । एकतन्त्री शासन हुकुमी राज्य नेपालको ऐतिहासिक सन्दर्भमा राष्ट्रियताको घातक हो ।

शासनयन्त्रमा प्रजाको समावेश प्रजातन्त्रको मूलभूत सिद्धान्त हो र नेपालको राष्ट्रियताको वर्ग पनि उस्तै एउटा मूलभूत सिद्धान्तमा टिक्छ । साथै राष्ट्रिय भावनाबाट प्ररित नेपाली जनता गरिबीको चुनौतीको सामूहिकरुपबाट मुकाबिला गर्न सक्छ । प्रजातन्त्र र राष्ट्रियता नेपालको वर्तमान स्थितिमा पर्यावाची शब्द हुन पुगेका छन्
जन–नायक विश्वेश्वरप्रसाद कोइरालाले २०३१ सालमा विराटनगरको इलिट क्लबलाई गरेको सम्बोधन

प्रतिक्रिया दिनुहोस्