Logo

नक्कली सुन प्रकरण : प्रहरी जवानको कोठमा सुन जस्तो धातु बरामद

धातुको परीक्षण हुन बाँकी



साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणमा मुछिएका सादा पोशाकका प्रहरी जवानको कोठामा सुन जस्तो देखिने एक किलो पहेँलो धातु बरामद भएको छ। सो प्रकरणमा गलत सूचना दिएको अभियोग लागेका सादा पोशाकका प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठामा छापा हान्दा सुन जस्तो देखिने एक किलो धातु बरामद भएको हो ।

बरामद धातु सुन हो वा सुन जस्तो देखिने धातु मात्र हो भन्ने परीक्षण हुन बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ । सो घटनाबारे छनविन समितिले अनुसन्धान गरिरहेको छ । साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणमा प्रहरीमाथि नक्कली घटनास्थल तयार पारेको, तस्कर भगाउन सहयोग गरेको लगायतका आरोप लागेका छन्। यसबारे एसएसपी नेतृत्वको प्रहरीको छानबिन समितिले अध्ययन गरिरहेको छ ।

प्रकरणमा दरबारमार्ग प्रहरी प्रमुख डीएसपी रञ्जनकुमार दाहालको अपरेशनल नेतृत्व कमजोर देखिएको भन्दै उनलाई जिम्मेवारीबाट हटाइएको छ । उनी हाल प्रहरी एकडेमीमा काज सरुवा गरिएका छन् ।

दाहाललाई प्रहरी जवान बहादुरसिंह कडायत र प्रसन्न श्रेष्ठले गुमराहमा राखेको पाइएको एसएसपी शुशीलकुमार यादव नेतृत्वको छानविन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्