Logo

ठेकेदारको लापरवाहीले ६ वर्षसम्म पनि बनेन ओखलढुंगाको शिक्षा कार्यालय



ठेकेदारले लापरवाही गर्दा जिल्ला शिक्षा कार्यालय ओखलढुंगाको निर्माणधिन भवन अलपत्र परेको छ । ६ वर्ष बित्दासमेत भवन निर्माणको जिम्मा पाएको निर्माण कम्पनी गाल्वा पुष्पाञ्जली जेभीले काम नगर्दा जिल्ला शिक्षा कार्यालय ओखलढुंगाको भवन अलपत्र परेको हो ।

२०७१ असार ३१ गते एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि शिक्षा विभागले ठेकेदारसँग २ करोड ८८ लाख ६७ हजार रुपैयाँमा भवन निर्माण सम्झौता गरेको थियो ।

निर्माण सामग्री फिल्डमा पुर्‍याउन समस्या भएको, भूकम्प र नाकाबन्दीलगायतको बहाना बनाउदै ठेकेदार कम्पनीले भवन निर्माणको काम अलपत्र छाडेको हो । ठेकेदार कम्पनीलाई पटक–पटक ताकेता र स्पष्टीकरण सोधिए पनि काम अगाडि बढ्न सकेको छैन । भवनको जग सम्झौता भएको २ वर्षभित्रै हालिए पनि बाँकी संरचना निर्माण भएको छैन ।

निर्माणको काम अगाडि बढ्न नसक्दा भवनको जग हालेको क्षेत्र झाडिमा परिणत भएको छ । शिक्षा विभागले पछिल्लो समय वजेट दिन समेत छोडेपछि अझै समस्या देखिएको छ ।

भवन निर्माण नहुँदा शिक्षा विकास तथा समन्वय इकाई भाडामा बस्नु पर्दा वार्षिक ८ लाख रुपैयाँ घरभाडा खर्च भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्