Logo

युभेन्ट्सले लगातार नवौं पटक सिरी ए को उपाधि जित्यो



एजेन्सी । यस सिजनको इटालियन सिरी ए को उपाधि युभेन्ट्सले जितेको छ । टोलीले लगातार नवौं पटक इटालियन सिरी ए फुटबलको उपाधि जितेको हो । गएराति भएको खेलमा साम्पडोरियालाई २– ० गोल अन्तरले पराजित गर्दै दुई खेल अगावै युभेन्टसले उपाधि पक्का गरेको हो ।

युभेन्टसको घरेलु मैदानमै भएको खेलमा टोलीका लागि क्रिस्टियानो रोनाल्डोले र फेडेरिको बर्नार्डसीले एक – एक गोल गर्दै जित पक्का गरे । पहिलो हाफको इन्जुरी टाइममा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । ६७ औं मिनेटमा बर्नाडेसीले गोल गर्दै युभेन्टसको अंक दोब्बर बनाए ।
खेलको ७७ औं मिनेटमा तोर्सबीले रातो खार्ड पाएपछि साम्पडोरिया १० खेलाडीमा सिमित भयो । ८९ औं मिनेटमा युभेन्ट्सले पेनाल्टीको अवसर पाएपनि स्टार खेलाडी रोनाल्डो नै गोल गर्नबाट चुके । उनको प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।

जितपछि ३६ खेलबाट ८३ अंक जोडेको युभेन्टसले दुई खेल अगावै लिग उपाधि पक्का गरेको हो । समान खेलबाट ७६ अंक जोडेको इन्टर दोस्रो स्थानमा छ ।

इम्मोबाइलको ह्याट्रिकमा लाजियोको सहज जित

त्यसै गरी इटालिएन सिरी ए कै अर्को खेलमा सिरो इम्मोबाइलले ह्याट्रिक गरेपछि लाजियोले भेरोनालाई ५–१ ले पराजित गरेको छ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै लाजियोले जित हात पारेको हो । इम्मोबाइलले दुई गोल पेनाल्टीमा गरेका थिए ।

खेलको ३८औं मिनेटमा सोप्यान अमराबातले पेनाल्टीमा गोल गर्दै भेरोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिममा इम्मोबाइलले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा लाजियोले ४ गोल थप्यो ।

५६औं मिनेटमा सर्जेई मिलिनकोभिच साभिचले गोल गर्दै लजियोलाई २–१ को अग्रता दिलाए । ६३औं जाक्विन कोरेअले लाजियोको तेस्रो गोल गरे । ८४औं मिनेटमा इम्मोबाइलले व्यक्तिगत दोस्रो गोल गरेपछि लाजियोले ४–१ को अग्रता लियो । इन्जुरी टाइममा पराप्त पेनाल्टीमा गोल गर्दै इम्मोबाइलले ह्याट्रिक पूरा गरे ।

ह्याट्रिकपछि इम्मोबाइल सिरी ए मा सर्वाधिक गोल गर्नेमा अघि छन् । उनले ३४ गोल गरेका छन् । युभेन्टसका रोनाल्डोले ३१ गोल गरेका छन् ।

युरोपियन गोल्डेन बुटको होडमा रहेको इम्मोबाइलले वायर्न म्युनिखका रोवर्टो लेवान्डवस्कीसँग पनि गोल बराबरी गरेका छन् । लाजियोले अझै सिरी ए मा दुई खेल खेल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्