Logo

त्यो झुलाघाट यो झुलाघाट



फागुन ७ (फ्रेवुअरी १९) । विहानको करिव साढे आठ वजेको समय । धनगढीको गेटा विमानस्थलमा मैले थोरैबेर प्रतीक्षा गर्नुपर्यो । नागरिक दैनिकका पत्रकार पुष्पराज जी मोटरसाइकल लिएर पुगे र म तिनैको मोटरसाइकलको पछाडी सवार भएँ । हाम्रो गन्तव्य थियो अतरिया । अतरिया पश्चिम नेपालको एउटा सानो वजार हो । अहिले नगरपालिकाको हैसियत प्राप्त यसै नगरपालिकामा पर्ने प्रसिद्ध धार्मिक पर्यटकीय स्थल गोदावरीमा प्रदेश सरकारले प्रदेशको राजधानी बनाउने निर्णय गरेको छ । तर कहिले बन्ने हो ? अहिले नै भन्न सकिने अवस्था छैन । अतरियालाई एक किसिमले सुदूरपश्चिम प्रदेशको मूख्यद्वार मान्न सकिन्छ । यहाँबाट दक्षीणमा कैलालीको सदरमुकाम धनगढी (प्रदेशको अस्थायी राजधानी), पश्चिममा कञ्चनपुर जिला, पूर्वमा बाँके वर्दिया हुँदै पूर्वी नेपाल र उत्तरमा सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरु डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र वाजुराको लागि बाटो जान्छ । करिव ११ वजे म माइक्रो वसबाट डडेलधुराका लागि पहाडतर्फ प्रस्थान गरेँ र पुष्प जी धनगढी तराईतिर्फ लागे । करिव चार वजे अपरान्ह डडेलधुरा वजार पुगियो । डडेलधुरा पश्चिम नेपालको प्रसिद्ध स्थल हो । वहादुर शाहका समयमा नेपालको विस्तारका सन्दर्भमा डडेलधुरा अत्यन्त चर्चित ठाउँ मानिन्थ्यो । रणनीतिक दृष्टिले महत्गपूर्ण यसै ठाउँमा अमर सिंह थापाको नेतृत्वमा नेपाली सेनाको किला थियो जहाँबाट नेपाली सेनाले पश्चिम नेपालको विजय अभियान सञ्चालन गरेको थियो । यहाँ आज पनि त्यो प्रसिद्ध किला छ जो अमरसिंह गढीका नामले प्रसिद्ध छ । यहाँ महाभारतका एक चर्चित पात्र भिमपुत्र घटोत्कच स्थान पनि छ । स्थानीय भाषामा यस स्थानलाई घटाल बाबा स्थान भनिन्छ । त्यसै गरी यो स्थान उग्रतारा भगवतिको स्थानका रुपमा पनि प्रसिद्ध छ ।
+++++ +++++ +++++
डडेलधुरा वसपार्कमा स्थानीय युवा पत्रकार वरुण पनेरु मेरो प्रतीक्षा गरिहेका थिए । वरुणसँग मेरो वसैमा रहँदा फोनबाट कुराकानी भइरहेको थियो । उनलाई म आउनेबारे जानकारी थियो । वरुणसगँ भेट भएपछि मैले केहीबेर उनीसँग मेरो आगामी यात्राका बारेमा कुरा गरेँ । खासमा मैले भोली भारत उत्तराखण्डको पिथौरागढसम्म् पुग्नुपर्ने थियो । अतः आज जसरी पनि मैले कम्तिमा वैतडीको पाटन पुग्नुपर्ने नै थियो । त्यहाँ पनि पत्रकार मित्र लक्ष्मीदत्त पाण्डे र वसन्त विष्ट जीसँग फोनमा कुरा भइरहेको छ । साथीहरु मेरो बाटो कुरिरहेका छन् । वरुणले मेरो कुरा सुनेपछि त्यहीँ वसपार्कमै पाटन जाने कुनै गाडीको खोजी गरे तर सम्भव हुन सकेन । वरुणले भने, अहिले यहाँबाट जाउँ, हेर्छु कुनै जुगाड लाग्छ कि ? म उनको मोटरसाइकलपछाडी बसेँ, हामी तुफानडाँडा पुग्यौ । यहाँ हावा धेरै लाग्ने भएर होला यो ठाउँको नाउँ तुफानडाँडा रहेको कुरा प्रचलनमा छ । यहाँ होटल क्लासिकको छेउमा वरुणको स्टेशनरी पसल छ । उनको पसलमै केहीबेर बसेँ र त्यहीँ चिया खाएँ । वरुण मेरालागि गाडीको जुगाडमा लगेका थिए । त्यतिञ्जेल पत्रकार मित्रहरु डि आर पन्त, लालवहादुर ऐरी, छत्र साउद, राम धामी, टेकराज अवस्थी आदीसँग फोनमा कुराकानी भयो । पन्त जी गाउँतिर थिए भने ऐरी जी अहिले काठमाडौ बस्छन् । प्रेस युनियनका सभापति धनबहादुर जीसँग भेट भयो, एकछिन भलाकुसारी गरियो । समय वित्दै गइरेहको थियो तर वरुणको जुगाड लागिरहेको थिएन । त्यतिकैमा एउटा सरकरी गाडी बरुणको पसल अगाडी आए रोकियो । कुरैकुरामा ज्ञात भयो, गाडी पाटन नै जानेवाला थियो । वरुण स्थानीय स्तरमा प्रभावशाली पत्रकार मानिन्छन् । उनले गाडीका मानीसलाई मतर्फ देखाउँदै परिचय दिएर पाटन लगिदिन आग्रह गरे । वरुणको आग्रहलाई तिनले सहर्ष स्वीकार गरे । म गाडीमा बसेँ र पाटनतर्फ लागेँ । मैले वरुणलाई धन्यवाद दिएँ र फर्कँदा सँगेै खाना खाने कुरा गरेर अगाडी लागेँ ।
+++++ +++++ +++++
तुफानडाँडा छोडनेवेलामा साँझको करिव साढे पाँच बजिरहेको थियो । त्यहाँबाट पाटनका लागि पचास किलोमिटरको यात्रा । अँध्यारो क्रमशः बढिरहेको थियो । पहाडको एकलैनी सडक । त्यसाथि उतार–चढाव । गाडीमा चालकसहित अन्य दुईजना थिए । तर मेरालागि अपरिचित । खासै कुरा भएन । करिव साढे सात वजे गाडी पाटन पुग्यो । पाटन पहिला वैतडी जिल्लाको सदरमुकाम थियो । तर पछि यहाँबाट सदरमुकाम गोठालापानी लगिएको हो । यस कार्यको धेरै विरोध भएको थियो त्यसवेला । रातारात सदरुकाम गोठालापानी लगिएको स्थानीयहरु अझै पनि सम्झन्छन् । जिला स्तरका केही कार्यालय अझै छन् पाटनमा । यहाँ अहिले एक विमानस्थल निर्माणाधीन छ । यसको पूर्णता र सञ्चालनपछि डडेलधुरा, बैतडी, बझाङ र दार्चुलाको पुर्वी हिस्साका मानीसलाई धेरै सहुलियत हुने विश्वास गर्न सकिन्छ । करिव तीन वर्ष भयो, यहाँ उदयदेव ठाकुरको विशाल मन्दिर बनेको छ । चन्द वंशसँग सम्बन्धित उदयदेव यस क्षेत्रमा निकै प्रसिद्ध छन् । करिव चार करोडको लागतमा बनेको यो मन्दिर पछिल्ला दिनमा पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण मानिन्छ ।
+++++ +++++ +++++
गाडी पाटनको पुलिस थानाको अगाडी रोकियो । मैले गाडीबाटै देखेँ, लक्ष्मी जीलाई । शायद उनी मेरै प्रतीक्षा गरिरहेका छन् । म गाडीबाट ओर्लेँ र उनलाई भेटेँ । लक्ष्मी जीले आफ्नै घरमा बस्न गरेको आग्रह मैले अस्वीकार गर्न सकिन । हामी लक्ष्मी जीको घर गयौ । मैले झोला राखेँ । हातमुख धोएँ । एकछिन विश्राम गरेँ । एक कप चिया खाइयो । लक्ष्मी जीकी पत्नी र केटाकेटीई म पहिलेदेखि नै चिन्दथे । चिया खाउन्जेल सबैसँग कुराकानी भयो । यतिकैमा पत्रकार वसन्त विष्ट पनि त्यहीँ आइ पुगे । वसन्त जीको आगमानपछि हामी तीनैजना पाटन वजार घुम्नतर्फ लाग्यौ । वसन्त जीले एउटा होटलमा हामीलाई लगे । शायद यसको ‘सेटिङ’ पहिलेदेखि नै मिलेको थियो । एकछिन हामी त्यहीँ अलमलियौं र त्यहीँ भोली विहान झुलाघाट जाने योजन बनायौं । भोली लक्ष्मी र वसन्त जी दुबैजना उता जाने निश्चित भयो । एउटा ट्याक्सीसँग कुरा गरियो । भोली विहान जाने र साँझ पुनः पाटनै फर्कने । यस प्रस्तावमा ट्याक्सी मालिक र चालक तर्कराज पाण्डे पनि तयार भए । करिव साढे नौ वजे हामीहरु लक्ष्मी जीको घर आयौं । खानाको व्यवस्था त्यहीँ थियो ।
+++++ +++++ +++++
फागुन ८ (फ्रेवुअरी २०) । विहान करिव साढे सातवजे तर्कराज जी गाडी लिएर आउनेवाला थिए तर उनी विहानै गोठालापानी गएकाले फर्किन थोरै ढिलो भयो । म र लक्ष्मी जी तयारै थियौ । वसन्त जीलाई पनि आउन केही ढिलो भएको थियो । करिव साढे आठ वजे हामीहरु पाटनबाट झुलाघाटका लागि प्रस्थान गर्यौं । पाटनबाट ३० किलामिटर गोठालापानी र त्यहाँबाट २९ किलोमिटर झुलाघाट । पाटनबाट करिव १८÷१९ मिलेमिटरको दूरीमा सतबाँझ नामको स्थान छ । सतबाँझबाट दुईवटा बाटो अलगिन्छ । पश्चिम–उत्तरतर्फको बाटो जान्छ दार्चुला र पश्चिम–दक्षीणतर्फको बाटो गोठालापानी र झुलाघाटतर्फ जान्छ । हामीहरु सतबाँझबाट गोठालापानीतर्फ मोडियौं । देहिमाण्डो र निङलाशैनी भगवतिको मन्दिर हुँदै बाटो अगाडी बढेको थियो । निङलाशैनी भगवति यस क्षेत्रको अत्यन्त महत्वपूर्ण र जाग्रत देवीका रुपमा स्वीकृत छिन । भव्य मन्दिर छ देवीको । विहानको करिव दश वजे हामीहरु गोठालापानी पुग्यौं । जिलाको सदरमुकाम भएका कारण यहाँ राम्रै चहलपहल हुने गर्दछ । वजार गुलजार छ । गोठालापानी वजारस्थित चौकमा हामीहरु एकछिन रोकियौ र एक÷एक कप चिया खायौं । समयाभावका कारण कसैसँग भेट गर्ने अवस्था थिएन । त्यहाँबाट हामी प्रस्थान गरी करिव साढे ११ वजे झुलाघाट पग्यौं । बाटोमा नेपालमा राणाशाहीका विरुद्धको क्रान्तिका एक शहीद दशरथ चन्दको जन्मस्थान पर्दछ । चन्दको जन्मघरलाई अहिले संग्रहालयको रुप दिने प्रयत्न भएको छ । गोठालापानीबाट थोरै अगाडी बढ्नेवित्तिकै त्रिपुरासुन्दरी देवीको प्रसिद्ध मन्दिर छ । त्रिपुरासुन्दरी हाम्रो परिवारको कुल्देवी मानिन्छिन् । यस बाटोबाट आउँदाजाउँदा मेरो प्रयास भगवतिको दर्शन गर्ने हुने गर्दछ ।
+++++ +++++ +++++
हामी झुलाधाट पुगिसकेका थियौं । भारतको उत्तराखण्ड र सुदूरपश्चिम नेपालमा झुलाको अर्थ प्रायः झुलुगें पुल हुने गर्दछ । भारत उत्तराखण्डस्थित प्रसिद्ध धार्मिक पर्यटकीय स्थल ऋषिकेशमा गंगा नदीमाथि राम झुला र लक्ष्मण झुलाको अवस्थिति यसकै प्रमाण हो । झुलाघाटमा पनि महाकाली नदीमाथि अंगे्रजको जमानामा बनेको एउटा पुल छ । यसै पुलको नामबाट यो ठाउँ पश्चातकालमा झुलाघाटको नामले प्रसिद्ध भयो । महाकाली नदी नेपाल र भारतबीचको सीमा नदी हो । यतापट्टी नेपाल र महाकाली नदी पारी भारत । एक अर्को देशमा जान पुलमाथिबाट पैदल आरपार गर्नु पर्छ । पुलमाथि गाडी गुडन सक्दैन । एउटा समय थियो, जब यही पुलका कारण यो ठाउँ पश्चिम नेपालको एक मुख्य नाका मानिन्थ्यो । त्यसवेला यस क्षेत्रको कुनै व्यक्ति, नेपाल–भारतको आवागमनहेतु यही पुलको प्रयोग गर्दथे यस अर्थमा निश्चय पनि यो ऐतिहासिक पुल हो । यतिमात्र होइन नेपालकै दुई जिल्ला बैतडी–दार्चुला जान आउन पनि अधिकांशतः यही पुलको प्रयोग हुन्थ्यो । हामीहरुले आफ्नो गाडी पुलको यतापट्टी अर्थात नेपालमै एक ठाउँमा राखी पैदल अगाडी बढ्यौं ।
+++++ +++++ +++++
करिव १० मिनटको पैदल यात्रापछि हामीहरु पुलको उतापट्टी अर्थात भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिलाअन्तर्गत झुलाघाट बजारमा थियौं । दिनक करिव बाह्र बजिसकेकोले पनि होला सबैलाई भोखको अनुभव भइरहेको थियो । हामीहरु त्यहीँ पुलको छेवैमा एक होटलमा गयौ र भोजन गर्यौं । झट्ट हेर्दा अचेल यहाँको वजारमा मन्दी देखिन्छ । कुनैवेलाको चल्तीको यो वजारमा, छेउछाउ दुवै देशमा अन्य वजारहरु अस्तित्वमा आएपछि, पहिलेको जस्तो चहलपहल छैन । दुवै देशबीच अन्य नाकाहरु खुलेपछि यो नाका विस्तारै कम प्रयोगमा आउन थाल्यो । यसो हुनुको एउटा कारण यहाँ दुबै देशबीच गाडी चल्न समस्या हुनु पनि हो । जे होस यहाँ पारिपट्टी नेपालको तुलनामा राम्रो वजार छ । तर हाल यहाँ नयाँ संरचना निर्माणमा रोक लगाइएको छ । नेपाल–भारतबीचको महाकाली सन्धी र पञ्चेश्वर सम्झौताका कारण पनि अहिले यो ठाउँ चर्चामा छ । पञ्चेश्वर बाँध बन्दा यो क्षेत्र पुरै डुवानमा पर्ने भएकाले पनि यहाँको भौतिक विकास बाधित हुन पुगेको छ । पञ्चेश्वर बन्दा भारतको यो क्षेत्र त डुवानमा पर्छ नै नेपालको पनि केही क्षेत्र प्रभावित हुने सम्भावना छ । यता नेपालतिर यहीँबाट महाकाली कोरिडोरको निर्माण भइरहेको छ जुन महेन्द्रनगरसम्म जानेछ । यो कोरिडोर निर्माण भएपछि यहाँबाट महेन्द्रनगरसम्मको यात्रा करिव दुई घण्टामा सीमित हुनेछ । मेरा आँखाले पालेैपालो नेपाल र भारतको भूमी, महाकाली नदी र महाकाली कारिडोरलाई पच्छ्याइरहेका थिए र मनले भविष्यको सुन्दर कल्पना गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्