Logo

शैलेश थापा क्षेत्री बने नेपाल प्रहरीको आईजीपी



सरकारले एआईजी शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको महानिरीक्षक आईजीपीमा बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई महानिरीक्षक नियुक्त गरेको हो।

बरियतामा पहिलो नम्बरमा रहेका थापालाई बिहीबारबाट लागू हुनेगरी आईजीपी नियुक्त गरेको हो। थापाले २०७९ वैशाख १९ गतेसम्मका लागि प्रहरीको नेतृत्व गर्नेछन्।

हालका आइजी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा हदका कारण भोली बुधबार मध्यरातबाट अनिवार्य अवकाशमा जाने भएपछि रिक्त आइजीको पदमा थापालाई नियुक्त गर्ने निर्णय सरकारले गरेको हो।

२०४९ साल वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थापाले २०७९ वैशाख १८ गतेसम्म प्रहरीको नेतृत्व सम्हाल्नेछन्। थापाले आफ्ना प्रतिस्पर्धी हरि पाललाई पछि पार्दै आइजीमा नियुक्त भएका हुन्। सँगै भर्ना भएका थापा र पालमात्रै यो पटक आइजीको दाबेदार थिए।

भक्तपुर स्थायी घर भएका थापा नीति निर्माण तहमा अब्बल अधिकृत मानिन्छन्। अहिले मानव स्रोत एवं प्रशासन विभागमा प्रमुखको भूमिकामा थापा छन्।  प्रहरी निरीक्षक रहँदा उनले प्रहरी एकेडेमी, आइजिपी सचिवालय,  सिन्धुपाल्चोक र  सल्यानमा काम गरेका थिए ।

उनले नायब उपरीक्षक(डीएसपीमा धादिङ,  महानिरीक्षक सचिवालय र  प्रहरी एकेडेमीमा काम गरेका थिए। प्रहरी उपरीक्षक(एसपीका रुपमा उनले झापा र कास्कीको नेतृत्व गरेका थिए भने विषेश ब्युरो,  प्रहरी एकेडेमी र आइजिपी सचिवालयमा  पनि काम गरेका थिए।

वरिष्ठ प्रहरी उपरीक्षक एसएसपीमा बढुवा भएपछि उनी आइजिपी सचिवालय र केन्द्रीय प्रवक्ताको भूमिकामा पनि थिए। नायब महानिरीक्षक डीआइजी भएपछि उनले महानगरीय प्रहरी कार्यालय-मेट्रोको नेतृत्व गरे भने केन्द्रीय प्रवक्ताका रुपमा आइजिपी सचिवालयमा पनि रहे।

एआइजीमा बढुवा भएपछि उनी मानव स्रोत तथा प्रशासन विभागमा निरन्तर छन्। थापा नेपाल प्रहरीको २८ औँ आईजिपी हुनेछन्। थापा  २०५८ मा डीएसपी,  २०६७ मा एसपी,  २०७४ मा एसएसपी र  २०७५ सालमा डीआईजीमा बढुवा भएका थिए। सबैमा ब्याचीमध्ये पहिलो नम्बरमा थिए।

प्रतिक्रिया दिनुहोस्