Logo

अमेरिकाभर हिंसात्मक बन्दै प्रर्दशन,कर्फ्युको अवज्ञा गर्दै ह्‍वाइट हाउस नजिकै आगजनी 



प्रहरी हिरासतमै अश्वेत व्यक्ति जर्ज फ्लोइडको मृत्युको विरोधमा संयुक्त राज्य अमेरिकाका विभिन्‍न सहरमा हिंसात्‍मक प्रदर्शनहरु तिव्र रुपमा बढिरहेका छन् । मिनेसोटा राज्यको मिनियापोलिसस्थित प्रहरी चौकीमा ४६ वर्षीय अश्वेत व्यक्ति जर्ज फ्लोइडको प्रहरीले हत्या गरेको भन्दै अमेरिकाभर विरोध प्रदर्शनहरु भइरहेका छन् ।

विरोध प्रदर्शन रोक्‍न कर्फ्यु जारी गरिए पनि त्यसको अवज्ञा गर्दा ह्‍वाइट हाउस नजिकै आगजनी गरिएको छ भने न्युयोर्क सिटी र साउर्थन क्यालिफोर्नियामा लुटपाटका घटनाहरु बढेका छन् । त्यसैगरी प्रदर्शनलाई मत्थर पार्न र भीड तितरवितर गर्न र्यालीमा सहभागीहरुमाथि ट्रक चलाइएको छ । अमेरिकाका विभिन्‍न १५ राज्यमा नेसनल गार्ड टु्रफ परिचालन गरिएका छन् ।

केन्टुकीको लुइसभिलामा सोमबार बिहान प्रहरीले एकजनालाई गोली हानी हत्या गरेको बताइएको छ । उनी प्रदर्शनकारी थिए कि थिएनन् भन्‍ने खुलेको छैन । प्रहरीले भने आफूमाथि गोली चलाएपछि जवाफी फायरिङका क्रममा उनको मृत्यु भएको बताएको छ । त्यसैगरी बोस्टनमा पनि शान्तिपूर्ण आन्दोलन भनिएकोमा केही प्रदर्शनकारीहरुले प्रहरीमाथि बोतल प्रहार गरेपछि स्थिति अनियन्त्रित बनेको थियो । फिलाडेल्फियामा बेलुका ६ बजेदेखि बिहान ६ बनेसम्म कर्फ्यु जारी गरिएको छ ।

आइतबार दिउँसो प्रदर्शनकारीहरुमाथि ट्यांकर ट्रक चलाइएको थियो । पछि प्रदर्शनकारीहरुले ट्रक चालकलाई ट्रकबाट तानेर कुटपिटसमेत गरेका थिए । तर, ट्रक चलाउँदा कुनै प्रदर्शनकारीलाई भने क्षति नपुगेको बताइएको छ । त्यसैगरी पोर्टल्यान्ड र ओरेगनमा समेत प्रदर्शनकारीहरुले आगजनी गर्दा प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो ।

त्यस्तै क्यालिफोर्नियमा केही पसल र स्टोरहरु तोडफोड गरेर लुटपाट गरिएका छन् । त्यस्तै लस एन्जेलसका सपिङ मलका सिसाहरु फोडेर लुटपाट गरिएको छ । न्युयोर्कका स्टोरहरुका झ्याल फोडेर लुटपाट गरिएका छन् । लुटपाटमा संलग्‍न ३५० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मंगलबारदेखि हालसम्म चार हजारभन्दा बढी प्रदर्शनकारी र लुटेराहरुलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्