Logo

नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नाँध्यो, सुदुरपश्चिम प्रदेशमा भेटिए ५ जना नयाँ संक्रमित



नेपालमा कोराेना संक्रमितको संख्या पाँच सय नाघेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपराह्नसम्म अध्यावधिक गरेको विवरण अनुसार नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डडेलधुरा र बैतडीमा पनि संक्रमण देखिएको छ । डडेलधुराको पराशुराम-१० का २८ वर्षीय पुरुष र बैतडीको शिवनाथ-१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, कैलालीमा तीन जनामा संक्रमण पुष्टि भएको छ। जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्ट भएको हो ।

पछिल्लो समय कोरोना संक्रमण दर तीब्र बनेकाे छ। संक्रमित हुने अधिकांश व्यक्तिहरु भारतबाट फर्केकाहरु छन्। शुक्रबारसम्म कोरोनाको संक्रमण ४० जिल्लामा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै, बाँकेमा १४ जना संक्रमित थपिएका छन्। उनीहरू १८ देखि ६१ वर्ष उमेरका पुरुषहरू छन् । उनीहरूमध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् । यस्तै मोरङको रतुवामाई- २ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोनाको संक्रमणबाट तीन जनाले ज्यान गुमाइसकेका छन्। सिन्धुपाल्चाेक जिल्लाकी एक महिला, बाँकेको नरैनापुरका एक पुरुष र गुल्मीका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७० जना कोरोना संक्रमित उपचार पश्चात निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रतिक्रिया दिनुहोस्