Logo

काठमाडौमा रोकिएकाहरुलाइ बाहिर जान दिने सरकारको निर्णय



काठमाडौ । लकडाउनका कारण काठमाडौं छोड्न चाहेर पनि नसकिरहेका व्यक्तिलाई घर जान दिइने भएको छ।

त्यसका लागि सरकारले भोलि र पर्सि (चैत २८ र २९ गते) घर जान दिने निर्णय गरेको हो।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले काठमाडौं छोड्न चाहने व्यक्तिहरुलाई घर जान दुई दिनकाे समय दिने निर्णय गरेको हो।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिले काठमाडौं छोड्न चाहनेहरुलाई कसरी जान दिने र घरसम्म पुग्ने व्यवस्था कसरी गर्ने भन्नेबारे कार्यविधि बनाउन गृह मन्त्रालयलाई जिम्मेवारी दिएको छ।

प्रारम्भिक रुपमा दुई दिनका लागि प्रदान गरिएको यो अवसरमा सरकारले उच्च निगरानी गरी फर्किन चाहनेलाई सुरक्षित रुपमा फर्काउने तयारी गरिएको छ।

कसरी जान दिने, कसरी टिकट लिनेलगायतका विषयमा निर्णय लिन गृह मन्त्रालयले तयारी थालेको छ।

लकडाउनपछि काठमाडौंमा बस्न खान असजिलो भएका कतिपय व्यक्तिहरु टाढासम्मको गन्तव्यमा समेत हिँडेरै जान सुरु गरेका थिए।
भोकै बस्नुपर्ने वातावरण सिर्जना भएपछि कतिपयलाई काठमाडौं उपत्यकाको बसाई अप्ठेरो भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस्