Logo

स्वास्थ्यमन्त्रीले काम देखाउन सकेनन्, हटाउन जति सक्दो दबाब बढाऔं



काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार मन्त्रालयमा भिडभाड लगाएर पत्रकार सम्मेलन गरे । र उनले कोरोनाविरुद्धको भ्याक्सिन नै आफैंले पत्ता लगाएको झै गरी भने, ‘फ्रान्सबाट आएकी एक १९ वर्षीया युवतीमा कोरोना संक्रमण पाइएको छ ।’

प्रश्न यो हो, ‘यति सूचना दिन मन्त्री आफैंले पत्रकार सम्मेलनको आयोजना गर्नुपर्ने हो ?’ ती युवतीमा कोरोना देखिएको रात सूचना कतै चुहाइएन । भोलिपल्ट मंगलबार एम्बुलेन्स पठाएर युवतीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगियो ।

पत्रकार सम्मेलन र अन्य अवसरमा कोरोनाविरुद्ध लड्न अभूतपूर्व कार्य गरिरहेको दावी गर्ने मन्त्री ढकालको संयन्त्रले ती युवतीका परिवार र उनीसँग सम्पर्कमा आएकाहरुमा कोरोना छ छैन भन्ने परीक्षण बुधबारसम्म गरेन ।

कोरोना संक्रमण भए नभएको परीक्षण काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै हुन्छ । स्वास्थ्यमन्त्रीले कोरोना परीक्षण सातै प्रदेशमा गर्ने भनेर भाषण गरेको धेरै भइसक्यो तर अहिले लक डाउनका कारण विभिन्न स्थानबाट नुमना काठमाडौं पुर्याउन समस्या भइरहेको खबर सार्वजनिक भइरहेका छन् । काठमाडौं बाहेक अन्यत्र प्लेटफर्म रहेको, दक्ष जनशक्ति पनि रहेको अवस्थामा बाँकी काम स्वास्थ्य मन्त्रालयले गर्नु पर्ने हो कि होइन ?

तर मन्त्री ढकाललाई यस्तो संवेदनशील कुरामा काम गर्ने अहिलेसम्म फुर्सद छैन, थाहा छैन उनी कुन बढी महत्वपूर्ण कार्यमा अल्झिएका छन् ।

मुलुकभर यसपटक मेडिकल पसल, डिलरहरुले मास्क र स्यानिटाइजरको कालोबजारी गरे । करिब २ महिना कालोबजारी भयो । अन्तिम अन्तिम समयमा आएर केही पक्राउ परे । बाँकीले आफ्नो दुनो सोझ्याए । कालोबजारी भएको थाहा पाउने बित्तिकै सरकार एक्सनमा उत्रिनुपर्ने थियो । मन्त्री ढकालको यो काममा पनि पछि नै परे ।

लक डाउनमा मानिसहरुलाई खाद्यन्नकै अभाव हुन सक्छ । खाद्यन्न अहिले नै अभाव भइसकेको छैन । जीवन र मृत्युको सवालमै मन्त्री ढकालको संयन्त्रले मजाक गरिदिएको छ । स्वास्थ्यकर्मीका लागि पिपिइको बन्दोबस्त छैन । चीन सरकारले दिन्छौं भन्दा पनि मन्त्री ढकाल दक्षिणतिर मुख लगाएर किन बसेका हुन् थाहा छैन ।

कोरोना रोक्ने सवालमा सरकार भारतसँगै सति जान खोज्यो । नाका बन्द गरौं भन्ने जनदबाब एकातिर राखेर भारतीय राजदूतका अगाडि लम्पसार परेको त देखियो नै । भारतमा लक डाउन हुँदा यता हुने, नहूँदा नहुने, उता २१ दिन हुँदा यता पनि लक डाउन बढाउने भनेर त मन्त्री ढकालले बोलि नै सके ।

भारतमा लक डाउन हुनै लाग्दा नेपाल फर्किने नेपालीहरुको सुझबुझमा पनि कमि नै देखियो । उनीहरु जहाँ बस्थे, त्यही बस्नु उनीहरुको पनि हितको कुरा थियो । तर उता सुनामी आएकोले भागेर नेपाल आउन खोजे जस्तो देखियो । क्वारेन्टाइनबाट भाग्ने अल्प बुद्धि पनि नेपालीले देखाए । यस्तो विषय स्वास्थ्यमन्त्रीको लगामभन्दा बाहिर गयो ।

अब मन्त्री ढकालमाथि तेर्सिएका प्रश्नहरु छन्ः

मास्क छैन, जिम्मेवारी कसको ?
स्यानिटाइजर छैन, जिम्मेवारी कसको ?
कालाबजारी भयो, रोक्न किन नसकेको ?
पिपिइको बन्दोवस्त गर्ने जिम्मेवारी कसको ?
कोरोना परीक्षण सातै प्रदेशमा गराउने जिम्मेवारी कसको ? किन नसकेको ?
भारतसँगै ‘सति जाने’ नियम के डब्लुएचओले जारी गरेको हो ?

अहिलेको परिवेशमा यी सबैभन्दा महत्वपूर्ण विषय हुन् । सबैभन्द महत्वपूर्ण पक्षमै स्वास्थ्यमन्त्री सफल छैनन् भने यिनलाई किन कुर्सीमा राखिरहनु पर्यो ? यिनी नहुँदा पनि अहिले भएजति काम त भइहाल्छ । भनेपछि अतिरिक्त एक मन्त्री पाल्नु पर्ने के बाध्यता छ ?

]यसकारण प्रधानमन्त्रीलाई अनुुरोध गरौं, सकिन्छ एक योग्य व्यक्तिलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गर्नुहोस् । यो संकटको घडीमा प्रतिपक्षी वा दलविहिन जताबाट ल्याए पनि हुन्छ । होइन, नगर्ने हो भने कम्तिमा ढकाललाई चाहिँ मुक्त गरिदिनुहोस् । उहाँले पाहुनासँग समय बिताउन पनि पाउनुहुनेछ ।

टिप्पणी

प्रतिक्रिया दिनुहोस्