Logo

कोरोनाले स्वरुप परिवर्तन गरे बनेका खोप पनि काम नलाग्ने राष्ट्रसंघको चेतावनी



संयुक्त राष्ट्रसंघले कोरोना भाइरस महामारीलाई सम्पूर्ण मानवताका लागि खतरा भन्दै त्यसविरुद्ध सम्पूर्ण मानव लागिपर्नुपर्ने बताएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले संक्रमण बिरुद्ध देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त नहुने बताएका हुन । आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न राष्ट्रसंघले दुई अर्ब डलर कोषको घोषणा गरेको छ । महामारीलाई विकसित मुलुकमा नियन्त्रण गर्ने र विकासोन्मुख देशहरूमा डढेलो जसरी फैलन दिइयो भने त्यसवाट दशौँ लाख मानिसको ज्यान जाने महासचिव गुटेरसको भनाइ छ ।

भाइरसलाई स्वरूप परिवर्तन गर्ने अवसर दिएमा परिवर्तित भाइरसले बनेका खोप पनि काम नलाग्ने गरि फेरि सबैलाई आक्रमण गर्ने चेतावनी गुटेरसले दिएका छन । यसबीच विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ)ले परीक्षण, क्वारन्टीन तथा सङ्क्रमणका स्रोतको निरन्तर खोजीको आवश्यकतामाथि जोड दिएको छ । सङ्क्रमणबाट अति प्रभावित इटलीको प्रयासलाई प्रशंसा गर्दै विस्तारै उसका प्रयासले नतीजा ल्याउने राम्रा सङ्केत देखिएको डब्लु एच ओ ले बताएको छ ।

राष्ट्रसंघले एकताबद्ध लडाइँको महत्त्व बताइरहँदा शक्तिशाली देशहरूमाझ भाइरसलाई लिएर मतभेद देखिएका छन् । सम्पन्न देशहरूको समूह जी सेभेनका विदेशमन्त्रीहरूमाझ कोरोनाभाइरसको स्रोतसम्बन्धी वक्तव्यमा राखिने वाक्यबारे मतभेद भएको छ । अमेरिकाले चीनको नियतवश गलत सूचना अभियान’ उल्लेख हुनुपर्ने बताएको थियो, तर अन्य कैयन् सदस्य देशहरूले भने त्यसलाई अनावश्यक विभाजनकारी भनेर अस्वीकार गरे ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बैठकलाई कूटनीतिज्ञहरूमाझ चीनले भाइरसको स्रोतबारे अनर्गल षडयन्त्रका सिद्धान्त फैलाइरहेको जानकारी रहेको बताएका थिए । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनालाई चिनियाँ भाइरस भन्ने गरेका छन् । वरिष्ठ चिनियाँ अधिकारीहरूले उक्त भाइरस अमेरिकी सेनाले चीन भित्राएको आरोप लगाउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्