Logo

विश्व स्वास्थ्य संगठनद्धारा जारी कोरोना भाइरसको संक्रमण रोक्ने ५ उपाय



सिंगै विश्वलाई घरमा बन्धक बनाएर कोरोना भाइरसले राज गरिरहेको छ । विश्वभर कोरोना भाइरसको सन्त्रास बढेको छ । अहिले सम्म विश्वमा कोरोनाबाट संक्रमितको संख्या ४ लाखभन्दा बढी भइसकेको छ । करिब १९ हजार भन्दा बढि मानिसले भाइरसको कारण ज्यान गुमाइसकेका छन् । यस्तो अवस्थामा कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि विश्व स्वास्थ्य संगठनले मुख्य पाँच उपाय सुझाएको छ ।

१. परीक्षण
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार यो महामारी रोक्ने दिशामा सबैभन्दा प्रमुख कुरा यसको परीक्षण हो । विश्व स्वास्थ्य संगठनले यो भाइरसको परीक्षणलाई संक्रमण रोक्ने सबैभन्दा महत्वपूर्ण उपाय भएको बताएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार समयमा नै यो भाइरसको संक्रमणको परिक्षणमा जोड दिएका देशहरु तथा स्थानहरुमा नयाँ संक्रमणको कमी देखिएको छ । दक्षिण कोरियाले प्रतिदिन अमेरिकाले एक महिनामा गर्नेभन्दा धेरै कोरोना संक्रमणको परीक्षण गरेका कारण नयाँ संक्रमण रोकिएको विश्व स्वास्थ्य संगठनको दाबि छ । डब्ल्यूएचओका महानिर्देशक एडोनोम गेब्रेयुसले सबै मुलुकलाई परीक्षण, परीक्षण र परीक्षण गर्नको लागि सुझाव दिएका थिए । धेरै मुलुकमा गम्भीर लक्षण देखिएपछि मात्र परीक्षण गरिन्छ । त्यसैले ती मुलुकमा कोरोना भाइरस नियन्त्रण हुनुको सट्टा बढिरहेको छ ।

२. संक्रमितलाई एकान्तमा राख्नु वा क्वारेन्टाइनमा बस्नु
विश्व स्वास्थ्य संगठनले बिरामीको पहिचान, परीक्षण र उनीहरुलाई एकान्तमा राख्ने यो भाइरसको संक्रमणबाट बच्ने अर्को उपाय भनेको छ । दक्षिण कोरिया र चीनले क्वारेन्टाइनमा राख्ने काम निकै राम्रो काम गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । परिक्षणबाट संक्रमितलाई एकान्तवास अर्थात क्वारेन्टाइनमा पठाउनका लागि सहयोग पुग्ने गर्दछ । चीन, ताइवान, सिंगापुर र हङकङले पनि यही प्रक्रियालाई अपनाएका छन् । जसले भाइरसको प्रकोप पनि यी मुलुकमा कम देखिएको छ ।

३. तयारी र तत्काल कारवाही
विश्व स्वास्थ्य संगठनले कुनै पनि भाइरसको संक्रमण रोक्नका लागि तयारी र कारवाहीलाई प्रभावकारी बनाउनुपर्दछ । भाइसर फैलिनुभन्दा पहिला नै त्यसलाई रोक्न कदम चाल्नु सवै भन्दा उत्तम हुने विश्व स्वास्थ्य संगठनको सुझाव छ । ताइवान र सिंगापुरजस्ता मुलुकले कोरोनाको संक्रमण रोक्नका लागि तयारी निक्कै राम्रो गरेका कारण नयाँ संक्रमणको पहिचान गरे र उनीहरुलाई छुट्टाछुट्टै राख्ने निर्णय गरे । यो भाइरस नियन्त्रणको लागि निर्णायक कदम साबित भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विशेष गरी यी मुलुकको तयारी राम्रो भएको कारण भाइरस नियन्त्रणमा आएको हो । ताइवानमा यस्ता महामारीबाट पार पाउन सन् २००३ मा नै कमाण्ड सेन्टर स्थापना गरिएको थियो । यो सेन्टरको स्थापना सार्स भाइरसको समयमा गरिएको थियो र यसले धेरैपटक भाइरस कसरी रोक्ने भन्ने विषयमा अभ्यास पनि गरेको थियो ।

४. सामाजिक दूरी
विश्व स्वास्थ्य संगठनका अनुसार मुलुकमा यो भाइरसको संक्रमण प्रवेश गरिसकेको छ भने त्यसलाई रोक्ने कुनै पनि उपाय छैन । यस्तोमा यो समस्याबाट बच्ने सबैभन्दा प्रभावकारी तरिका सामाजिक दूरी कायम राख्नु नै हो । हङकङमा जनवरी महिनामा नै घरबाट काम गर्ने, सबै विद्यालय बन्द गर्ने र सबै किसिमको आयोजनामा रोक लगाइएको थियो । सिंगापुरले विद्यालय बन्द गरेको त थिएन, तर विद्यार्थी र शिक्षा क्षेत्रका कर्मचारीको नियमित परीक्षणको व्यवस्था मिलाएको थियो ।

५. सफाइप्रति सचेत बनाउनु
डब्ल्यूएचओले कोरोना भाइरसको संक्रमण रोक्ने दिशामा नियमित रुपमा हात धुन र स्वच्छतामा रहन निकै आवश्यक रहेको बताएको छ । विश्व स्वास्थ्य संगठनले धेरै मुलुकले सन् २००३ को सार्स संक्रमणटबाट सिकेर कोरोना नियन्त्रणमा सजगता अपनाएका हुन् । सिंगापुर, हङकङ र ताइवानमा ‘एन्टि ब्याक्टेरियल जेल’ छन् । जहाँबाट मानिसले आफैंलाई स्यानिटाइज गर्न सक्छन् । यसका साथै यी मुलुकमा मास्क लगाउने चलन पनि छ । यो संक्रमण रोक्ने एकमात्र तरिका होइन तर खोक्दा र हाच्छ्यूँ गर्दा हावामा फैलिनसक्ने भाइरसलाई भने रोक्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्