Logo

कोरोना कहर : नेपालले सिक्नुपर्ने पक्ष

अन्तर्राष्ट्यि उडान रद्द गरिएको विगत ६१ वर्षमा यो पहिलो हो



आजदेखि नेपाल अन्तर्राष्ट्रिय स्तरमा एक किसिमले ‘लकडाउन’को अवस्थामा पुगेको छ । विदेशसँगको हवाई सेवा आज (चैत १०)देखि वन्द गरिएको छ । नियमित अन्तर्राष्ट्यि उडान रद्द गरिएको विगत ६१ वर्षमा यो पहिलो हो । आगामी सात दिनका लागि भारत र चीनसँग जोडिएका सबै नाका बन्द गरिएका छन् । यी नाकाबाट मानिसको आवतजावत बन्द गरिए पनि सामान ढुवानी भने नरोकिने सरकारी संयन्त्रले जनाएको छ । यस्तै आजदेखि लामो दूरी र एक जिल्लाबाट अर्को जिल्लासम्म जान सार्वजनिक यातायातमाथि रोक लगाइएको छ । यी केही यस्ता आवश्यकता थिए जसको व्यवस्था पहिले नै भइसक्नुपर्ने थियो । ढिलै भए पनि सरकार क्रियाशील देखिएको छ । यसको प्रशंसा गर्नै पर्दछ । तर प्रश्न उठ्छ, के यति सक्रियतामात्र पर्याप्त छ त ? यसको उत्तरका लागि तलका तथ्यहरुको विश्लेषण आवश्यक छ ।
सरकारी दावी सत्य हो ?
नेपालमा हालसम्म यो भाइरसको प्रभावको विस्तार नभएको दावी गरिएको छ । एकजना संक्रमित भेटिए पनि उपचारपछि ती व्यक्ति निको भएर फर्किसकेको बताइएको छ । यसै आधारमा नेपाललाई विश्व मानचित्रमा ‘ग्रिन जोन’ मा राखिएको छ । तर यहाँनिर एक प्रश्न उठ्छ, के सरकारी दावी पूर्णतः सत्य हो ? सत्य हो भने अत्यन्तै राम्रो । होइन भने नेपालका सामु अत्यन्तै ठूलो जोखिमको अवस्था विद्यमान रहेको कुरामा शंका छैन । सरकारी निकायबाट यससम्बन्धमा तथ्यपरक सूचना उपलब्ध हुने गरेको छैन । यसले निश्चय पनि केही शंकाको अवस्था निम्त्याएको छ । ती कोरोना प्रमाणित भएका व्यक्ति कसकसको सम्पर्कमा आए ? ती व्यक्ति नेपालमा कहाँ कहाँ गए ? यी सबै कुराको यकिन हुनु जरुरी छ । आशा गरौं, सरकारले यसका बारेमा गम्भीरतापूर्वक सोचेकै होला । सामान्य फ्लु र कोरोना फ्लुबीच सजिलै भेद गर्न नसकिने अवस्थामा कोरोनाको पहिचान केही निश्चित परीक्षणपछिमात्र गर्न सकिन्छ । तर के नेपालमा प्रत्येक सेवाग्राहीको आवश्यक परीक्षण सुनिश्चित गर्न सकिएको छ ? परासीका एक युवाले परासी, वुटवल, भरतपुर र काठमाडौ हुँदै कुनै उपचार र परीक्षणबीना पुनः परासी नै पुग्नुपर्ने अवस्था किन सिर्जना भयो ? के सरकारसँग यसको उत्तर छ ?
परीक्षणमा समस्या
टेकु अस्पतालबाहेक नेपालभरि कतै पनि अहिलेसम्म कोरोना परीक्षणको व्यवस्था नमिलाइनु स्वयंमा उदेकलाग्दो छ । पछिल्लोपटक सरकारले धेलिखेल अस्पताल, विपि स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालमा पनि कोभिड–१९ को परीक्षण गर्न सकिने व्यवस्था मिलाउन थालेको बताइएको छ । यस्तै साढे पाँच लाख शय्याका क्वारेन्टाइन बनाइने निर्णय पनि गरिएको जनाइएको छ । तर हालसम्म यी व्यवस्था कार्यान्वयन्मा छनैन्, हुने बताइएको छ । अहिले त कोभिड–१९ को परीक्षणका लागि टेकुमाञ छ, यो यथार्थ हो । टेकु अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पनि आवश्यक ‘किट’को अभावमा परीक्षण कार्यलाई निरुत्साहित गरिरहेको जनसामान्यको गुनासो छ । यस्तोमा सरकारको दावी कति सत्य र यथार्थ हो भन्नेबारे यकिनका साथ केही भन्न सकिने अवस्था छैन । नेपाली जनता सरकारका प्रत्येक निर्देशको पालन गर्न तयार छन्, सहयोग गर्न तयार छन् । कुनै पनि शंका नगरी सरकारका कुनै पनि व्यवहारप्रति विश्वास गर्न तयार छन् । यसवापत जनसामान्यले आफ्नो स्वास्थ्यको सुनिश्चितता खोज्नु त गलत होइन नि । विश्वास गरौं, सरकारले कोरोना नियन्त्रणको दिशामा कुनै लापरवाही गरेको छैन । चीन, इटाली, दक्षीण कोरिया र इरानमा प्रारम्भमा त्यहाँको सरकारले लापरवाही गरेकैले ती देशहरुले भयानक परिणाम वेहोर्न बाध्य भएको कुराप्रति शायद नेपाल अनभिज्ञ छैन ।
निरन्तर असावधानी
यो भाइरस र यसले निम्त्याउने समस्याका बारेमा गत डिसेम्बरमै सम्पूर्ण विश्वले जानकारी प्राप्त गरिसकेको थियो । स्वाभाविक छ, नेपाललाई पनि यसबारेमा थाहा थियो । तर यसबीचको तीन महिनाभन्दा लामो कालखण्डमा नेपालको सक्रियता गौण रह्यो । कहाँसम्म भने डब्लुएचओको आव्हानपछि पनि नेपाल सरकारले यस दिशामा समयमै पर्याप्त सतर्कता र सावधानी अपनाएको पाइएन । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री बालुवाटार फर्केपछिमात्र सरकारी क्रियाशीलताको सामान्य अनुभव गरिएको हो । विज्ञहरुले जनसामान्यलाई मास्कको प्रयोग गर्न, साबुन पानीले हाथ धुन, स्यानीटाइजारको प्रयोग गरी हाथ सफा राख्न, भीडभाडमा नजान, एकआपसमा हाथ नमिलाउनजस्ता सावधानी अपनाउन आव्हान गर्दै आएका छन् । यस आधारमा सरकारले पनि आवश्यक तयारी गर्नुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन । जनतालाई परेको यस पीडाबाट लाभ उठाउन व्यापारीहरुले कालावजारीलाई प्रश्रय दिएको पाइएको छ तर नियन्त्रणका दिशामा सरकार मौन देखिएको छ । अहिले राजधानीका वजारमा सर्जिकल मास्क उपलब्ध छैन । स्वयं यो पंक्तिकार काठमाडौका औषधी पसलबाट सर्जिकल मास्क प्राप्त गर्न असमर्थ रह्यो भने स्यानिटाइजर दोव्वर मूल्यमा खरीद गर्न बाध्य भयो । यस्तोमा जनसामान्यको अवस्थाबारे सहजै अनुमान गर्न सकिन्छ । यस अवस्थामा सुधार ल्याउन सरकारको कुनै पनि क्रियाशीलता नदेखिनु दुखद छ ।
नेपालमा निर्वाध प्रवेश
भारतमै यो भाइरसको तीव्र विस्तार भइरहेको वर्तमान अवस्थामा भारतसँगको लामो खुला सिमानाले अनेक आशंकालाई जन्म दिएको छ । सरकारी तथ्यांकअनुसार भारतमा १५ लाख नेपाली छन् । तर यो कागजी औपचारिक तथ्यांकमात्र भएको कुरा स्पष्ट छ । अनौपचारिक तथ्यांकको अवस्था निकै वृहद हुन सक्ने अवस्थालाई अस्वीकार गर्न सकिँदैन । अहिले विभिन्न नाका हुँदै भारतबाट दैनिक हजारौं व्यक्ति नेपाल आइरहने क्रम आइतवारसम्म जारी थियो । यसरी यी नाकाबाट नेपाल प्रवेश गर्नेहरु नेपाली नागरिकमात्र हुन् भनेर यकिनसँग भन्न सकिने अवस्था छैन । नाकामा परिचयपत्र हेरेर प्रवेश सुनिश्चित गर्ने अवस्था नहुँदा अहिले नेपालीसँगै नेपाली र तराई–मधेश मूलका भारतीयहरुको ठूलो संख्या नेपाल भित्रिइरहेको हुन सक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन । यस्तै अन्तर्राष्ट्रिय विमान उडानलाई पनि निकै ढिलोमात्र बन्द गरिएको छ । डिसेम्बरपछि विदेशबाट नेपाल आउने स्वदेशी र विदेशी सबै कोरोनामुक्त थिए भनेर भन्न सकिने आधारबारे प्रश्न गर्न सकिने प्रशस्त ठाउँ छन् । के ज्वरोको मापन गर्नुमात्र कोरोनाको पहिचान गर्न सकिने उपयुक्त विधि हो ? नेपाल प्रवेशका समयमा पारासिटामोलको प्रयोग गरेर तत्कालका लागि ज्वरोलाई नियन्त्रणमा राख्न सक्ने सम्भावनातर्फ सरकारी संयन्त्र निश्चय पनि गम्भीर हुनुपर्ने हो ।
भारतमा लकडाउन र जनता कफर््यु

भारतमा तीव्रताका साथ कोरोना बढिरहेसँगै नेपालमा पनि खतराको सम्भावना बढेको छ । भारतले कोरोनाको गतिमा ‘ब्रेक’लगाउन केही उपाय अपनाएको छ । भारतभरि चल्ने सबै रेल ३१ मार्चसम्मका लागि रोकिएको छ । राजस्थान, उत्तराखण्ड, पञ्जाब, दिल्ली, विहार, झारखण्ड, छत्तीसगढ, हरियाणा, गुजरात, तेलांगना, आन्ध्रप्रदेश प्रान्त ‘लकडाउन’ गरिएको छ भने उत्तरप्रदेश, पश्चिम वंगाल, मध्य प्रदेश आंशिक लकडाउनको अवस्थामा छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आव्हानमा आइतवार देशभरि ‘जनता कफर््यु’ लागू गरिएको छ । यो सबैको उद्देश्य सामाजिक गतिमा रोक लगाई आइसोलेशन (पृथकीकरण)को अवस्था सिर्जना गरी कोरोनालाई एक ठाउँबाट अर्काे ठाउँमा जानबाट रोक्नु हो ।
नेपालले सिक्नुपर्ने पक्ष
माथि चर्चा गरिएका एकजनाबाहेक अहिलेसम्म नेपालमा परीक्षण गरिएका विरामीहरुमा कोरोना भाइरस पाइएको छैन भनिएको छ तर भविष्यमा यो भाइरस नेपालमा आउँदै आउँदैन भनेर भन्न सकिने अवस्था चाहीँ छैन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अति जोखिमको सम्भावना भएको मुलुकको सूचीमा राखी नेपाललाई कोरोना भाइरसबाट सतर्क रहन आव्हान गरेको छ । विश्वले कोरोना नियन्त्रणका दिशामा अपनाएका उपायको समीक्षा गरी नेपालले पनि सिक्नु अपरहार्य छ । भारतभनदा पहिले चीनमा लकडउनको विधि प्रभावबारी सावित भएको छ । इटली लकडाउन गरिएको छ । अमेरिकामा स्वास्थ्य संकटकालको घोषणा गरिएको छ । नेपालले पनि विदेशमा गरिएका यस्ता प्रयासहरुको अनुशरण गरेर कोरोनामुक्त समाजको प्रत्याभूत गर्नु अपरिहार्य छ । समय छँदै यसतर्फ सचेत भइएन भने भविष्य निकै पीडादायी हुने निश्चित छ । विश्वका करिव एक सय ८८ देशमा अहिले कोरोना भाइरस (कोडिफ–१९)ले वितण्डा मच्चाएको छ । विश्वमा महामारीको रुप ग्रहण गरी स्वास्थ्य विज्ञानका लागि चुनौती बनेको यो भाइरसबाट तीन लाख बढी व्यक्ति संक्रमित बनेका छन् ।

यो भाइरसजन्य रोगबाट विश्वमा हालसम्म करिव १३ हजार बढी व्यक्तिले ज्यान गुमाएका छन् । गत डिसेम्बरमा पहिलोपटक चीनमा देखिएको यो भाइरसले पछिल्लोपटक हाम्रो सबैभन्दा नजिकको छिमेकी भारतमा पनि आफ्नो प्रभावको विस्तार गरिसकेको छ । यो आलेख तयार पारुन्जेलसम्म भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतमा ४ सय १७ जनाभन्दा बढीमा यसको संक्रमणको पुष्टि भएको छ भने ७ जनाको मृत्यु भइसकेको छ । पछिल्लोपटक नेपालसँग निकै नजिक रहेको विहार प्रान्तको राजधानी पटनामा एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्