Logo

हेटौँडा–कुलेखानी सुरुङमार्गको निर्माणको लागि बैशाखको तेस्रो साता बोलपत्र आह्वान गर्ने



बाग्मती । बाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुँयालले मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा–कुलेखानी सुरुङमार्गको निर्माणको लागि सरकारले आगामी बैशाखको तेस्रो साता भित्रै बोलपत्र आह्वान गर्ने बताउनुभएको छ । उहाँले रासससँग आज संक्षिप्त कुराकानी गर्दै बागमती प्रदेशका १३ जिल्लामा हरित नगरको पूर्वाधार विकासको लागि गुरुयोजना तयार भइसकेको पनि उल्लेख गर्नुभयो ।

उहाँले हेटौँडा–कुलेखानी–सिस्नेरी र छैमले सडकखण्ड स्तरोन्ततीसँगै फराकिलो पार्ने, ढल निकास र कालोपत्रे गर्ने कार्यलाई तिब्रता पारिएको बताउनुभयो । मन्त्री फुँयालले सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ को नीति कार्यक्रममा समावेश गर्ने गरी काठमाडौँको चन्द्रज्योति विद्युत् गृह, सुन्दरीजल विद्युत् गृह, हेटौँडा–काठमाडौँ जोड्ने रोपवे र हेटौँडा–वीरगञ्ज सडकखण्डमा पर्ने चुरियामाईमा रहेको पुरानो सुरुङमार्गको सम्भाव्यता अध्ययन गरी सञ्चालनमा ल्याउने विषयमा उच्चस्तरीय प्राविधिकले अध्ययन थालिसकेको स्पष्ट पार्नुभयो ।

उहाँले पुरानो कान्तिराजपथ निर्माण भइरहेको र यसलाई तिब्रता प्रदान गर्न तथा आगामी २०७७ साल फागुनभित्र उक्त राजमार्गको ७९ किलोमिटर सडक निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ आवश्यक स्रोत साधन परिचालन गरिसकिएको जानकारी दिनुभयो । मन्त्रीले प्रदेशको १३ वटै जिल्लामा सञ्चालन गरिने राष्ट्रिय गौरवका आयोजना एवम् स्थानीय निकायबाट सिफारिस भई आएका विकासका पूर्वाधारका योजनालाई समावेश गर्ने क्रममा सम्बन्धित क्षेत्रका प्रतिनिधीसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारीबीच बजेट तर्जुमा गर्ने सम्बन्धमा केही साताभित्रै बृहत छलफल प्रारम्भ गर्ने तयारी भइरहेको पनि उल्लेख गर्नुभयो । कुलेखानी–चित्लाङहुँदै काठमाडौँको थानकोट पुग्ने सडक स्तरोन्नतीको लागि सम्बन्धित प्राविधिकलाई स्रोत साधनसहित परिचालन गरिने जानकारी दिँदै मन्त्री फुँयालले बागमती प्रदेशको विभिन्न शहरमा विद्युतीय बस सञ्चालनको लागि आवश्यक पूर्वाधार तयारी गर्ने क्रममा प्रदेशमा यातायात निगमको कार्यालयको स्थापना गर्ने र सम्बन्धित निकायमार्फत विद्युतीय बस खरिद गर्ने प्रकृया सुरु गरिसकेको पनि स्पष्ट पार्नुभयो । उहाँले त्रिभुवन राजपथमा पर्ने धादिङको नौबिसे–पालुङ–पालुङ–हेटौंडासम्मको सडकखण्डमा पुनः निर्माणलाई स्तरोनती गर्नेतर्फ सम्बन्धित निकाय र स्थानीय जनप्रतिनिधिबीच सहकार्य प्रारम्भ गर्ने लक्ष्य रहेको सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्