Logo

संकटालाई हराउँदै आर्मी अन्तिम चारमा



पोखरा । साविक उपविजेता त्रिभुवन आर्मी क्लब पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा ‘ए’ डिभिजन प्रतिद्वन्द्वी संकटा क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो ।

संकटाविरुद्ध प्रभावशाली जित निकाल्न आर्मीका सुदिल राई, नवयुग श्रेष्ठ र विवेक बस्नेतले एक एक गोल गरे ।

खेलको म्यान अफ दि म्याच आर्मीका नवयुग चुनिए । यस खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।

अब आर्मीले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ । मनाङ झापा-११ लाई १-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगिसकेको छ ।

अर्को सेमिफाइनलमा साविक विजेता थ्री स्टार क्लब र विभागीय टिम नेपाल पुलिस क्लबबीच खेल हुनेछ । थ्री स्टार र पुलिसबीचको खेल बुधबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्