Logo

डीआईजी लम्साल, पाल र थापा एआईजीमा सिफारिस



काठमाडौ । तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) तारणि लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाल अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् ।

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीमा रिक्त तीन जना एआईजीमा उनीहरूको नाम सिफारिस गरेको हो । प्रहरी नायव महानिरीक्षक (एआईजी) को वरीयतामा पहिलो, दोस्रो र तेस्रो नम्बरमा रहेका उनीहरूलाई सोही वरीयताअनुसार एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ ।

सूचीको पहिलो नम्बरमा लम्साल, दोस्रोमा क्षेत्री र तेस्रोमा पाल रहेका छन् । माघ २८ मा प्रहरी महानिरीक्षक (आईजीपी)सर्वेन्द्र खनालसँगै एआईजीहरू पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यानले समेत ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि एआईजी दरबन्दी रिक्त रहेको थियो ।

आईजीपीमा भने सरकारले ठाकुरप्रसाद ज्ञवालीलाई नियुक्त गरेको थियो । आईजीपी ज्ञवाली आगामी असारमा ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जानेछन् । त्यसपछि पाल र क्षेत्रीमध्ये एक जनाले प्रहरी प्रमुख आईजीपी हुने मौका पाउनेछन् ।

उनीहरू दुवै जनाले १९ वैशाख २०४९ सालबाट प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । हाल क्षेत्री प्रहरी प्रधान कार्यालयमा प्रवक्ताको रूपमा कार्यरत छन् भने पाल प्रहरीको विशेष ब्यूरो प्रमुखको रूपमा कार्य गरिरहेका छन् । त्यस्तै, लम्साल सुदूरपश्चिम प्रहरी प्रमुखको रूपमा कार्य गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्