Logo

कम्युनिष्ट सरकार गणतन्त्र र संघीयताको विपक्षमा : नेता कोइराला



पाँचथर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वामपन्थी सरकारकै कारण संघीयता खतरामा परेको बताउनुभएको छ ।

पाँचथरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता कोइरालाले गणतन्त्र र संघीयता सरकारकै कारण खतरामा परेको बताउनुभएको हो । जनताले ल्याएको संघीयता सरकार र सरकारमा सामेल दल नेकपा कै कारण खतरामा परेको भन्दै नेता कोइरालाले प्रधानमन्त्री केपी ओलीले संघीयता खतरामा छ भन्नु यसैको संकेत भएको आरोप लगाउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कम्युनिस्टहरु जनवादी केन्द्रियतामा विश्वास गर्ने भएकाले सरकारलाई संघीयता मन नपरेको तर्क गर्नुभयो ।

फाल्गुनन्द गाँउपालिकामा नेकपाका नेताले मातृभाषा शिक्षाविरुद्ध मुद्दा लगाएको कुरालाई इंगित गर्दै नेता कोइरालाले भन्नुभयो, ‘सभ्य समाज निर्माण नभई समृद्ध राष्ट्र निर्माण हुन सक्दैन।’ भाषा लिपिविरुद्धमा उभिएको नेकपाको सरकारले समृद्ध समाज निर्माण गर्नै नसक्ने नेता कोइरालाले ठोकुवा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्