देउवाका कारण पार्टी धरापमा पर्‍याे : डा. शेखर

देउवाका कारण पार्टी धरापमा पर्‍याे : डा. शेखर


काठमाडाैँ ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार तत्काल नसच्चिए कांग्रेसले सरकार छाड्नुपर्ने बताएका छन् ।

कपिलवस्तुको तौलिहवामा आयोजित नेपाली कांग्रेस कपिलवस्तुको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले यस्ताे बताएका हुन् ।

यो सरकार जति दिन रह्यो त्यति मुलुक बर्बादीतर्फ जाने भन्दै नेता कोइरालाले कांग्रेसकाे नेतृत्वमा सरकार बन्नुपर्ने बताए ।

‘जति दिन यो सरकार राख्यो, त्यति देशको राष्ट्रियता, सार्वभौमिकता, राजनीतिक र अवस्था कमजोर हुँदै जान्छ। नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य भइसक्यो,’ उनले भने।

कोइरालाले सरकारको हेपाहा र बलमिच्याइँले चर्को महँगीका कारण जनताको चुलो नबल्ने अवस्थामा पुगेको बताए ।

जनतालाई सहुलियत दिनुपर्नेमा चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको भाउ बढ्नु राम्रो संकेत नभएको उनको भनाइ छ ।

यस्तै नेता कोइरालाले सभापति शेरबहादुर देउवाले विधानसम्मत पार्टी सञ्चालन नगरेको आरोप पनि लगाए ।

सभापति देउवासँग व्यक्तिगत रूपमा आफ्नो कुनै रिसराग नभएको तर पार्टी विधि र विधान अनुसार चल्नुपर्छ भन्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने उनले बताए ।

‘पार्टीभित्र दूर–दराजका इमान्दार, निष्ठावान र सक्रिय साथीहरूको मूल्यांकन हुन सकेको छैन, त्यसैले कांग्रेसको जग नै कमजोर हुन थालेको छ,’ कोइरालाले भने ।