खेलराजको नेतृत्वमा फेरिएको बुटवल

खेलराजको नेतृत्वमा फेरिएको बुटवल

बुटवल उपमहानगरपालिकामा खेलराज मेयर भएपछि के–के भए ?


काठमाडौँ ।

लुम्बिनी प्रदेशको केन्द्र मानिने बुटवल नेपालको ठुला सहरमध्येको एक हो । बुटवललाई २०१६ सालमै नगरपालिकाका रूपमा स्थापना गरिएको थियो भने २०७१ सालमा नगरपालिकाबाट उपमहानगर बनेको थियो । अर्घाखाँची, पाल्पा, स्याङजा, गुल्मीलगायत जिल्लाका नागरिकको पहिलो रोजाइ बनेको बुटवलको स्थायी जनसंख्या अहिले करिब २ लाख हाराहारी छ ।

बढ्दो बसाइँसराइ र सहरीकरणले आज बुटवल नेपालकै गतिशील सहरमा गनिन्छ । साथै, देशका प्रमुख राजमार्गहरू पूर्व–पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गको संगम स्थलमा रहेका कारण पनि बुटवल बढी चलायमान भएको दखिन्छ ।

२ वर्षअघिसम्म बुटवल लुम्बिनी प्रदेशको राजधानीसमेत थियो । यति ठुलो र चलायमान सहरको नेतृत्व अहिले खेलराज पाण्डेले गरिरहेका छन् । गत स्थानीय तहको निर्वाचनमा बुटवलबासीको उत्साहजनक मतका साथ उनी मेयरका रूपमा विजयी भएका थिए ।

हुन त उनी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पनि मेयरका उम्मेदवार थिए । तर, त्यसबेला उनी पराजित भए । बुटवलको हरेक समस्या र आवश्यकतालाई राम्रोसँग बुझेका पाण्डे नेतृत्वमा आएसँगै केही सकारात्मक परिवर्तन पनि भएका छन् ।

वर्षौँदेखि रोकिएका र हुन नसकेका कामहरू उनको यो १६ महिने कार्यकालमा सम्पन्न भएका उदाहरण थुप्रै भेटिन्छन् । पालिकाको शिक्षा, स्वास्थ्य, यातायातलगायत समग्र विकास निर्माणको काममा ‘केही त भएको छ है’ भन्ने अवस्था अहिले देखिन्छ ।

स्वास्थ्यको क्षेत्रमा भएका कामहरू हेर्ने हो भने अस्पताल निर्माणदेखि चिकित्सा शास्त्र अध्ययनको क्षेत्रमा देखिने गरी नै काम भएको छ । जसमा बुटवल–१३ र १७ मा १५/१५ बेडका अक्सिजनसहितका २ अस्पताल चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गरी आगामी आर्थिक वर्षदेखि सञ्चालन गर्ने तयारीमा उपमहानगर छ ।

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई ३०० बेडमा स्तरोन्नति गर्ने काम पनि सुरु भइसकेको छ भने पारा मेडिकलतर्फ पिसिएल नर्सिङ, फार्मेसी र एचए विषय अध्ययनका लागि भर्ना आरम्भ गर्ने गरी प्रक्रिया अगाडि बढाइएको छ ।

त्यस्तै, बुटवलका स्थायी बासिन्दाका लागि उपमहानगरले आमा र नवजात शिशुलाई पोषण खर्चबापत २ हजार रुपैयाँ वितरण गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । यस कार्यक्रमले गर्दा आर्थिक अवस्था कमजोर भएका स्थानीयका लागि ठुलो राहत पुगेको स्थानीय बताउँछन् ।

नेपाल सरकारले २०७२ साल चैत १ गते साविक बुटवल नगरपालिका, टिकुलीगढी गाविस, आनन्दवन गाविस र फर्साटिकर गाविसका केही भागलाई ४ किल्ला तोकी ८१३ बिगाहमा मोतीपुर औद्योगिक क्षेत्र घोषणा गरेको थियो । पछि २०७७ साल फागुन २१ गते तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री लेखराज भट्टले रुपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्र निर्माणका लागि शिलान्यास गरेका थिए । शिलान्यास गर्ने क्रममा स्थानीयले ठुलै विरोध पनि गरेका थिए । तर, त्यसको निर्माण प्रक्रिया भने अझै सुरु हुन सकेको थिएन ।

पाण्डेले बुलबलको नेतृत्व लिएसँगै यसलाई प्रथमिकतामा राख्दै काम गरिरहेका छन् । लामो समयदेखि अलमलमा रहेको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा एकिन गर्न अहिले ड्रोन प्रविधिबाट नापजाँच गरी औद्योगिक क्षेत्र स्थापनाको प्रक्रिया अगाडि बढिसकेको छ । उनको यो छोटो कार्यकालभित्रै भएको महत्वपूर्ण काममध्येमा यो पनि पर्छ ।

त्यस्तै, बढ्दो सहरीकरणसँगै बुटवल सहरलाई नै कुरूप बनाउने गरी टाँगिएका र छरिएका टेलिफोन, केबललगायत अव्यवस्थित रूपमा रहेका तार हटाउने काम अहिले धमाधम भइरहेको छ । यसले गर्दा अहिले बुटवलको मुहार नै फेरिएको छ ।

तार व्यवस्थापनसँगै सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने/भत्काउने काम अहिले द्रुत गतिमा भइरहेको छ । पाण्डेको उक्त कदमले मिचिएका सार्वजनिक जमिन अहिले उपमहानगरकै मातहतमा आएका छन् । साथै, अवैध रूपमा व्यक्तिका नाममा दर्ता भएका सार्वजनिक जग्गा पनि उपमहानगरकै मातहतमा फिर्ता ल्याउने काममा बुटवल तदारुकताका साथ लागेको छ ।

सहरको सौन्दर्यलाई भताभुंग पारेको अव्यवस्थित ठेला व्यवसाय तथा ई–रिक्सा र टेम्पोको व्यवस्थापनमा पनि उपमहानगरले ठुलै सफलता हात पारेको छ । यसका लागि सडक क्षेत्रमा अव्यवस्थित रूपमा रहेका ठेला व्यवसायलाई व्यवस्थित गर्न कार्यविधि नै बनाई काम सुरु गरिएको छ । त्यस्तै, इजाजत प्राप्त नगरेका ई–रिक्सा र टेम्पो सञ्चालनमा रोक लगाउँदै इजाजत प्राप्त भएका ई–रिक्सा र टेम्पोलाई नियमन तथा व्यवस्थापन गर्ने कार्य निरन्तर चलिरहेको छ ।

त्यस्ता व्यवसायहरूलाई लखेटेर भन्दा पनि व्यवस्थापन गरेर अघि बढ्ने उपमहानगरको योजना रहेको मेयर पाण्डे बताउँछन् । ‘हामी कसैको रोजीरोटी खोस्न चाहँदैनाँै, बुटवल सबैको हो । यहाँ व्यवसाय गरेर कमाउन जसले पनि पाउँछ । तर, व्यवस्थित भएर,’ पाण्डेले भने, ‘हामी लखेट्ने होइन व्यवस्थापन गर्ने दिशामा छौँ । यसमा सबैको सहयोग हामीलाई चाहिन्छ ।’

यसका लागि उपमहानगरले सडक पेटीमा लगाउँदै आएका हरेक खालका व्यवसायलाई व्यवस्थित गर्दै हाटबजारभित्र व्यवस्थापन गर्ने काम पनि गरिरहेको छ ।

यीबाहेक पनि पाण्डेको १६ महिने कार्यकालमा बुटवलमा भएका सकारात्मक पहलको ‘लिस्ट’ लामै छ । उज्यालो बुटवल अभियानअन्तर्गत उच्च क्षमताका (हाइमास्ट) लाइट जडान गर्ने, बुटवल–१५ मा आधुनिक कृषि बजार केन्द्र स्थापना गर्ने, बुटवल–१२ मा राष्ट्रिय सूचना केन्द्र तथा बुटवल–७ मा हरियाली बसपार्क निर्माण गर्ने काम पाण्डेकै नेतृत्वमा भएका सकारात्मक पहलमध्येका हुन् ।

त्यस्तै, बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन आरम्भ गर्ने, बुटवल–१५ मा कृषि विज्ञान (बिएससी–एजी) कलेज स्थापना गर्ने र अव्यवस्थित बसोबासी क्षेत्रमा जग्गा नापजाँच र लालपुर्जा वितरणजस्ता कार्य प्राथमिकताका साथ अहिले अघि बढेका छन् ।

बजेट भएन, कम गर्न पाइएन, विवाद र विरोध भयो भन्ने स्थानीय तहका नेतृत्वहरूका लागि सकरात्मक सोचका साथ काम गर्ने हो भने सम्भव छ भन्ने कुराका लागि पाण्डे अहिले उदाहरणीय पात्र बनेका छन् । सकारात्मक कदम, इच्छाशक्ति र जनतालाई साथमा लिएर अघि बढ्ने हो भने ‘विकास हाम्रै पालामा सम्भव छ’ भन्ने कुरालाई बुटवलका मेयर पाण्डेले छोटै समयमा पुष्टि गरिदिएका छन् ।