Logo

महन्थकी छोरीमाथि आक्रमणले निम्त्यायो नयाँ विवाद


काठमाडौं । तमलोपा अध्यक्ष महन्थ ठाकुरको भक्तपुर स्थित घरमा शुक्रबार रात आक्रमण भयो । उनकी छोरी मिनाक्षी घाइते भइन् । यो घटनाको विरोधमा तमलोपाले एउटा विज्ञप्ति जारी गर्यो । तर, त्यही विज्ञप्तिले सो पार्टीभित्र बवण्डर मच्चिएको छ ।

विज्ञप्ति जारी गरेका थिए नवनियुक्त प्रवक्ता विमल श्रीवास्तवले । अघिल्लो साता उनलाई अध्यक्ष ठाकुरले प्रवक्ता नियुक्त गरेकोमा पार्टीभित्र तिब्र असन्तुष्टि उत्पन्न भएको थियो । कोही पनि पत्रकार नचिनेका, केन्द्रीय राजनीतिको कुनै ज्ञान नभएका र प्रवक्ताको काम के हो भन्ने फिटिक्कै थाहा नभएकालाई प्रवक्ता बनाइयो भनेर आलोचना गरिएको थियो ।

उनै प्रवक्ताले आज अनौठो वान्कीको विज्ञप्ति जारी गरेका हुन् । उनले जारी गरेको विज्ञप्तिको भाषाशैली र त्यसमा उठाइएका कुरालाई लिएर सो पार्टीभित्र हस्यौली भइरहेको छ । तमलोपाका एक नेताले भने– ‘श्रीवास्तवले पार्टीलाई जोक्कर बनाउने भए ।’

विज्ञप्तिमा अनावश्यक रुपमा राजनीतिक कुरा उठाइएको छ । विज्ञप्तिमा सो घटनालाई ‘मधेशी, थारु, आदिवासी–जनजाति, दलित, मुस्लिमको नैसर्गिक अधिकारका लागि संघर्षरत नेताहरु बिरुद्ध असामाजिक तत्वहरुको प्रयोगको थालनीको संकेत’ भनिएको छ । चोरी डकैती गर्न गरिएको आक्रमणलाई राजनीतिक विषयसँग गासेर श्रीवास्तवले हास्यास्पद काम गरेको भनी सो पार्टीसँग केही पत्रकारहरुले सामाजिक संजालमा श्रीवास्तवको धज्जी उडाइरहेका छन् ।

विज्ञप्तिमा अझ हासो लाग्दो प्रसंग के छ भने घाइते भएकी महन्थकी छोरी मिनाक्षीको प्रशंसा गरिएको छ । विज्ञप्तिमा यस्तो उल्लेख छ– ‘डा. मिनाक्षी झाको साहसको प्रशंसा गर्दै वहाँको शिघ्र स्वास्थ्य लाभको पार्टी कामना गर्दछ ।’

पार्टीका केही केन्द्रीय सदस्यहरुले अब श्रीवास्तवलाई प्रवक्ताबाट हटाउन अभियान चलाइने बताएका छन् ।

बिना अर्थ साहसको कुरा निकालेर घाइते भएकी मिनाक्षीको झन अनादर गरिएको टिप्पणी एक पत्रकारले गरे ।

खासगरी मधेस विट हेर्ने संचारकर्मीहरुले श्रीवास्तवलाई प्रवक्ता बनाईंदा अचम्म मान्दै विरोध गरेका थिए । अहिले उनीहरुको भनाई छ– ‘हामीले जे भनेर यी प्रवक्ताको विरोध गरेका थियौं, उनी हामीले भनेजस्तै अयोग्य ठहरिए ।’

प्रतिक्रिया दिनुहोस्