Logo

महन्त ठाकुरकी छोरीमाथि छुरा प्रहार, गम्भीर घाइते


काठमाडौं । महन्त ठाकुरकी छोरी मिनाक्षी ठाकुरलाई आज राति छुरा प्रहार गरिएको छ । आफ्नै निवास भक्तपुरको सानो ठिमीमा मिनाक्षीलाई छुरा प्रहार गरी गम्भीर घाइते बनाइएको हो ।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्तकी उनी एकमात्र सन्तान हुन् । चिकित्सक पेसामा रहेकी ठाकुरलाई आफ्नै घरमा कालो मास्क लगाएर आएका अज्ञात व्यक्तिले छुरा प्रहार गरिएको पुष्टि विकास टाइम्ससँग भक्तपुरकी प्रहरी एसएसपी किरण वैद्यले गरिन् ।

सानो ठिमी स्थित घरको ढोका कसैले ढकढक गरेपछि खोल्दा ती कालो मास्कधारी अज्ञात पुरुष भित्र पसेका थिए । उसले मिनाक्षीको टाउकोमा ताकिताकी छुरा हानेको थियो । छुरा प्रहारबाट जोगिन खोज्दा मिनाक्षीको हातमा समेत ठूलो चोट लागेको छ ।

मिनाक्षीलाई तत्कालै काठमाडौंको नयाँ वानेश्वर स्थित एभरेष्ट नरसिंह होम पुराइएको थियो । त्यहाँ प्रारम्भिक उपचार गरेपछि उनलाई ग्राण्डी अस्पताल लगिएको छ । टाउकोमा गम्भीर चोट लागे पनि मिनाक्षीको स्वास्थ्य स्थिति खतरामुक्त रहेको बताइएको छ ।

आक्रमणकारीको पहिचान र आक्रमणको उदेश्य निकै रहस्यमय बनेको छ । आक्रमणकारीले मिनाक्षीका पिता महन्तको एउटा व्रिफकेस पनि लगेको थाहा भएकाे छ । प्रहरीले भक्तपुर क्षेत्रमा सुरक्षा जाँच अत्यन्त कडा पारेर अपराधीको खोजी गरिरहेको छ ।

घरमा साे घटना हुँदा अध्यक्ष ठाकुर भने प्रधानमन्त्री निवास बालुवाटारमा बैठकमा थिए । बैठक बसिरहेका बेला अध्यक्ष ठाकुरले घटनाको खबर पाएका थिए । त्यसपछि त्यहाँ उपस्थित उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि र ठाकुर एउटै गाडीमा अस्पताल पुगेका थिए ।

घटनाकाे उदेश्य मिनाक्षीमाथि अाक्रमण, लुट या अन्य के उद्देश्यले भएकाे हाे भन्ने बारे प्रहरीले छानविन गरिरहेकाे छ । अाक्रमणका बेला घरका सहयाेगी रमेश यादवलाई सामान्य चाेट लागेकाे थाहा भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्