दुधपोखरीका २८ घर पहिरोको उच्च जोखिममा, २ घर भत्कियो

दुधपोखरीका २८ घर पहिरोको उच्च जोखिममा, २ घर भत्कियो


लमजुङ ।

लगातारको वर्षाका कारण जिल्लाकै विकट गाँउ दुधपोखरीमा विभिन्न ठाउँमा पहिरोले क्षति पुर्‍याएको छ ।

पहिरोले दुधपोखरीका २ घर भत्काएको छ भने २८ घर उच्च जोखिममा परेका छन् ।

शनिबार र आइतबारको वर्षापछि पहिरो झर्दा दुधपोखरी गाँउपालिका २ भुम्लिचोकस्थित सानुमाया गुरुङ र जमुना गुरुङको घर पहिरोले भत्किएको छ । पहिरो जानसाथ घरमा भएका सानुमाया र जमुनाको परिवार भागेकाले मानवीय क्षति भने नभएको वडा अध्यक्ष अमर गुरुङले जानकारी दिए।

वडा अध्यक्ष गुरुङका अनुसार उक्त वडाकै विचौर जलकेनि स्थित सिता तामाङ, ठुलो ढुङगाका राजकुमार तामाङ र मिन बहादुर तामाङ, विचौर ठाँटीका कृष्ण प्रसाद दवाडीको घर उच्च जोखिममा परेको छ भने विचौर मरठाह गाँउका भिम गिरिको घरनजिकै जमिन भास्सिएका कारण रुख ढल्न जाँदा गिरीको भान्सा कोठामा क्षति पुगेको छ ।

त्यसैगरी दुधपोखरी– १ मा २२ घर पहिरोको उच्च जोखिममा परेका छन् । उक्त वडाका श्रीप्रसाद ढकालको गोठ पहिरोले भत्किएको छ भने गोठमा रहेको ३ वटा गाईलाई स्थानियद्धारा उदार गरिएको छ । ढकालको घर संगै अन्य ७ घर पनि उच्च जोखिममा परेको वडा अध्यक्ष दुर्गामान गुरुङले बताए ।

सोही वडामा मंगलबहादुर नेपालीको घर छेउमै पहिरो जाँदा उक्त घर संगै ७ घर जोखिम परको र घमरचौर दुरा गुरुङको भान्सा कोठा पहिरोले लाँदा घर पनि जोखिममा परेको छ । कल्लाबारीमा पहिरो जाँदा ६ घर जोखिमा परेका छन् ।

ठूलो भिरमा गएको पहिरोका कारण कल्लाबारी मावि र राम कृष्ण निमाविमा पठनपाठन प्रभावित भएको छ । विद्यालय सम्म पुग्ने बाटो नभएका कारण विद्यालयनै बन्द गरीएको स्थानियको भनाई छ ।