बाटाे पिच नहुँदा रारा पर्यटनमा असर

बाटाे पिच नहुँदा रारा पर्यटनमा असर


जुम्ला ।

आन्तरिक तथा बाह्य पर्यटनको रोजाइमा परेको मुगुस्थित रारा ताल जाने नाग्म-गमगढी सडक कालोपत्र नहुँदा पर्यटकलाई सास्ती भएको छ ।

यो ठुलो संख्यामा आन्तरिक पर्यटक रारा पुग्ने समय भएको तर नाग्म-गमगढी सडक कालोपत्र नहुँदा यात्रा असहज बनेको रारा राष्ट्रिय निकुञ्जका प्रमुख विश्वबाबु श्रेष्ठले जानकारी दिए ।

उक्त सडकखण्ड कालोपत्रका लागि बजेट विनियोजित नभएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । केन्द्र सरकारले यही जेठ १५ मा ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा सडकखण्ड प्रथामिकतामा परेको छैन ।

यो सडक स्तरोन्नति नहुँदा सवारी दुर्घटना भइरहेको छ । वर्षौँदेखि स्थानीय र पर्यटकले समेत सास्ती पाउँदा पनि बजेटमा यसले प्राथमिकता नपाउँदा स्थानीय असन्तुष्ट बनेको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

‘आगामी आवको बजेटमा नाग्म-सिञ्जा-गमगढी सडकमा रकम विनियोजन नहुनु दुःखको कुरा हो । जुम्ला र मुगुबाट प्रतिनिधित्व गर्नुहुने सांसदले यस विषयमा तत्काल अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै सशोधन प्रस्ताव दर्ता गर्नुपर्छ’, उनले भने ।

उनले संसदमा बोलेर मात्र नहुने भन्दै प्रभावकारी समन्वयको आवश्यकता रहेको बताए । ‘यो बाटोमा प्रदेश सरकारले बजेट छुट्याउँदैन । तर पनि रारा ताल जाने बाटो कालोपत्र गर्न सरकारको ध्यान गएको छैन,’ उनले भने, ‘पर्यटन प्रवर्द्धनमा लागेको सरकारले यसतर्फ ध्यान दिनु जरुरी छ ।’

कर्णाली राजमार्ग हुँदै नाग्म-गमगढी सडक भएर रारा ताल पुग्न सकिन्छ । यो सडक जुम्लाका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिका हुँदै रारा पुग्छ । सडक खुलेको लामो समय भइसक्दा पनि कालोपत्र नहुँदा हिउँदमा धुलाम्य र बर्खामा हिलाम्य हुने गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।