भारतले निलम्बन गर्यो क्यानडामा भिसा सेवा

भारतले निलम्बन गर्यो क्यानडामा भिसा सेवा


काठमाडौं ।

भारतले क्यानडामा जारी भिसा सेवालाई निलम्बन गरेको छ।

क्यानडा र भारतबीच बढ्दो तनावका कारण भारतले क्यानडामा रहेको भिसा सेवालाई तत्कालका लागि निलम्बन गरेको हो।

बिबीसीका अनुसार क्यानडाको भारतीय भिसा सेन्टरले आफ्नो वेबसाइटमा यस विषयमा जानकारी दिएको हो। वेबसाइटमा भारतीय मिशनको तर्फबाट जारी सूचनामा भनिएको छ, ‘२१ सेप्टेम्बर २०२३ देखि भारतीय भिसा सेवालाई नयाँ सूचना जारी नभएसम्मका लागि निलम्बन गरिएको छ।’

भारत र क्यानडाबीच पछिल्लो समय कुटनीतिक स्तरको विवाद चर्केको छ। क्यानडाले पहिले भारतीय कुटनितिज्ञलाई निस्कासित गरेको थियो। लगतै भारतले पनि क्यानेडियन कुटनितिज्ञलाई देश छोड्न उर्दी जारी गरेको थियो।

दुई देशबीच द्वन्द्व चर्किरहेका बेला भारत सरकारले क्यानडामा बस्ने भारतीय नागरिक र विद्यार्थीहरूका लागि ‘एड्भाइजरी’ समेत जारी गरेको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बुधबार ट्विटरमा यसबारे जानकारी गराएका थिए।

सिख मूलका क्यानडियन नागरिक हरदीप सिंह निज्जरको हत्यामा भारतीय सरकार संलग्न रहेको क्यानडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले दाबी गरेपछि भारत र क्यानडाबीच तीक्ततापूर्ण सम्बन्ध बनेको छ।

क्यानडाले भारतीय कूटनीतिज्ञलाई देशनिकाला गरेसँगै भारतले पनि एक क्यानडियन कूटनीतिज्ञलाई निकाला गरिसकेको छ।