दाइजोले लग्यो २३ वर्षीया निकिताको ज्यान, श्रीमान पक्राउ

दाइजोले लग्यो २३ वर्षीया निकिताको ज्यान, श्रीमान पक्राउ


सुनसरी ।

सुनसरीको इनरुवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका आधारमा भगतलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए।

विराटनगर महानगरपालिका-१७ मटेरुवाकी २३ वर्षीया चौधरीको हत्या गरेको आरोप भगत माथि छ।

उनले २१ महिना अगाडि विवाहका बेला चौधरीसँग ३२ लाख नगद, ८ तोला सुन, ९० तोला चाँदी र एक मोटरसाइकल दाइजोमा ल्याएका थिए। थप दाइजो नल्याएको भन्दै चौधरीको हत्या गरेको माइती पक्षको आरोप छ।

हत्या भएपछि भगतलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको छ।

थप दाइजो माग्दै दिदीको हत्या गरेको भन्दै मृतकका भाइ राकेशले कारवाही गर्न माग गरेको प्रहरीले जनाएको छ।

उनीहरूको ११ महिनाको छोरासमेत रहेको जनाइएको छ। माइती पक्षले नाबालक छोराको समेत जिउज्यानको सुरक्षा गरिदिन प्रहरीसमक्ष आग्रह गरेको छ।