टेलिकमका हाकिम ३ दिनदेखि बेपत्ता, शनिबारदेखि नै फाेन ‘स्विच्ड अफ’

टेलिकमका हाकिम ३ दिनदेखि बेपत्ता, शनिबारदेखि नै फाेन ‘स्विच्ड अफ’


झापा ।

नेपाल टेलिकम सुरुंगाका प्रमुख दिलीप सुवेदी ३ दिनदेखि सम्पर्कविहीन भएपछि परिवारले खोजतलास गरिदिन सबैमा आग्रह गरेका छन् ।

कन्काई नगरपालिका ३, सुरुंगाको नयाँबस्तीस्थित क्वार्टरबाट छैटौँ तहका अधिकृत रहेका ३१ वर्षीय सुवेदी गत शनिबार (३० भदौ) बिहान करिब ९ बजेदेखि सम्पर्कविहीन भएका उनकी श्रीमती ब्रजुना भट्टराई सुवेदीले बताएकी छिन् ।

दिलीपको खोजी कार्य इलाका प्रहरी कार्यालय बिर्तामोडले गरिरहेको भए पनि श्रीमती ब्रजुनाले खोजी गरिदिन सबैमा आग्रह गरेकी हुन् ।

ब्रजुनाका अनुसार शनिबार बिहान ८ बजेर ४० मिनेटमा फोनमा अन्तिमपटक कुराकानी भएको र त्यसपछि सम्पर्क हुन नसकेको हो । सोही दिन शनिबार मध्यान्ह १२ तिर फोन गर्दा दिलीपको मोबाइल नै स्विच अफ भएको उनले जानकारी दिइन् ।

मोरङको विराटनगर महानरपालिका–४ राजवंशी चौकमा स्थायी घर भएका सुवेदी टेलिकमले उपलब्ध गराएको क्वार्टरमा बस्दै आएका थिए ।