मिटरब्याजीले कब्जा गरेकाे जग्गा पीडितलाई फिर्ता

मिटरब्याजीले कब्जा गरेकाे जग्गा पीडितलाई फिर्ता


चितवन ।

मिटरब्याजीले लिएको ७ कठ्ठा साढे १३ धुर जग्गा छलफलबाट पीडितलाई फिर्ता गरिएको छ । भरतपुर महानगरपालिका–४ निवासी पीडितको जग्गा भरतपुर –२ निवासी पीडकले फिर्ता गर्ने सहमति गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयमा अनुचित लेदनेद (मिटरब्याजी) विरुद्ध परेका उजुरीमध्ये उनीहरूले जग्गा फिर्ता गर्ने र कानुनबमोजिम ब्याजसहित रकम फिर्ता गर्ने सहमति भएको हो ।

कार्यालयका नायबसुब्बा विश्वास श्रेष्ठका अनुसार निवेदकले २०७२ सालमा १ करोड ५० लाख र ४ स्थानका ५ वटा कित्ताको जग्गा लेनदेन गरेका थिए । उनका अनुसार पहिलो ३ महिनामा पीडितले १ करोड २० लाख रकम फिर्ता गर्ने र पीडकले ६ कठ्ठा साढे १३ धुर जग्गा फिर्ता गर्ने सहमति भएको छ ।

दोस्रो चरणमा पीडकले सहमति भएको ६ महिनाभित्र बाँकी रहेको ३० लाख र कानुनअनुसारको ब्याज रकम भुक्तानी गरेमा बाँकी १ कठ्ठा जग्गा फिर्ता गर्ने सहमति भएको छ ।

दुवै पक्षले सहमति कार्यान्वयनमा आएको जानकारी स्थानीय प्रशासनलाई दिनुपर्ने छ । यसअघि कार्यालयले पूर्वी चितवनका एकजना पीडितको २ कठ्ठा जग्गा छलफलमार्फत फिर्ता गराइएको थियो ।

कार्यालयमा २०८० वैशाख १९ देखि जेठ १४ गतेसम्म ६० वटा र जेठ १७ देखि भदौ ३१ गतेसम्म २७ वटा अनुचित लेनदेनका उजुरी परेका थिए । जसमध्ये २१ वटा उजुरीको छलफलमार्फत सहमतिमा टुंगाे लगाइएको उनले जानकारी दिए । अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेपछि ८७ वटा उजुरी परेका छन् ।

परेका उजुरीमध्ये अधिकांश जग्गाको कारोबारका छन् । पीडितले दृष्टिबन्धक भनेर दिएको जग्गा पीडकले नामसारी गरेर लिएको भन्दै उजुरी परेको उनले बताए । अधिकांशले जग्गा फिर्ता गरिदिन निवेदन दिएका छन् ।