new

हेल्लो कांग्रेस नेताहरु, बेहालमा पूर्णविराम नलगाउने ?

Published Date: September 26, 2017

शिव लम्साल, प्रदेश नम्बर दुईको चुनाव परिणामले अनेक राजनीतिक प्रश्न जन्माएको छ । यसले सबै पार्टीभित्र तरंग ल्याइदिएको छ । किन पाँचौं भइयो ? एमालेले जवाफ खोजिरहेको छ । किन संघीय फोरमभन्दा पछाडि परियो ? राजपाभित्र प्रश्न उठिरहेको छ । प्रदेश दुईमा कांग्रेस पहिलो पार्टी बन्यो तैपनि कांग्रेसभित्र अनेक प्रश्न उठिरहेको छ । प्रश्न सबैसँग छ तर जवाफ बाहिर छैन, पार्टीभित्रै खोज्नुपर्छ ।

यहाँ चर्चा गर्न लागिएको नेपाली कांग्रेसको सम्बन्धमा हो ।

प्रदेश दुईमा हामी एक नम्बर पार्टी भयौं भन्दै एकथरी कांग्रेस नेताहरुले फुर्ति लाएजस्तो गरिरहेका छन् तर तिनको मनोविज्ञान भने फुर्तिलो देखिँदैन । जित्न त जित्यौं तर बेहाल पनि भयौं भन्ने भाव सबै कांग्रेसजनमा देखिन्छ ।

प्रदेश दुईमा एमाले ओरालो लागेको र मधेसवादीहरु फुटेको बेला कांग्रेसले जित्नुपर्ने यति मात्र हो ? १३६ स्थानीय तहमध्ये कांग्रेसले जति जितेको छ, त्यो हेर्दा कांग्रेसले जित्यो भन्न मिल्दैन । अधिकांश कांग्रेसजन यसमा सहमत देखिन्छन् । चुनाव अगाडि ७० देखि असी सिटसम्म जित्ने आकलन कांग्रेस केन्द्रका नेताहरुको मुखबाट सुन्न पाइन्थ्यो तर परिणाम आधामा सीमित भयो । आखिर कांग्रेसले किन सोचेजस्तो सफलता पाउन सकेन ? यो प्रश्नको जवाफ खोज्न सकेन भने कांग्रेसले आउँदा केन्द्रीय र प्रादेशिक चुनावमा पनि आफैभित्रबाट धोका खानेछ ।

कांग्रेस अन्तर्घातका कारण हारेको धारणा नयाँ होइन । जहाँ कांग्रेस उम्मेदवार हुन्छन् त्यहाँ अन्तर्घात हुन्छ, यो कुरा सबैलाई थाहा छ । कांग्रेस उम्मेदवारले अन्तर्घातलाई पनि चिरेर जित्नुपर्ने विडम्बना दुई नम्बर प्रदेशमा मात्र नभएर सबैतिर रहेको छ । त्यसैले अन्तर्घात एउटा कारणले कांग्रेसले दुई नम्बर प्रदेशमा अपेक्षित नतिजा ल्याएन भन्न मिल्दैन ।

कांग्रेसले न्यूनतम आधा स्थानीय तहमा जित्नैपथर््यो, यसो भएको भए मात्र कांग्रेस सफल भएको मान्न सकिन्थ्यो । कांग्रेसको असफलताको कारण कांग्रेसभित्रै खोज्नुपर्छ । कांग्रेसले टिकट वितरणमा न्याय गर्न सकेन भन्ने प्रष्टै छ । हुनत कांग्रेसले न्यायिक ढंगले टिकट वितरण नगरेको यो पहिलो प्रकरण भने होइन । तथापि दुई नम्बरमा टिकट वितरणमा अति नै वेथिति रहेको थियो । टिकट वितरण होइन विक्री नै भएको आरोप समेत जिम्मेवार नेताहरुले लगाइरहेका छन् । यो आरोपलाई सामान्य रुपमा लिइनुहुन्न ।

त्यसैगरी राम्रोलाई होइन हाम्रोलाई टिकट दिइनाले यो अवस्था आयो । बास्तवमा दुई नम्बरमा नेपाली कांग्रेसले नभएर नेपाली कांग्रेसको गुटले चुनाव लडेको अवस्था पनि धेरै हदसम्म देखियो । टिकट वितरणमा एउटा पक्ष पूरै हावी भयो । खासगरी नेता विमलेन्द्र निधीको नेतृत्वमा रहेको समिति टिकट वितरणमा हावी भयो । निधीले एकलौटी ढंगले टिकट वितरण गरेको आरोप छ । राजनीतिक दल भनेको विभिन्न स्वार्थ, विचार, पक्ष तथा तह तप्काहरुको गठजोड हो ।

यसमा एउटा पक्ष हावी हुँदा परिणाम सोचेजस्तो आउँदैन भन्ने बुझ्नुपर्छ । कांग्रेस नेतृत्वले यो कुरा बुझ्न सकेन ।

एकपक्षीय रुपमा टिकट वितरण हुँदा पार्टी महामन्त्री शशांक कोइराला मौन बसे, यो उनको ठूलो कमजोरी थियो । जसले टिकट पाए पनि कांग्रेस नै हुन् भन्ने ढंगले उनले व्यवहार गरे । तर, टिकट पाउनेले कांग्रेसलाई कति योगदान दिन सक्छन्, कांग्रेसलाई विजय दिलाउन सक्छन् कि सक्दैनन् भन्ने चाहिँ बिर्सिए । महामन्त्री शशांक तथा मधेस बुझेका तथा मधेसी जनताको दिलमा बसेको भनेर कहलिएका नेता शेखर कोइरालाले आफ्नो उर्जा टिकट वितरणबाट उत्पन्न असन्तुष्टि नियन्त्रण गर्नमै धेरै खर्च गरे । उनीहरुको यो उर्जा चुनाव प्रचारमा लगाउन सकेको भए परिणाम अवश्य फरक पर्ने थियो ।

चुनावमा कांग्रेसले दुई नम्बर प्रदेशका केही ठाउँमा ठूला आमसभा गर्यो, ती आमसभा ठूला चाहिँ हुन सकेनन्, जनताको उपस्थिति सन्तोषजनक थिएन । यो देखेपछि कांग्रेसले रणनीति परिवर्तन गर्नुपर्ने थियो, अझ शशक्त बन्न प्रयाश गर्नुपर्ने थियो । त्यो गरिएन । कांग्रेसले अन्य ६ प्रदेशमा सबै नेताहरुको आपसी सल्लाहमा टिकट वितरण गर्यो तर दुई नम्बर प्रदेशमा कसले कसरी र किन टिकट पायो भन्ने मुख्य नेताहरुले नै थाहा पाएनन् ।

मधेस तथा मधेसी समुदायको अधिकार र दुई नम्बर प्रदेशको भलाईका लागि सबैभन्दा वस्तुनिष्ठ विचार कांग्रेस नेताहरुले नै राखेका थिए, कांग्रेसले नै राखेको थियो । तर, कांग्रेस कहिले मधेसवादीको पुच्छर जस्तो देखियो, कहिले चाहिँ एमालेसँग मिलेको जस्तो देखियो । मधेसमा कांग्रेसको गहिरो पकड छ भन्ने बुझेका माओवादी र मधेसवादीहरुले कांग्रेससँगै मिलेर कांग्रेसलाई सिध्याउन कुनै कसर बाँकी राखेनन्, उनीहरुबाट बचेर अगाडि बढ्ने स्पष्ट रणनीति र दृष्टिकोण कांग्रेससँग भएन ।

माओवादीले सरकारमा बसेर चुनाव लड्यो, सरकारमा बसेर चुनाव लड्नुको लाभ माओवादीले उठायो । यस्तै लाभ २०५४ सालमा भएको स्थानीय चुनावमा एमालेले उठाएको थियो । त्यसबेलाका गृहमन्त्री बामदेव गौतमले राज्यका यावत साधन स्रोत उपयोग गरेर एमालेलाई चुनाव जिताएका थिए । अहिले माओवादीले त्यही काम गर्यो । कांग्रेसका मन्त्रीहरु चुनावमा कांग्रेसलाई जिताउन लाग्दै लागेनन् भने पनि हुन्छ । जनताले र कांग्रेस कार्यकर्ताले नेपाली कांग्रेस सरकारमा रहेको अनुभुति गर्न नै पाएनन् । कांग्रेसको ढाडमा टेकेर माओवादीले ठूलो चुनावी सफलता हात पारेको छ । मधेसवादीले पनि कांग्रेसलाई नै उपयोग गर्यो । तर, कांग्रेसले आफैलाई उपयोग गर्न सकेन, आफ्ना नेताहरुलाई उपयोग गर्न सकेन । शेखर कोइराला, प्रदिप गिरी, विश्वप्रकाश शर्मा जस्ता मधेस मुद्दाका प्रखर व्यक्तित्वहरुलाई स्थानीय चुनावमा सर्वत्र दुई नम्बर प्रदेशमा उतार्न कांग्रेसले किन सकेन ? यो प्रश्नको जवाफ खोज्न कांग्रेसले सक्नुपर्छ ।

दुई नम्बर प्रदेशमा कांग्रेसले चुनाव जित्नलाई होइन सहभागिताका लागि मात्र आफूलाई उभ्याए झैं गर्यो । यो प्रदेशमा कांग्रेस रक्षात्मक हुन आवश्यक नै थिएन । चुनाव हुनु एमाले, माओवादी र मधेसवादीको विचार तथा दृष्टिकोणको पराजय थियो, कांग्रेसको वैचारिक विजय थियो । यी सबै अतिवादी शक्तिहरुलाई चुनावी मैदानमा कांग्रेसले नै ल्याएको थियो तर त्यसको जस लिन सकेन । कारण के ? कारण हो नेताहरुको अकर्मण्यता, गुटपरस्त व्यवहार, आफ्नालाई च्याप्ने प्रवृत्ति, असहयोगी भावना, अरुले गरिहाल्छन्, मै किन अगाडि सर्नु भन्ने प्रवृत्तिले यस्तो भयो ।

दुई नम्बर प्रदेशमा कांग्रेस एक नम्बर भएर पनि पराजित भयो । तर, सुधार गर्यो भने कांग्रेसले आगामी केन्द्र र प्रदेशको चुनावमा दुई नम्बर प्रदेशमा मात्र नभएर अन्य प्रदेशमा पनि बाजी मार्न सक्छ भन्ने स्पष्ट आधार देखियो । यसका लागि कांग्रेस सुध्रनुपर्यो । कांग्रेस सुध्रनु भनेको यसका नेताहरु सुध्रनु पर्यो । अरु नेताहरुले आफूलाई परिवर्तन गरेर त्यसको न्यून प्रभाव मात्र पर्छ, पार्टी सभापति शेरबहादुर देउवा स्वयं फेरिनुपर्यो । शशांक कोइराला र रामचन्द्र पौडेलहरुले पनि देउवालाई एकलौटी गर्न दिनु भएन, कांग्रेसको विजोगमा तमासा हेरेर बस्न भएन । पार्टी माथिबाट सुध्रनुपर्छ, माथि भनेको मूल हो, मूल धमिलो हुन भएन, मूल धमिलो भयो भने के हुन्छ, अनि मूलमा धमिलो प्रवृत्ति हावी भयो भने के हुन्छ भन्ने दर्दनाक दृष्य कांग्रेसले दुई नम्बर प्रदेशमा देखिसक्यो, देखाइसक्यो । अब कांग्रेसको बेहालमा यहिँ पूर्ण विराम लाग्नुपर्छ ।

तर बेहालमा पूर्ण विराम कसले लगाउने ?

लोकप्रिय