new

मधेशको निर्वाचनमा कांग्रेसको नियति

Published Date: September 22, 2017

राजनीतिको निकै उतार चढावपछि बहुप्रतिक्षित प्रदेश नम्बर दुईको निर्वाचन सम्पन्न भएको छ र यसको प्रारम्भिक परिणाम आउन थालिसकेको छ । यस निर्वाचनको सन्दर्भमा अन्य राजनीतिक दलका आफ्नाआफ्नै दावी थिए । परिणामका सम्बन्धमा नेपाली कांग्रेसको पनि आफ्नैखाले दावी थियो । कांग्रेसका शीर्ष नेताले प्रदेशको दुईका एक सय ३६ स्थानीय तहमध्ये कम्तिमा एक सय स्थानमा जितेर स्थानीय स्तरमा देशमा पहिलो पार्टी बन्ने दावी गरेको थियो । विगतमा दुई चरणमा छ वटा प्रदेशमा सम्पन्न स्थानीय तहको निर्वाचनमा करिव पचासको संख्याले नेकपा एमालेभन्दा पछि परेको कांग्रेसले एमालेसँगको यो दुरी अन्त्य गर्दे उछिन्ने उद्घोष गरेको थियो । तर हालसम्मको मत परिणामको विश्लेषण गर्दा कांग्रेसको यो दावी पुरा नहुने करिवकरिव निश्चित छ । मतपरिणामको रुझान यही रहने हो भने कांग्रेस अधिकतम ६० स्थानमा सीमित हुन पुग्नेछ । कांग्रेसले यही अंक प्राप्त गरेछ भने पनि यो उसले दावी गरेको भन्दा ४० अंक अर्थात् चालिस प्रतिशत नै कम हो । निर्वाचनको पूर्वसन्धयासम्म कांग्रेसको पक्षमा जनउभार अनुभव गरिएको पृष्ठभूमीमा कांग्र्ेसले किन अपेक्षित परिणाम निकाल्न सकेन ? अहिले धेरैका लागि यो चासोको विषय बनेको छ । यसका पछाडी धेरै कारण जिम्मेबार रहेको मान्न सकिन्छ ।
संसदमा पहिलो पार्टीको हैसियतमा रहेको कांग्रेसले यस प्रदेशको निर्वाचन अघोषितरुपमा नेपाली कांग्रेसका प्रभावशाली नेता पूर्व प्रधानमन्त्री, पार्टीका पूर्व महामन्त्री र हालका वहालवाला केन्द्रिय सदस्य विमलेन्द्र निधिको नेतृत्वमा लडेको कुरामा विमति छैन । निधिलाई सघाउन सरकारका वहालवाला दुई मन्त्री रामकृष्ण यादव र महेन्द्र यादव उपलब्ध थिए ।  रामकृष्ण आफ्नै निर्वाचन क्षेत्रमा मात्र सीमित रहे । महेन्द्र यादव भने आफ्नो गाउँपालिका लक्ष्मिनियाँमा मात्र देखा परे । निर्वाचनभन्दा केही समयअघिमात्र मन्त्री बनाइएका यी दुवै अनुहार एकै जिल्लाका एकै समुदायका भएका कारण अन्य समुदाय र जिल्लावासी रुष्ट भएको चर्चा पनि यतिखेर यस प्रदेशमा व्याप्त छ । यी दुबैजनालाई मन्त्री बनाइँदा यी समुदाय प्रभावित भई त्यसको लाभ कांग्रेसलाई मिल्न सक्ने आँकलन गरिएको थियो तर हालसम्मको परिणामले त्यस्तो लाभ मिलेको आभाष हुन सकेन ।
हालसम्मको मत परिणामको विश्लेषण गर्ने हो भने नेपाली कांग्रेस साँच्चै सकसमा पर्ने देखिएको छ । अहिलेसम्मको मतगणनाको प्रवृत्तिअनुसार कांग्रेस पहिलो अवस्थामै रहने संकेत देखा परेको छ तर यो परिणाम उसले आँकलन गरेकोभन्दा निकै निराशाजनक हो । यो परिणामले एमालेसँगको दुरीलाई उल्लेख्यरुपमा अन्त्य त गर्न सक्ने छैन नै मधेशमै पनि उसका लागि संकुचनको अवस्था सिर्जना गरेको निष्कर्ष निकाल्ने प्रयत्न गरियो भने त्यसलाई असान्दर्भिक मान्न मिल्दैन । मधेशलाई आफ्नो जन्मस्थान र आधार क्षेत्रका रुपमा परिभाषित गर्दै आएको कांग्रेसका लागि यसपटकको प्रदर्शनले एकैपटक धेरै कुरातर्फ सोच्न बाध्य बनाएको छ ।
कांग्रेस अवस्था अनुकूल छ भन्ने आत्मरतिमा लीन हुनु, विपक्षीको रणनीतिबारे अनभिज्ञ रहनु, मतदाताको मनोदशाको अध्ययन गर्न नसक्नु, मधेश मानसिकतालाई कम आँकलन गर्नु, चुनावी रणनीति तयार गर्न नसक्नु, समन्वयको अभाव देखिनु (उममेदवार—मतदाता, उम्मेदवार—प्रचारक, उम्मेदार—नेता), चुनावी नेतृत्व स्पष्ट ढंंगले कसैले नगर्नु, उम्मेदवारहरु एक्लाएक्लैझैंको अवस्थामा प्रतिस्पर्धामा होमिनु, प्रमुख नेताहरु आप्नो क्षेत्र र स्थानीय तहहमा मात्र सीमित हुनु, शीर्ष नेताको उपस्थितिलाई उचित ढंगले उपयोग गर्न नसक्नु, मुद्दाविहीनझैं प्रस्तुत् हुनु, निर्वाचनमा पार्टीको गुटको प्रभाव अनभूत गरिनु, असहयोग र अन्तर्घातले स्थान पाउनुजस्ता केही यस्ता कारण थिए जसका आधारमा काग्रेसले अपेक्षित् प्रदर्शन गर्न सकेन ।
यसका अतिरिक्त कांग्रेसको स्थानीय नेतृत्व पनि सशक्त र इमानदार ढंगले प्रस्तुत् हुन नसकेको चर्चा व्यापक छ । यतिमात्र होइन कतिपय सन्दर्भमा विभिन्न स्तरमा आर्थिक लेनदेनका आधारमा उम्मेदवार तय गरिएको आरोप पनि लगाइने गरिएको छ । स्थानीय नेतृत्वका नजिकका आफन्त र नातेदारलाई उम्मेदवार बनाइएको आरोपलाई नेताहरुले खण्डन गर्न सकेका छैनन् । उम्मेदवार चयनका लागि कुनै स्पष्ट र पारदर्शी मापदण्ड नहुँदा हचुवा, मनपरि ढंगले आफ्ना नजिकका लाई उम्मेदवार बनाइएको थियो । कांग्रेसका केन्द्रीय कोषध्यक्षका छोरा, पूर्व कोषध्यक्षका आफन्त, सांसद्का नातेदार, जिल्ला सभापतिका भतिजो, सभापतिका दाजु, सभापतिका सालाकी एनजिओकर्मी श्रीमति, सांसदका स्वकीय सचिवकी पत्नी यस्ता केही उम्मेदवार थिए जसले नाता र पहुँचका आधारमा मात्र अवसर पाएका थिए । यी केही उदाहरणमात्र हुन्, खोजी गर्दै गए यो सूची लामो बन्न सक्छ । उम्मेदवारको योग्यता नै धन, सम्बन्ध, नाता, पहुँच बन्न पुगेको अवस्थामा योग्य, सक्षम, त्यागी, निष्ठावान, विचारप्रति आस्थावानहरु त ओझेलमा पर्ने नै भए । यस्ता संघर्षशील त्यागीलाई पन्छाएर असान्दर्भिक व्यक्तिहरुलाई अवसर प्रदान गरिँदा त्यसको सोझो असर मतदातामाथि पर्न गएको सत्यलाई अस्वीकार गर्न सकिँदैन ।
यी केही यस्ता गम्भीर आरोप हुन्, जसको प्रतिकार गर्न नसक्दा कांग्रेसको अवस्था अनुमान गरिएअनुसारको सुदृढ हुन सकेन । यस अवस्थामा कांग्रेसले आफ्नाबारेमा सोच्नु अपरिहार्य छ । मुलुकको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो लोकतन्त्रवादी दल आफ्नै आधारक्षेत्रमा खुम्चिनुपर्ने अवस्था आउनु निश्चय पनि प्रियकर अवस्था होइन । कांग्रेस शीर्ष नेतृत्वले यी सबै आरोपका सम्बन्धमा खोजी नीति गर्नु जरुरी छ र दोषीलाई अनुशासनात्मक कार्यवाहीको दायरामा ल्याउनु अपरिहार्य छ । यसपछिमात्र प्रदेशसभा र संसदको निर्वाचनमा औपचारिकरुपले जुट्दा सकारात्मक परिणामको अपेक्षा गर्न सकिन्छ । कांग्रेस नेतृत्व जतिसक्दो छिटो यसप्रति गम्भीर भई आगामी रणनीतिमा जुट्नु अपेक्षित छ ।

लोकप्रिय