खच्चडलाई बोकाएर ६७ क्विन्टल चामल सिर्दीबास डिपोमा पुर्याइयो

खच्चडलाई बोकाएर ६७ क्विन्टल चामल सिर्दीबास डिपोमा पुर्याइयो


गोरखा ।

उत्तरी गोरखाको सिर्दीबास डिपोमा खच्चडबाट ढुवानी गरेर बिक्रीका लागि ढुवानी अनुदानको चामल पु-याइएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि सिर्दीबास डिपोका लागि चामल ढुवानी गर्न थालेको कार्यालयका सूचना अधिकारी शिव सुनारले जानकारी दिए ।

‘सदरमुकामस्थित कम्पनीको शाखा कार्यालयबाट दोभानसम्म मिनिट्रक र दोभानबाट सिर्दीबास डिपोसम्म खच्चडले ढुवानी गर्न थालेको छ’, उनले भने, ‘सिर्दीबास डिपोमा चामल ढुवानीका लागि दूधपोखरी निर्माण सेवासँग कम्पनीले ठेक्का सम्झौता गरेको छ ।’ चालु आवका लागि अहिलेसम्म ६७ क्विन्टल चामल सिर्दीबास डिपोमा पुर्‍याइ सकिएको सूचना अधिकारी सुनारले जानकारी दिए ।

कम्पनीले चालु आवमा सिर्दीबास डिपोका लागि एक हजार क्विन्टल, माछाखोला डिपो, नामरुङ बिक्री केन्द्र र चुम्लिङ बिक्री केन्द्रका लागि पाँच/पाँच सय क्विन्टल चामलको ढुवानी कोटा निर्धारण गरेको छ ।

‘सिर्दीबासमा चालु आवमा पहिलोपटक चामल पु-याइएको हो’, उनले भने, ‘पहिलो लटमा सिर्दीबास डिपोका लागि ६७ क्विन्टल स्टिम जिरा मसिनो चामल पु-याइएको हो ।’ कम्पनीले गोरखा बजारदेखि सिर्दीबास डिपो र नाम्रुङ बिक्री केन्द्रको लागि चामल ढुवानी गर्न दूधपोखरी निर्माण सेवा एण्ड सप्लायर्ससँग ठेक्का सम्झौता गरेको छ भने चुम्लिङ बिक्री केन्द्र र माछाखोला डिपोका लागि लिलिएन घले कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरेको उनले जानकारी दिए ।

विकटमा रहेको खाद्य डिपो र बिक्री केन्द्रमा समयमै चामल पु-याउनका लागि छिट्टै ढुवानी गर्न सुरु गरिएको सूचना अधिकारी सुनारको भनाइ छ । खाद्य कम्पनीले सिर्दीबास डिपोबाट बिक्रीका लागि सोना मन्सुली चामल प्रतिकिलो रु ५६, स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ८८ मा मूल्य निर्धारण गरेको छ ।

त्यस्तै माछाखोला डिपोबाट बिक्रीका लागि सोना मन्सुली चामल प्रतिकिलो रु ५४, स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ८८ र नामरुङ बिक्री केन्द्रबाट सोना मन्सुली चामल प्रतिकिलो रु ६५, स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ९१ मूल्य तोकेको छ ।

चुम्लिङमा रहेको बिक्री केन्द्रबाट सोना मन्सुली चामल प्रतिकिलो रु ६५ र स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ९० मा बिक्री गर्ने गरी मूल्य निर्धारण भएको कम्पनीले जनाएको छ । कम्पनीले नामरुङ र चुम्लिङ बिक्री केन्द्रमा पनि तत्कालै चामल ढुवानी गर्नका लागि ठेकेदार कम्पनीसँग छलफल गरिरहेको सूचना अधिकारी सुनारले बताए ।