२४ घण्टा नटिक्ने हरिपूर्वामा नयाँ प्रशासकीय अधिकृत तोकिए

२४ घण्टा नटिक्ने हरिपूर्वामा नयाँ प्रशासकीय अधिकृत तोकिए


सर्लाही ।

हरिपूर्वा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत तोकिएका छन् ।

१८ असोजमा हाजिर भएको २४ घण्टामै शम्भुप्रसाद यादवको जिम्मेवारी खोसिएपछि हरिपूर्वामा प्रमुख प्रशासकीय अधिकृत पद खाली थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हाल शंकरापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका उपसचिव बासुदेव खनाललाई हरिपूर्वामा सरुवा गरेको हो ।

खनालको नियुक्तिपछि हरिपूर्वा नगरपालिकाका मेयर राजकुमार साह काठमाडौं आएका छन् । उनले खनाललाई लैजान काठमाडौं आएको बताएका छन् ।

तर, नियुक्ति पाएका खनाल भने चीन भ्रमणमा रहेको र ४ दिन बाटोको म्यादसहित २१ दिनभित्र नगरपालिकामा हाजिर हुने जानकारी सामान्य प्रशासन मन्त्रालयले दिएको छ ।

खनाल सम्पर्कमा नआएकाले फेरि प्रमुख प्रशासकीय अधिकृतको समस्या हल नहुने देखिएको मेरयरको सचिवालयले जनाएको छ ।

लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा हरिपूर्वाले चालु आर्थिक वर्ष २०८०/८१को नीति तथा कार्यक्रम र बजेट नै ल्याउन सकेको छैन । शिक्षकहरुले तलब नपाएपछि आन्दोलन सुरु गरेका छन् । विकासको काम पनि ठप्प छ ।

प्रमुख प्रशासकीय अधिकृतको खटनमा राजनीति हाबी हुँदा नगरपालिकाको सेवा प्रवाह नै ठप्प बन्न पुगेको छ ।

यसअघि यादवलाई १४ वैशाखमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काजमा खटाएको थियो । त्यसबेला हाजिर भएको एक घण्टामै उनको सरुवा भएको थियो ।