युगान्डाले पहिलो पटक टी–२० विश्वकप खेल्ने

युगान्डाले पहिलो पटक टी–२० विश्वकप खेल्ने


काठमाडौं ।

युगान्डाले पहिलो पटक आइसिसी टी–२० विश्वकप खेल्ने भएको छ।

आइसिसी विश्वकप २०२४ को अफ्रिका छनोटमा शीर्ष दुईमा परेसँगै युगान्डा पहिलो पटक विश्वकपका लागि छनोट भएको हो।

आजको भएको समूहको अन्तिम तथा निर्णायक खेलमा युगान्डाले रावान्डालाई ९ विकेटले हराउन सफल भयो।

छनोटमा युगान्डाले आफूले खेलेका ६ मध्ये ५ खेलमा जित निकाल्यो।

यता आइसिसी स्थायी सदस्य जिम्बावे भने टी-२० विश्वकप २०२४ का लागि छनोट हुन असफल भयो। खेलेका ६ मध्ये जिम्बावे ४ खेलमा जित निकाल्दा २ खेलमा पराजित भएको थियो। जिम्बावेलाई नामिबिया र युगान्डाले पराजित गरेका थिए।

नामिबियासँग पराजित भएको युगान्डाका लागि समूह चरणमा जिम्बावेलाई हराउनु नै विश्वकपमा स्थान पक्का गर्ने आधार बन्यो।

नामिबिया भने अन्तिम खेलअघि विश्वकपमा छनोट भएको थियो।

छनोटमा युगान्डा र नामिबियासँगै जिम्बावे, केन्या, नाइजेरिया, रावान्डा र तान्जानियाले खेलेका थिए।

सात मध्ये शीर्ष दुई टिम बन्दै युगान्डा र नामिबिया आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट भएका हुन्।

अफ्रिका छनोट सकिएपछि विश्वकपमा खेल्ने सबै २० टिमको टुंगो लागेको छ। यसअघि एसिया छनोटबाट नेपाल र ओमानले विश्वकपमा स्थान पक्का गरेका थिए।