new

१५ करोडको बन्दागोभी बारीमै कुहियो

Published Date: August 8, 2017

तेह्रथुम : किसानले लगाएको बन्दागोभी बारीमै कुहिन थालेको छ । गाँठे रोगको संक्रमणका कारण बन्दागोभी बारीमै कुहिन थालेको हो ।

बारीबाट टिपेर बिक्रीका लागि पठाएको बन्दागोभी समेत बाटोमै कुहिएपछि व्यापारीले किसानबाट खरिद गर्न छाडेका छन् । बन्दागोभी बारीमै कुहिन थालेपछि किसान चिन्तामा परेका छन् ।

सिधुवा कृषि भण्डारका बजार प्रमुख मेघेन्द्र गुरुङका अनुसार एक सातायता करिब १५ करोड रुपैयाँ बराबरको बन्दागोभी कुहिएको छ । “बन्दागोभीमा रोगको संक्रमण छ, टिपेर बेच्न लैजाँदा पनि गाडीमै कुहिन थालेको छ,” उनले भने ।

तीन वर्षअघि समेत यस क्षेत्रमा बन्दागोभीमा गाँठे रोगको प्रकोप देखिएको थियो ।

शुरुमा बन्दागोभीमा मात्रै देखिएको सो रोग अहिले अन्य बालीमा समेत फैलिएको छ । काउली, रायो, ब्रोकाउली, तोरी, चम्सुर, सलगम लगायतमा गाँठे रोग फैलिएको छ । छथर गाउँपालिका र लालीगुराँस नगरपालिकाका विभिन्न ठाउँमा सो रोग देखापरेको छ ।

बन्दागोभीकै आम्दानीबाट यहाँका किसानको घरखर्च जुटाउँछन् । अरु अन्नबालीको खेती छाडेर उनीहरुले बन्दागोभीको व्यावसायिक खेती गर्दैआएका छन् ।

किसानबाट खरिद गरेको बन्दागोभी दुई दिनमै कुहिएर नष्ट हुन थालेपछि व्यापार ठप्प भएको धरानका व्यापारी शिवचन्द्र चौधरीले बताए। उनका अनुसार यस वर्ष तेह्रथुम र धनकुटाबाट खरिद गरेको बन्दागोभी धरान नपु¥याउँदै कुहिएको छ ।

लोकप्रिय