२० अर्ब खर्च हुँदा २० हजार हेक्टरमा मात्र सिँचाइ

२० अर्ब खर्च हुँदा २० हजार हेक्टरमा मात्र सिँचाइ

आवश्यकताभन्दा निकै कम पानी छोडेर तयार भएका नहरको परीक्षण


नेपालगन्ज ।

बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य ढिलो भइरहेको छ । आयोजना निर्माणमा ढिलाइ भइरहेका कारण लागत पनि सोही अनुपातमा बढ्दै गएको आयोजनाले जनाएको छ ।

अठार वर्षअघि सात अर्ब रुपैयाँलागत लाग्ने भनी सुरु गरिएको सो आयोजनाको हालको लागत ५२ अर्ब ८९ करोड पुगेको छ तर काम अझै सुस्त गतिमा नै भइरहेको छ । आयोजनाका लागि हालसम्म २० अर्ब २५ करोड रुपैयाँखर्च भइसकेको र त्यसबाट २० हजार २०० हेक्टर जमिनमा मात्र सिँचाइ पुगेको आयोजनाले जनाएको छ । एक अर्ब रुपैयाँखर्च बराबर एक हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको आयोजनाले जनाएको छ ।

आयोजनाको पश्चिमी नहरबाट १६ हजार र पूर्वी नहरबाट चार हजार २०० गरी २० हजार २०० हेक्टर जमिनमा सिँचाइ पुगेको सिक्टा सिँचाइ आयोजनाले जनाएको छ । बाँकेको करिब ४३ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले आर्थिक वर्ष २०६२/६३ देखि आयोजना निर्माण सुरु गरिएको थियो । आयोजना सुरु भएको करिब दुई दशकमा २० अर्बभन्दा बढी खर्च हुँदा पनि लक्ष्य अनुसार कार्य भएको छैन ।

तेस्रो पटक गुरुयोजना परिवर्तन गरेर २०९० मा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको तर सो अवधिमा कार्य सम्पन्न हुने सम्भावना निकै कम रहेको आयोजनाकै अधिकारीहरू बताउँछन् ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर एवं सूचना अधिकारी सन्देश पौडेलले बन्द, हड्ताल, कोरोना, किसानले हालेको मुद्दालगायतका कारण निर्माण कार्यमा केही ढिलाइ भएको तर काम नियमित नै भएरहेको बताए । निर्माण सामग्रीको मूल्यवृद्धिले निर्माण लागत पनि बढेको उनले बताए । बाँकेमा अहिले ३६ हजार ५०० हेक्टरमा धान खेती हुन्छ ।

बाह्रैमास पानी सुविधा भएमा किसानले धानबाहेकका खेतीबाट पनि राम्रो आम्दानी गर्ने आशा गरिए पनि किसानको आशा अझै पूरा हुन सकेको छैन । आयोजनाले आवश्यकताभन्दा निकै कम पानी छोडेर तयार भएका नहरको परीक्षण गरिरहेको किसानको गुनासो छ । किसान अगुवा शालिकराम डाँगीले पूर्वी र पश्चिम नहरमा छोडिएको पानीबाट किसानले खासै फाइदा लिन नसकेको दाबी गर्नुभयो ।