शान्ति र आनन्द चाहनुहुन्छ ? लुम्बिनी घुम्न जाऔँ

शान्ति र आनन्द चाहनुहुन्छ ? लुम्बिनी घुम्न जाऔँ


लुम्बिनी ।

नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाएपछि घुमफिर गर्न चाहनेका लागि बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित क्षेत्र महत्वपूर्ण गन्तव्य बनेका छन् । शान्त वातावरणमा रमाउन चाहने पर्यटकका लागि यो निकै उपयुक्तस्थल हो । यहाँ बर्सेनि लाखौँको सङ्ख्यामा आन्तरिक एवं वाह्य पर्यटक, तीर्थालु, तथा अध्येताहरु सो स्थानमा आउँछन् ।

बौद्ध धर्मावलम्बीका लागि लुम्बिनी महत्वपूर्ण पवित्र तीर्थस्थल हो । बुद्ध जन्मस्थल लुम्बिनीमा मुख्यतया मायादेवी मन्दिरलगायत, बेबि बुद्धको मूर्ति राखिएको स्थान, शान्तिदीप, विश्वशान्ति स्तुपलगायत दर्जन बढी गुम्बा र विहार रहेका लुम्बिनी पुगेपछि घुम्नैपर्ने क्षेत्र हुन । लुम्बिनी भगवान गौतम बुद्धको पवित्र जन्मस्थल हो । ई पू ६२३ मा लुम्बिनीस्थित बगैँचामा माता मायादेवीको कोखबाट गौतम बुद्धको जन्म भएको हो ।

भगवान् गौतमबुद्धले जन्म लिएको यही स्थानमा अहिले सुन्दर कलात्मक शैलीको मायादेवी मन्दिर रहेको छ । मायादेवी मन्दिरभित्र राखिएको मायादेवीको मूर्तिलाई जन्ममूर्ति पनि भन्ने गरिन्छ । चौँथो शताब्दीमा निर्मित यो मूर्तिले बुद्धको जन्म दृश्यलाई देखाएको छ ।

मायादेवीले गौतम बुद्धलाई जन्म दिँदा सहाराका लागि दाँहिने हातले रुखको हाँगा समातेको र देब्रेपट्टी उहाँकी बहिनी प्रजापती र देवगण भगवानको स्वागतका लागि तयारी अवस्थामा देखिएका छन् । त्यही नवजात बुद्धको मूर्ति पनि बीचमा रहेको छ ।

मायादेवी मन्दिरभित्र गौतमबुद्ध जन्मेपछिको पहिलो पाइला छ । यही मन्दिरको अवलोकन गर्न र गौतम बुद्धको जन्मका बारेमा जानकारीका लागि पनि हरेक वर्ष लाखौँको सङ्ख्यामा बौद्ध तीर्थालु, अध्येता र पर्यटक पवित्र लुम्बिनी भ्रमणमा आउँछन् ।

त्यस्तै मन्दिर परिसरमा बाहिर उत्तरतर्फ शान्तिदीप छ, जुन २४ घण्टा नै बलिरहन्छ । शान्तिदीप पानी पर्दासमेत निभ्दैन । दीपसँगै रहेको नहरमा लुम्बिनीमा आउने पर्यटक डुङ्गा चढेर पनि रमाउने गर्छन् । लुम्बिनी गुरुयोजना अन्तर्गत लुम्बिनीलाई सौन्दर्य दिनका लागि करिब एक किलोमिटर दुरीसम्म बनाइएको नहरमा डुङ्गा चल्ने गर्दछ । यहाँ आउने पर्यटकलाई लुम्बिनी घुमेर मात्र पुग्दैन । पर्यटक बुद्धसँग सम्बन्धित लुम्बिनी वरिपरिका क्षेत्र घुम्न पनि उत्तिकै महत्वपूर्ण ठान्छन् ।

जापानी प्राकेन्जो टाँगेद्वारा तयार पारिएको लुम्बिनी गुरुयोजना ३ वर्ग माइल क्षेत्र ओगटेको छ । यस क्षेत्रलाई प्रत्येक एक वर्ग माइल क्षेत्र विभाजन गरी गुरुयोजना अनुसार लुम्बिनी क्षेत्रको निर्माणकार्य भइरहेको छ । गुरु योजना अनुसार तीन क्षेत्र सेक्रेट गार्डेन, स्तुप क्षेत्र र नयाँ लुम्बिनी गाउँको रुपमा विभाजन गरी विभिन्न देशले आकर्षक स्तुप बनाएका छन् । लुम्बिनी पुग्ने हरेक पर्यटक ती स्तुपहरुमा नपुगे लुम्बिनी भ्रमण अधुरै रहन्छ । यहाँका घुम्नैपर्ने स्थानहरु यस प्रकारका छन् ।

लुम्बिनी पवित्र उद्यान क्षेत्रः लुम्बिनीको दक्षिण भागमा रहेको पवित्र उद्यान क्षेत्रको मुख्य रुपमा आध्यत्मिकता, शान्ति, विश्व भातृत्व र अहिंसा झल्किने वातावरणको सिर्जना गर्नुका साथै संसारभरि नै भगवान गौतमबुद्धका सन्देश प्रतिविम्बित गर्नु हो । पवित्र उद्यान क्षेत्रमा पुरातात्विक तथा ऐतिहासिक धरोहर रहेका छन् यिनलाई बगैँचा र सुन्दर पोखरीले थप मनमोकह बनाएको छ । यस क्षेत्रमा रहदा हरेकलाई शान्ति र आनन्द महसुस हुनेगर्छ ।

बिहार क्षेत्रः लुम्बिनी क्षेत्रको पूर्वी बिहार क्षेत्रमा १३ प्लट थेरवादीहरुका लागि र पश्चिम क्षेत्रमा २९ महायानी बौद्धमार्गीका लागि छुट्याइएका छन् । सांस्कृतिक केन्द्रमा अनुसन्धान केन्द्र तथा पुस्तकालय, सूचना केन्द्र र सङ्ग्रहालय रहेका छन् । यसबाट बौद्ध धर्मसम्बन्धी अध्ययन र अनुसन्धानमा सहयोग पुगेको छ ।

नयाँ लुम्बिनी ग्रामः गुरुयोजनाको उत्तरी क्षेत्र नयाँ लुम्बिनी ग्रामको रुपमा विकास भइरहेको छ । यात्रु तथा पर्यटकका लागि यस क्षेत्रमा होटल तथा रेष्टुरेन्ट लगायतका सुविधा यस क्षेत्रमा निर्माण भएका छन् । यस क्षेत्रमा दुर्लभ पक्षी सारस संरक्षण केन्द्र पनि स्थापना गरिएको छ । जापानको धार्मिक सङ्गठनद्वारा स्थापित विश्व शान्ति स्तुप र लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालयसमेत यसै क्षेत्रमा छन् ।

पहिलो दिन लुम्बिनी घुमेपछि दोस्रो दिन बुद्धले आफ्नो जीवनकालको २९ वर्ष बिताएको शाक्य राज्यको राजधानी कपिलवस्तु जिल्लाको तिलौराकोट घुम्न सकिन्छ । लुम्बिनीबाट तिलौराकोट जानका लागि सार्वजनिक यातायातको व्यवस्था छ । कपिलवस्तु पुगेपछि बुद्धसँग सम्बन्धित तिलौराकोटसँगै गोटिहवा, सग्रहवा, निग्लिहवा, अरौराकोट र सिसहनिया पनि घुम्न सकिन्छ ।

बुद्धसँग सम्बन्धित ती क्षेत्रमा घुम्नका लागि आम पर्यटक पनि ती ठाँउमा पुग्ने गर्दछन् ।

तिलौराकोटः बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबारको भग्नावशेष हेर्न हजारौँ सङ्ख्यामा स्वदेशी तथा विदेशी बुद्धधर्मका अनुयायी तिलौराकोट पुग्छन् । विश्वप्रसिद्ध ऐतिहासिक र पुरातात्विक महत्वको तिलौराकोटलाई प्राचीन कपिलवस्तुका रुपमा चिनिन्छ । बुद्धजन्मस्थल लुम्बिनीबाट कपिलबस्तु सदरमुकाम तौलिहवा हुँदै जाँदा करिब २८ किलोमिटरको दूरीमा तिलौराकोट रहेको छ ।

कपिलवस्तु सदरमुकाम तौलिहवादेखि उत्तर वाणगङ्गा नदीको किनारमा अवस्थित तिलौराकोट ई पू। एघारौँं शताब्दीदेखि सन् दोस्रो शताब्दीसम्मका पुरातात्विक भग्नावशेषका साथै प्राचीन दरबारको पूर्वी तथा पश्चिमीद्धार यहाँ अवलोकन गर्न सकिन्छ । यहाँ पटक–पटक विश्व प्रसिद्ध पुरातत्वविदहरुले उत्खनन् गरेको र त्यसबाट तीन हजार वर्ष अघिका संरचना फेला परेका छन् ।

कुदानः कपिलवस्तुको तौलिहवाबाट तीन किमीको दुरीमापर्ने कुदान प्राचीन निग्रोधराको नामले चिनिन्छ । यस स्थलमा शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि प्राचीन कपिलवस्तुको राजा एंव बुद्धले आफ्ना पिता शुद्धोधन, रानी प्रजापती गौमती, श्रीमती तथा राजकुमारी यशोधरा र छोरा राहुललाई पहिलो भेट गरेको स्थल हो । पुरातात्विक एंव धार्मिक महत्वको यस स्थानमा हाल तीनवटा स्तुप, एक पोखरी र एउटा इनार रहेका छन् । बुद्धसँगै आएका तीनसय भिक्षुकाले यस बगैँचामा रहेको पोखरीमा नुहाएको र आफ्नो साथमा आएर भिक्षुलाई बुद्धले उपदेश दिएका थिए

निग्लिहवाः कपिलवस्तुको तौलिहवाबाट आठ किलोमिटर दूरीमा पर्ने निग्लिहवा शाक्यमुनि बुद्धपूर्वका कनकमुनि बुद्धको जन्मस्थलको रुपमा लिइन्छ । यहाँ सम्राट अशोकले ई पू २४९ मा शिला निर्माण गरेका थिए अहिले उक्त पिलर ढलेको छ । तिलौराकोटबाट तीन किमीको यात्रापछि निग्लिहवा पुगिन्छ ।

गोटिहवाः क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवा लुम्बिनीबाट करिब ३१ किमी दूरीको यात्रापछि पुगिन्छ । क्रकुछन्दले बुद्धत्व प्राप्ति गरेको तथा बुद्धत्व प्राप्ति गरेपश्चात पहिलो पटक बुबासँग भेट भएको पवित्रस्थलको रुपमा गोटिहवालाई लिइन्छ । इपूको तेस्रो शताब्दीमा सम्राट अशोकले यस पवित्रस्थलमा आई आफैँले शीलास्तम्भ गाडी यहाँको स्तुप निर्माण गरेका थिए ।

सगरहवाः शाक्यमुनी बुद्धको जीवनको अन्त्यतिर शाला राज्यका राजा बिरुढकले प्राचीन कपिलवस्तु राज्यका शाक्यहरुको सामूहिक बध गरेको स्थानको रुपमा सगरहवालाई चिनिन्छ । लुम्बू सागरको नामलेसमेत परिचित यो पोखरीको हालको लम्बाइ १०५९ र चौडाइ २२५ रहेको छ ।

जगदिशपुर ताल : मानव निर्मित सबैभन्दा ठूलो जलाशय जगदिशपुर ताल हो । यो तिलौराकोटदेखि १० किलोमिटर उत्तरमा रहेको छ । विश्व रामसार सूचीमा सुचीकृत यस तालमा एकै पटक हजारौँको सङ्ख्यामा विभिन्न जातका चराको अवलोकन गर्न पाइन्छ । यसको नजिकै थारु बस्ती रहेको र परम्परागत जीवनशैली, थारु जातीको प्रयोग गर्ने भाँडाकुँडा र खानपान आकर्षण हुन ।

देवदहः देवदह प्राचीन कोलिय राजधानी हो । यो बुद्ध जन्मस्थल लुम्बिनीदेखि करिब ६७ किलोमिटर पूर्वमा रहेको छ । यस ठाउमा शाक्यमुनि बुद्धकी आमा मायादेवी, कान्छीआमा प्रजापती र श्रीमती यशोधराको माइती गाउँको रुपमा मानिन्छ । शाक्यमुनि बुद्धले बाल्यकालका कैयन समय कान्छी आमाको साथमा यहाँ बिताएको मान्यता रहेको छ ।

बुद्धले आफ्नो ज्ञान प्राप्तीको सातौंँ वर्षमा सहयोगीका साथमा देवदहको भ्रमण गरेको विभिन्न बौद्ध ग्रान्थमा लेखिएका छन् । यस क्षेत्रको भ्रमणबाट आध्यात्मिक पर्यटकका लागि भनानीपुर, कन्यामाई, बैरिमाइ मन्दिर तथा मायादेवी, प्रजापती र यशोधराको माइती क्षेत्रको अवलोकन भ्रमण गर्न सकिन्छ । प्राचीन कोलिय कालखण्डको पाकरी वृक्षका समेत यहाँको भ्रमणबाट अवलोकन गर्न सकिन्छ ।

रामग्रामः पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारबाट करिब तीन किलोमिटर दक्षिणबाट केही पूर्व झरही खोलाको किनारामा ऐतिहासिक, पुरातात्विक तथा धार्मिक रामग्राम स्तुप रहेको छ । करिब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ समतल मैदानमा देखिने थुम्को नै रामग्राम स्तुप हो । सम्राट अशोकले जम्बुदीपमा ८४ हजार स्तुप निर्माण गर्दा पनि रामग्रामको अस्तु लैजान नसकेको हुँदा बौद्ध धर्म र संस्कृतिको दृष्टिले यसको विशेष महत्व मानिन्छ । रासस