दसैँको फुर्सदमा घुम्नैपर्ने ९ धार्मिकस्थल

दसैँको फुर्सदमा घुम्नैपर्ने ९ धार्मिकस्थल


काठमाडौँ ।

नेपालिहरूको महान चाड बडादसैँमा अधिकांशको लामो विदा हुने गर्छ । त्यो विदाको सदुपयोग गर्न विभिन्न ठाउँहरू पनि घुम्ने गरिन्छ । तर, कहाँ घुम्ने भनेर धेरै जना अलमलमलमा परेको हुनसक्छ । आउनुहोस् आज हामी तपाईँलाई घुम्नुपर्ने केही धार्मिक ठाउँहरूको बारेमा जानकारी दिनेछौँ । जहाँ तपाईले धार्मिक यात्रासँगै रमणीय दृष्यहरूको पनि अवलोकन गर्न सक्नुहुन्छ ।

पाथिभरा, ताप्लेजुङ

हिन्दुधर्मालम्बीहरूको प्रसिद्ध तिर्थस्थल हो । विभिन्न स्थानहरूको अवलोकन गर्दै कन्याम चिया बगानमा जाने र सोही क्षेत्रमा बसोबास गर्ने ।

आधा दिन चिया बगानको अवलोकन गर्ने साथै सो दिन अन्तुडाडाँमा बासोबास गर्ने । अन्तु डाँडाँबाट ६ घन्टाकोे सवारीमा यात्रापछि ताप्लेजुङ पुग्न सकिन्छ सो दिन सोही स्थानमा बस्ने । ताप्लेजुङ बजार क्षेत्र, पाथीभरा मन्दिर क्षेत्रको दर्शन पछि सो दिन तप्लेजुङमानै बस्ने ।

हलेसी खोटाङ

आन्तरिक पर्यटकलाई लक्षित गरी सार्वजनिक गरिएको उक्त प्याकेजमा विशेष गरी धार्मिक पर्यटकहरू समावेश हुन सक्ने छन । खोटाङ जिल्लामा रहेको हलेसी महादेव बौद्ध धर्मालम्बीहरूको लागि समेत चिर्चित क्षेत्र हो ।

उक्त क्षेत्रमा जानको लागि हवाई र सडक दुवै प्रयोग गर्न सक्ने छन । खासगरी हवाई मार्गको प्रयोग गर्दा पहिलो दिन काठमाडौ-कटारी, जनकपुर अथावा विराटननगर जुन सुकै स्थानमा पनि जान सकिन्छ । त्यो दिन कटारीका बसेर पहिलो दिन बास बस्नुपर्ने हुन्छ ।

जानकी मन्दिर जनकपुर

जानकी मन्दिर पवित्र हिन्दु धर्मस्थल हो । जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ । यस मन्दिरलाई मुगल शैलीमा बनाइएको छ । नेपालको ख्यातीप्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ ।

प्राचिन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र हो । हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ । भारत मध्यप्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ ।

यो मन्दिर सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा निर्माण पूरा भएको थियो । मन्दिर मिथिलाञ्चलबासीका लागि सांस्कृतिक धरोहर पनि हो ।

काठमाडौँबाट २६५ किलोमिटर दूरीमा रहेको जनकपुर आठ घण्टाको बस यात्रामा पुगिन्छ । काठमाडौँबाट जनकपुर सीधा हवाइसेवाले पनि जोडिएको छ ।

बाराही मन्दिर, पोखरा

पोखराको आकर्षणको केन्द्रबिन्दुका रूपमा फेवातालको बीचमा प्रसिद्ध भगवती तालबाराहीको मन्दिर छ । यहाँ घुम्न आउने अधिकांश स्वदेशी तथा विदेशी पर्यटक फेवातालमा बोटिङ गर्ने र तालको बीचमा रहेको तालबाराही मन्दिरमा पुगेर दर्शन गर्ने गर्छन् ।

पोखरामा हनिमुन मनाउन आउने जोडीहरू पनि प्रशस्त भेटिन्छन् । पोखरा भित्रिने अधिकांश पर्यटक फेवाताल र तालबाराही मन्दिरमा पुग्ने गर्छन् ।

डुङ्गा भाडामा लिएर दिनभर बोटिङ गर्न पाइन्छ । फेवातालमा माछापुच्छ्रे हिमालको छाया देखिन्छ । बोटिङ गर्ने पर्यटक यही देखेर मोहित हुने गर्छन् ।

फेवातालको किनारमा रहेको लेकसाइड बजार आफैंमा आकर्षक छ । पोखरा पुग्ने अधिकांश पर्यटक लेकसाइडमै बस्न रुचाउँछन् । युरोपकै झल्को दिने रात्रिकालीन जीवनशैलीमा घूलमिल हुन रुचाउनेहरू मन्त्रमुग्ध हुने गर्छन् । पोखराका अधिकांश होटल तथा लजहरू लेकसाइडमै छन् ।

लुम्बिनी, कपिलबस्तु

गौतम बुद्धको जन्मस्थान लुम्बिनी अर्को आकर्षक गन्तव्य हो । दसैँ विदा मनाउनका लागि लुम्बिनी उत्तम हुनसक्छ । भैरहवाबाट नजिकै रहेको लुम्बिनी विश्वभर चर्चित रहेको छ ।

पछिल्लो समय विदेशीमात्र होइन नेपालीहरूको लुम्बिनी बाक्लो उपस्थिती देखिन थालेको छ । यहाँको प्रमुख आकर्षण भनेको मायाँदेवी मन्दिर हो ।

अत्यन्तै सुन्दर रहेको लुम्बिनीमा विभिन्न देशका कलात्मक गुम्बाहरू रहेका छन् । सबैभन्दा राम्रो गुम्बा बनाउन विभिन्न देशहरूबीच प्रतिस्पर्धा भएको आभाष मिल्छ ।

गोसाईँकुण्ड

बागमती प्रदेशकाे रसुवा जिल्लामा पर्ने हिन्दुहरूको पवित्र तीर्थस्थलको रुपमा रहेको गोसाईँकुण्ड समुद्र सतहदेखी ४३६० मिटरको उचाइमा अवस्थित छ । चारैतिरबाट मनोरम पहाडहरूले घेरीएको यो ठाउँ अति नै सुन्दर र रमणीय छ ।

यहाँ जनै पूर्णिमाका दिन ठुलो मेला लाग्छ । भगवान् शिवले त्रिशुल प्रहार गरी निस्केको पानी जम्न जाँदा यो कुण्ड निर्माण भएको विश्वास गरिन्छ ।

गोसाईकुण्डका अतिरिक्त यहाँ सरस्वतीकुण्ड‚ भैरवकुण्ड‚ सूर्यकुण्ड‚ गणेशकुण्ड लगायतका ९ वटा कुण्डहरू रहेका छन् । नेवारहरू गोसाईँकुण्डलाई शिलुतीर्थ भन्ने गर्छन् । त्रिशुली नदीको उत्पति यही गोसाईँकुण्डबाट भएको हो ।

काठमाडौँको सुन्दरीजलदेखि गोसाइँकुण्डसम्मको यात्रा धार्मिक, ऐतिहासिक र मानवशास्त्रीय हिसाबले राम्रो पदयात्रा मानिन्छ ।

मुक्तिनाथ

मुक्तिनाथ हिन्दु तथा बौद्धमार्गीहरूको लागि एक महत्वपूणर् तिर्थस्थल हो । यो तिर्थस्थल ३७१० मीटरको उचाईमा मुस्ताङ जिल्लामा अवस्थित छ । यस मन्दिरलाई हिन्दुहरूले मुक्ति क्षेत्र तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा (जसको अर्थ हुन्छ ‘सय पानी‘) भन्छन् ।

मुक्तिनाथ वैष्णव सम्प्रदायको प्रमुख मन्दिरहरू मध्य एक हो । यो तिर्थस्थल शालिग्राम भगवानको लागि प्रसिद्ध रहेको छ । शालिग्राम वास्तवमा एउटा पवित्र शिला हो । जसलाई हिन्दु धर्ममा पुजनीय मानिन्छ । यो मुख्य रुपमा कालिगण्डकी नदिमा पाइन्छ । जस क्षेत्रमा मुक्तिनाथ मन्दिर अवस्थित छ त्यस ठाउँलाई मुक्तिक्षेत्रको नामले चिनिन्छ ।

हिन्दु धार्मिक मान्यताको आधारमा यो यस्तो क्षेत्र हो, जहाँ मानिसहरूलाई मुक्ति अथवा मोक्ष प्राप्त हुन्छ । मुक्तिनाथको यात्रा जटिल रहेको छ तैपनि हजारौ संख्यामा हिन्दु धर्मावलम्बी यहाँ तिर्थ गर्नका लागि आउने गरेको पाइन्छ । यहाँ ऋषितर्पणी‚ रामनवमी र बडादसैँमा ठुलो मेला लाग्ने गर्छ ।

मुक्तिनाथ जान पछिल्लो समय धेरै नै सजिलो बनेको छ । देशका प्रमुख सहरहरूबाट सजिलै गाडिहरू पाउने गर्छ । अझ काठमाडौँबाट सोझै मुक्तिनाथसम्मको गाडि पाईन्छ ।

स्वर्गद्वारी

स्वर्गद्वारी प्युठान जिल्लाको सदरमुकाम खलंगाबाट करिब २६ किलोमिटर पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । स्वर्गद्वारी मन्दिर नेपालका प्राचीन मन्दिरहरूमध्ये यो मन्दिरलाई एक मानिन्छ । पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास रहेको छ ।

यहाँ परापूर्व कालमा ऋषिहरू बसेर तपस्या गर्ने गरेको र भगवान ब्रह्मा स्वयंले यहाँ तपस्या गरेको भन्ने जनविश्वास छ । स्वर्गद्वारीमा ऐतिहासिक अग्निखण्ड, गुफा, महादेव स्वर्ग गएको बाटो, यहाँ पालिएका गाई, महाप्रभुको दर्शन गर्नाले पुण्य पाइने र मनोकांक्षा पूरा हुने विश्वास छ । वैशाख पूर्णिमा, बुद्धजयन्ती र उभौली पर्वको अवसरमा स्वर्गद्वारीमा हरेक वर्ष मेला लाग्छ ।

समुद्री सतहबाट दुई हजार १ सय २१ मिटर अग्लो स्थानमा रहेको स्वर्गद्वारीको हावापानी, प्राकृतिक सुन्दरता, ऐतिहासिक मनोरम तलाउ, आश्रमको यज्ञशालाको दक्षिण भू-भागमा रहेको ठुलो बाँझको बोट, महाप्रभुले तपस्या गर्ने गरेको गुफा, १९५२ सालदेखि सञ्चालनमा आएको वेद पाठशाला, गोवर्द्धन पहाड, विभिन्न मठमन्दिरलगायतका स्थल मुख्य आकर्षण छन् । १९५२ सालमा वेदमन्त्रद्वारा प्रकट गरेको अग्निद्वारा सञ्चालित यज्ञकुण्ड स्वर्गद्वारीको विशेष आकर्षणका रूपमा मानिएको छ ।

काठमाडौंबाट रोल्पा जाने बस चढेर प्यूठानको भिङ्ग्रीमा ओर्लनुपर्दछ र भिङ्ग्रीबाट तीन घण्टाको पैदल यात्रापछि स्वर्गद्वारी मन्दिर पुग्न सकिन्छ ।

कालिञ्चोक भगवती

दोलखा जिल्लामा पर्ने कालिञ्चोक भगवती नेपालको एक चर्चित धार्मिक तथा पर्यटकीय स्थल हो । कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौँको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनीमध्ये एक हुन् भन्ने किम्बदन्ती प्रचलित रहेको छ ।

यो मन्दिर सदरमुकाम चरिकोटबाट उत्तरमा अवस्थित रहेको छ । समुन्द्र सतहबाट यो ३ हजार ८४२ मिटर उचाईमा छ । कालिञ्चोक डाँडाबाट मनोरम रोलवालिङ हिम शृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ ।

कालिञ्चोक जान काठमाडौँबाट सार्वजनिक यातायात सिधै पाइँदैन । त्यसको लागि काठमाडौँबाट दोलखाको चरिकोटसम्म जान सकिन्छ । त्यहाँबाट सार्वजनिक सवारी थोरै मात्रमा चल्ने गर्छ । तर, भाडाका अन्य सवारी साधन भने सजिलै पाइन्छ ।