सौराहामा ४५ करोडको सिद्धार्थ भिलासा बनबास रिसोर्ट खुल्यो , निकुञ्जभित्रका होटलको झल्को

सौराहामा ४५ करोडको सिद्धार्थ भिलासा बनबास रिसोर्ट खुल्यो , निकुञ्जभित्रका होटलको झल्को


चितवन ।

चितवन राष्ट्रिय निकुञ्जभित्रका सात वटा होटल बन्द भएको १२ वर्षपछि तिनै होटलको झल्को दिने गरी सौराहामा सिद्धार्थ भिलासा बनबास रिसोर्ट सञ्चालनमा ल्याइएको छ ।

वरिपरी जङ्गललले घेरिएको रिसोर्टभित्र पनि विभिन्न जातका रुख बिरुवाले निकुञ्जको झल्को दिने गर्दछ । रिसोर्ट छिर्ने जोकोहीलाई निकुञ्जभित्र पुगेको आभाष हुन्छ । सौराहाको बजारी क्षेत्रबाट केही पर खैरहनी नगरपालिका–१३ हर्नरीमा यो रिसोर्ट छ । वन र वन्यजन्तु संरक्षणको क्षेत्रमा २ दशकभन्दा बढी समय बिताएका संरक्षणकर्मी स्थानीयवासी वासु ढुङ्गानाले ९ वर्षअघि रिसोर्ट निर्माणको सुरु गरेका थिए ।

बन्दै गर्दा संविधानसभा सदस्य एवं व्यवसायी उमेश श्रेष्ठ पनि जोडिएका थिए । यससँगै नेपालमा हस्पिटालिटी क्षेत्रमा ख्याती कमाएको सिद्धार्थ ग्रुपसमेत यसमा जोडिएर रिसोर्ट सञ्चालनमा ल्याइएको हो ।

चितवन राष्ट्रिय निकुञ्ज स्थापना भन्दा पहिला खुलेको टाइगर टप्ससहित ७ वटा होटल २०६८ सालमा बन्द भएपछि खर्चालु पर्यटक यहाँ आउने क्रम घटेकामा यस होटलले त्यस्ता पर्यटकलाई भित्र्याउन समेत सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

सिद्धार्थ हस्पिटालिटीले आफ्नो लक्जरी ब्राण्ड सिद्धार्थ भिलासाको दोस्रो शाखाको रूपमा यो रिसोर्ट सञ्चालनमा ल्याएको सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए । उनका अनुसार ग्रुपका होटल, रेष्टुरेन्ट, बेकरी क्याफे, होटल व्यवस्थापनजस्ता हस्पिटालिटी क्षेत्रमा ३० वटा शाखा सञ्चालनमा छन् ।

न्यौपानेले आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन यो होटल सहयोगी बन्ने बताए । रिसोर्ट निर्माणमा ४५ करोड खर्च भएको जानकारी दिँदै बनबास चितवन प्रालिका अध्यक्ष वासु ढङ्गानाले रिसोर्ट स्थापनासँगै देश तथा विदेशबाट बुकिङ गर्नेक्रम सुरू भएको बताए ।

३ बिघा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको यो रिसोर्ट कुमरोज र जन्कौली मध्यवर्ती सामुदायिक वन नजिक छ । यहाँ २४ भिल्ला र दुई स्वीटसहित ३४ सुविधायुक्त कोठा छन् । ‘भिल्ला काठले बनेका, माटोले पोतिएका, खपटाले छाएका छन् । ‘सम्पूर्ण भिल्लाको नामाकरण चाराको नामबाट राखिएको छ । रिसोर्ट परिसरमा ठूलो ताल र स्विमिङ पुल पनि निर्माण गरिएको छ,’ उनले भने ।

रिसोर्टमा २ वटा सभा कक्ष रहनाका साथै नजिकै रहेका सामुदायिक वनमा रमाउने जनावरको दृश्यावलोकन गर्न सकिने रेष्टुराँ पनि छ । यहाँ बस्न विदेशी पर्यटकले २ रात, ३ दिनको प्याकेजका लागि २५० देखि ४०० डलरसम्म तिर्नुपर्छ ।

यो रकमबाट पर्यटकले हात्ती सफारीबाहेकका प्याकेज प्राप्त गर्न सक्छन् । आन्तरिक पर्यटक एक जोडीलाई १० हजार रुपैयाँमा एक रात बसाइँ र ब्रेकफास्टको सुविधा रहेको अध्यक्ष ढुङ्गानाले जानकारी दिए । होटल आइतबार घटस्थापनाका दिन शुभारम्भ गरिएको थियो ।