new

बनाउदै छन् मन्त्री मन्सुरले आफ्नो लागी बृद्धाआश्रम

Published Date: June 10, 2017

काठमाडौ । नेताहरू बेलाबेला भन्छन्, ‘के हामीले जोगी हुन राजनीति गर्या हो र ? ’

तर, केही यस्ता नेता पनि छन् जसले जोगीसरह नै राजनीति गरेका छन्। उनीहरुको राजनीतिक जीवनमा भोगभन्दा बढी त्याग मिसिएको छ। उनीहरुले राजनीतिमा लागेर कमाउनुको साटो पुर्ख्यौली सम्पत्ति पनि सिध्याएका छन्।

यस्ता थोरै नेतामध्ये एक हुन्, देउवा सरकारका श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुर।

मन्सुरले राजनीति गरेर, सांसद भएर, मन्त्री बनेर सम्पत्ति जोडेका छैनन्, घर ठड्याएका छैनन्। किनभने, उनको योजना नै सकुञ्जेल राजनीति गर्ने, नसकेका दिनदेखि वृद्धाश्रममा गएर बस्ने छ।

त्यसैले निजी घर जग्गा जोड्नुको सट्टा उनी वृद्धाश्रम बनाइरहेका छन्, जहाँ राजनीतिक जीवनपछि अरु वृद्धवृद्धासँगै बस्ने उनको योजना छ।

मन्सुर निख्रिँदै गएको नेपाली कांग्रेसको जोगी पुस्ताका अन्तिम कडीमध्ये एक हुन्, जसका लागि राजनीति त्याग, समर्पण र उत्सर्ग सबै हो। १०४ वर्षे राणा शासनबाट मुलुकलाई मुक्त गराएको कांग्रेसको पहिलो जननिर्वाचित सरकारलाई जब तत्कालीन राजा महेन्द्रले सैनिक ‘कू’ द्वारा अपदस्त गरे, धेरै युवाहरु एउटा बलिदानी भावना बोकेर कांग्रेस बने, राजाविरुद्ध लड्न।

कलैयाको मुस्लिम समुदायका मन्सुरले प्रजातन्त्र र कांग्रेसबारे सुनेको पनि २०१७ सालतिर हो। त्यतिबेला उनी ६ वर्षका थिए। राजा महेन्द्रले बिपी कोइरालाको सरकार अपदस्त गरी पञ्चायती व्यवस्था लागू गरेका थिए। ‘मेरो दाइ तरुण दलमा लाग्नुभएको थियो, कलैयामा उहाँको कपडाको पसल पनि थियो’, मन्त्री मन्सुरले भने, ‘म सानै थिएँ, दाइका साथीहरूलाई चिया पुर्याउन र पान ल्याइदिन जाँदा कांग्रेसको कुरा गरेको सुन्थेँ।’

दाइहरूका कुरा सुन्दासुन्दै उनको बालमस्तिष्कमा एउटा छाप पर्यो। नमेटिने छाप – पञ्चायत नराम्रो, प्रजातन्त्र राम्रो।

बाल मस्तिष्कमा त्यही छाप बोकेर उनी स्कुले विद्यार्थी बने। कलैयाकै स्कुलमा पढे र २०२६ सालमा एसएलसी दिए। त्यही साल काठमाडौंमा विपिन कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायत १० जनाले नेपाल विद्यार्थी संघ खोले। नेविसंघको जिल्ला विस्तार अभियान सुरु भयो। मन्सुर र उनका साथीहरूले पनि बारामा नेविसंघको जिल्ला कार्यसमिति बनाए।

२०२८ साल आइपुग्दा नपुग्दै उनीहरुलाई नेविसंघ मात्र बनेर पुगेन, कांग्रेसको सदस्यता चाहियो। त्यही सदस्यता लिन उनीहरु पटना गए। भारतमा निर्वासित जीवन बिताइरहेका बिपी कोइराला त्यतिबेला पटनामा बस्थे। पटना जानेमा मन्सुरसहित ११ जनाको टोली थियो। १७र१८ वर्षका कलिला ठिटाहरुले बिपीलाई भेटेर भनेछन्, ‘हामीलाई कांग्रेसको सदस्यता दिनुहोस्।’

बिपीको आँखा अरुभन्दा साना र दुब्लो पातलो ज्यान भएका मन्सुरमाथि पर्यो। उनलाई बिपीले सोधे, ‘थाहा छ, कांग्रेस बन्यो भयो भने दुस्ख हुन्छ, ज्यान पनि जान सक्छ।’

मन्सुरले हौसिँदै भनिदिए, ‘ज्यान जान सक्छ भन्ने थाहा पाएरै आएका हौं।’

मन्सुर लागायत सबैले कांग्रेसको सदस्यता पाए।

उनीहरू पटना जानुअघि भुसाहा काण्ड भएको थियो। रौतहटको भुसाहा भन्ने ठाउँमा मुस्लिमहरुले गाई काटे भन्ने हल्लाका भरमा हिन्दु–मुस्लिम दंगा भड्किएको थियो। त्यो धार्मिक दंगा रौतहट हुँदै छिमेकी जिल्ला बारासम्म पुगेको थियो। केही मुसलमान मारिएका थिए भने कयौं विस्थापित भएका थिए। तीमध्ये केही कलैया आएर बसेका थिए, कोही वीरगञ्ज पुगेका थिए।

बिपीले मन्सुरसँग भुसाहा काण्ड किन भएको भनेर सोधेछन्।

‘मैले थाहा पाएजति कुरा उहाँलाई बताइदिएँ,’ मन्सुरले भने।

भुसाह काण्ड कलैयामा हिन्दु परिवार, मारवाडी सेवा समिति लगायत संस्थाहरुले गाउँबाट विस्थापित भएर आएका मुस्लिमलाई बस्नेखाने व्यवस्था मिलाएका थिए। ‘बस्ने खानेमात्र होइन सुरक्षाको जिम्मा पनि लिएका थिए,’ मन्सुरले भने, ‘त्यसपछि पनि म यस्तो वातावरणमा हुर्किएँ जहाँ हिन्दुहरूले मेला आयोजना गर्दा मुस्लिमहरू आयोजक समितिमा बस्थ्यौं।’

त्यो घटनाप्रति बिपीले देखाएको संवेदनशीलताले उनको दिमागमा गहिरो छाप पारेछ। ‘कांग्रेस पार्टी सबै नेपालीप्रति संवेदनशील रहेछ भन्ने लाग्यो,’ उनले भने।

पटनाबाट पार्टीको सदस्यता लिएर आएको केही समयपछि मन्सुरका दाइलाई बिरामले च्याप्यो। त्यतिबेला कलेज पढ्न कि वीरगञ्ज जानुपर्थ्यो कि काठमाडौं आउनुपर्थ्यो। उनले पढाइलाई निरन्तरता दिन सकेनन्। दाइको पसलमा सघाए। जिल्लामा प्रतिबन्धित कांग्रेसको राजनीति गर्न थाले।

२०३४ सालमा कांग्रेसको पटना महाधिवेशन भयो। महाधिवेशनमा भाग लिएका उनीहरुले कांग्रेसको पहिलो बारा जिल्ला कार्य समिति बनाए। त्यो कार्यसमितिमा तिनै ११ जना थिए जसले पटना पुगेर बिपीसँग कांग्रेसको सदस्यता मागेका थिए। मन्सुर समितिमा उपसचिव भए। ०३६ सालमा उनी कांग्रेसका बारा सचिव भए। ०४८ सालमा जिल्ला सभापति बने। आन्दोलनमा लागेकाले २०३३, ०३६, ०३९ र ०६१र०६२ सालमा जेल परे।

२०५७ सालमा भएको महाधिवेशनमा उनी पहिलोपटक कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भए।

०५६ सालको संसदीय निर्वाचनमा बारा–३ बाट निर्वाचित मन्सुर ०६४ मा गिरिजाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा विज्ञान तथा प्रविधि मन्त्री बने। २०६४ सालको संविधानसभा निर्वाचनमा भने उनी पराजित भए। ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा फेरि बारा– ४ बाट उनी निर्वाचित भए।

२०११ सालमा जन्मिएका मन्सुर अविवाहित छन्। किन नगरेको त विवाह ?

‘भनिहालेँ नि कति बेला मरिन्छ थाहा थिएन। विवाह, घरबार भयो भने दायित्व हुन्छ। म बारामा भएका हरेक आन्दोलनको अग्रपंक्तिमा हुन्थेँ,’ मन्सुरले भने, ‘बहुदल नआउन्जेल तीनचोटि जेल परेँ। आफ्नै ठेगान नहुने मान्छेले विवाह गरेर किन अरुलाई सास्ती दिनु भनेर गरिएन।’

कृष्णप्रसाद भट्टराईकी दिदीको घर कलैया थियो। दिदीलाई भेट्न उनी बेलाबेला कलैया गइरहन्थे। त्यहीबेला मन्सुर र भट्टराईको सम्बन्ध पनि प्रगाढ बन्यो। उनलाई भट्टराईको सादगी जिन्दगीले खुब तान्यो। त्यही भएर पनि विवाहले उनलाई तान्न सकेन।

२०४६ सालमा बहुदल आइसकेपछि उनलाई कसैले मार्ला भन्ने खतरा टर्यो, तर त्यो सँगसगै बिहे गर्नुपर्छ भन्ने सोच र उमेर पनि टरिसकेको थियो।

उनले घरजम, परिवारभन्दा अरु नै सोचे।

पञ्चायतकै बेला उनले एउटा हिन्दी फिल्ममा बूढाबूढी वृद्धाश्रममा बसेको देखेका थिए। त्यही फिल्मबाट प्रभावित भएर उनको मनमा वृद्धाश्रम बनाउने सोच पलाएको थियो। पछिल्ला केही वर्षदेखि उनी त्यही सोचलाई कार्यान्वयन गरिरहेका छन्।

‘अरु बूढाबूढी पनि राख्छु आफू पनि बूढो भएपछि त्यही बस्छु,’ उनले भने।

अहिले बाराको जितपुर सिमरा उपमहानगरपालिका– ७ मा साढे आठ कठ्ठा जमिनमा उनले वृद्धाश्रम बनाइरहेका छन्। ‘सन्जिवनी वाटिका वृद्धाश्रम’ वर्षदिनपछि तयार हुने गरी काम भइरहेको छ। ‘अर्को वर्षदेखि त्यहाँ वृद्धवृद्धा राख्छु, नसकेका दिनदेखि आफू पनि त्यहीँ गएर बस्छु,’ मन्त्री मन्सुरले भने, ‘यत्ति गर्नलाई किन चाहियो सम्पत्तिरु’

उनलाई लाग्छ, कांग्रेसमा अहिले दुई पुस्ताका मानिस छन्। पहिलो, २०४६ सालभन्दा अघिको, जो म बरु मरे मर्छु तर कांग्रेस अघि बढाउँछु भनेर लागेको। दोस्रो, २०४६ पछिको पुस्ता ‘जसमा धेरैजसो केही पाउँछु कि भनेर कांग्रेसमा आएकाहरु’ छन्।

२०४६ सालअघिको पुस्ताका प्रतिनिधि पात्र हुन्, मन्सुर।

घरमा उनी माइला भाइ हुन्। दुई दाजुभाइ गृहस्थी जीवनमा छन्। मन्सुरले भने आफूले अंशमा पाएको बाबुको सम्पत्ति पनि राजनीतिका लागि खर्च गरिसके। ‘एक त तँ एक्लै छस् किन धेरै सम्पत्ति चाहियो भनेर दाइभाइले मलाई कम सम्पत्ति दिए,’ मन्सुरले हाँस्दै भने, ‘त्यही कम जग्गा पनि मैले केही चुनाव लड्दा बेचेँ केही भाइले घर बनाउन लाग्दा बेचिदिएँ।’

अहिले सांसद वा मन्त्री हुनु आफ्नो पुस्ताका लागि बोनस जिन्दगी भएको मन्सुरले बताए। ‘हामी त अहिले जे छौं त्यो बोनस पाएको जीवन हो,’ उनले भने, ‘जतिबेला कांग्रेसमा लागेका थियौं सांसद, मन्त्री भइएला भन्ने आश थिएन बरु ज्यान जाला भन्ने शंका थियो।’

कतिपय मानिसहरु असन्तुष्ट भएर कांग्रेस छाडेको बताउँछन् मन्सुर।

‘अहिले कांग्रेसको नेतृत्वमा सरकार बनेको छ, कयौं वर्ष जेलनेल भोगेका, आन्दोलनमा लागेका ५०र१०० जना साथीहरु मन्त्रीका आकांक्षी छन् तर अरु पार्टीमा पाँच जना सांसद भएका छन्, तिनै मन्त्री बनेका छन्,’ मन्सुरले भने।

मधेसलाई न्याय भएन, त्यहाँका जनताको आवाज सुनिएन भन्दै कांग्रेस छाडेर जानेहरू पनि धेरै छन्। मन्सुर पनि मधेसकै हुन्। अझ अल्पसंख्यक मुस्लिम समुदायका पनि।

के मधेसलाई वा अल्पसंख्यकलाई राज्यले वा कांग्रेसले विभेद गरेको छैनरु

‘हामीले दोस्रो जनआन्दोलनपछि बनेको अन्तरिम संविधानमा समावेशीता र समानुपातिक प्रतिनिधित्वको कुरा लेखेका थियौं,’ मन्सुरले भने, ‘तर २०१५ सालमा बिपीले बनाएको मन्त्रिमण्डल तपाईंले हेर्नुभयो भने त्यो कस्तो समावेशी थियो। त्यतिबेला संविधानमा लेखिएको थिएन तर व्यवहारमा समावेशीता थियो।’

उनको बुझाइमा एकातिर मधेसी जनतामा राणा शासनदेखि नै आफूहरुलाई राज्यले विभेद गरेको र लोकतन्त्र आएपछि आफू पनि बराबर हुनुपर्ने भावना छ। अर्कातिर केही नेताले मधेसी जनताको त्यही भावनालाई आफ्नो क्षणिक स्वार्थपूर्तिको माध्यम बनाउन खोजेकाले समस्या जेलिएको हो।

बहुजाति, बहुभाषा, बहुधार्मिक देश भए पनि परापूर्वकालदेखि नेपालमा जातीय र धार्मिक सद्भाव छ, एकता छ। पछिल्लो समय त्यो एकतामा केही समस्या देखिएका छन्। संविधान जारी भएपछि त्यो समस्या झन् बल्झेको छ। मन्सुरलाई लाग्छ – बल्झेको एकता सुल्झाउने माध्यम नै मध्यमार्ग हो।

‘बिपीले सुरु गरेको समावेशीताको कुरामा कांग्रेस अहिले पनि लागेको छ,’ मन्सुरले भने, ‘तर यहाँ केहीको पहाडे राष्ट्रवाद र केहीको मधेसी राष्ट्रवादले समस्या बढाएको छ। ती दुईका बीचमा हामीलाई नेपाली राष्ट्रवाद चाहिन्छ, त्यही नेपाली राष्ट्रवादले नेपाललाई एक बनाउँछ।’सेतोपाटीबाट

लोकप्रिय