नवजात शिशु बेच्ने डाक्टरसहित ३ जना कारागार चलान

नवजात शिशु बेच्ने डाक्टरसहित ३ जना कारागार चलान


विराटनगर ।

नवजात शिशु बिक्री गरेको आरोपमा पक्राउ परेका डा. तपेश्वरलाल कर्णसहित तीन जनालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ ।

जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजालशले डाक्टर कर्णसहित कटहरी ४ का सूर्यनारायण राजवंशी र भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राईलाई पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । राई विक्री भएको नवजात शिशुको बुबा र राजवंशी डाक्टर कर्णबाट बच्चा खरिद गरेका व्यक्ति हुन् ।

नवजात शिशु बेपत्ता पारेको आरोपमा ६ जना विरुद्ध अपहरण तथा व्यक्ति बेपत्ता पार्ने सम्बन्धी कसूरमा मुद्दा दायर भएको थियो । तीन जना धरौटीमा छुटेका छन् ।

मोरङ कटहरी गाउँपालिका – २ आदर्श टोलकी ३३ वर्षीय सुधा भन्ने सुक्री राजवंशी २ लाख धरौटीमा छुटेकी छन् । सिरहाको कल्याणपुर नगरपालिका – १२ की ३८ वर्षीय नर्स निर्मला यादव १ लाख र सूर्यनारायणकी आमा ४७ वर्षीय दिलमनीदेवी राजवंशी १० हजार धरौटीमा छुटेको जिल्ला अदालत मोरङका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।

जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार ६ जना प्रतिवादी विरुद्ध अपहरण तथा व्यक्ति बेपत्ता, एकीकृत कसुर सम्बन्धी मुद्दा दायर भएको थियो । प्रहरीले बच्चा बिक्री प्रकरणमा अस्पतालका अध्यक्ष कृष्ण खवासलाई मतियारमा मुद्दा चलाउने राय दिएको थियो । तर सरकारी वकिलको कार्यालयले उनलाई मुद्दा नचलाउने निर्णय गरेको थियो ।

भोजपुरका २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी २६ वर्षीय प्रेमिकाको सम्बन्धबाट १४ असारमा ग्रिनक्रस अस्पतालमा शिशु जन्मिएकी थिइन् । शिशुलाई बुबाले लैजान नचाहेपछि डाक्टर कर्णाले सुक्री मार्फत ग्राहक खोजेर बिक्री गरेका थिए ।

बुबाले स्वीकार गर्न नमानेपछि ग्रिनक्रस अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुलाई डा।कर्णले मोरङको कटहरी–२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेका थिए ।

बच्चा खरिद गर्ने राजवंशीसँग पाँच लाख रुपैयाँ लिएका डाक्टर कर्णले बच्चाको व्यवस्थापनका लागि अविवाहित बाबुसँग पनि ३५ हजार रुपैयाँ लिएका थिए ।

युवतीले ‘नर्मल डेलिभरी’मार्फत ग्रीनक्रस अस्पतालमा असार १४ गते नवजात शिशु ९छोरी० जन्माएकी थिइन् । बच्चाकी आमाले ३२ साउनमा मोरङ प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

अनुसन्धानबाट डा। तपेश्वरले निसन्तान दम्पतीलाई ५ लाख रूपैयाँ शिशु बिक्री गरेको पत्ता लागेको थियो । गायव पारिएको ५४ दिनपछि प्रहरीले शिशुलाई मोरङको कटहरी–२ आदर्श टोलबाट गत भदौ ५ गते जीवितै उद्धार गरेको थियो ।