new

वान बेल्ट वान रोडमा आज हस्ताक्षर हुँदै

Published Date: May 12, 2017

काठमाडौ । नेपालले वान बेल्ट वान रोड (ओबिओआर)मा सहभागिता जनाउने समझदारीपत्रमा शुक्रबार हस्ताक्षर हुने भएको छ । मन्त्रिपरिषद्ले सोमबार गरेको निर्णयअनुसार शुक्रबार बिहान परराष्ट्र मन्त्रालयमा हस्ताक्षर हुँदै छ ।

‘लामो समयको मिहिनेतपछि चीनसँग ओबिओआरमा सहभागी हुनेसम्बन्धी समझदारीपत्र (एमओयु)मा हस्ताक्षर हुँदै छ,’ परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नयाँ पत्रिकासँग भने । परराष्ट्र मन्त्रालयका अनुसार समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्रसचिव शंकरदास बैरागी र चीनका तर्फबाट नेपालका लागि राजदूत यु होङले हस्ताक्षर गर्ने कार्यक्रम छ ।

समझदारीपछि चीनसँग कनेक्टिभिटी, लगानी, क्षमता अभिवृद्धि, मुद्रा उपयोग, व्यापार तथा पारबहनलगायतका विषयमा सहकार्यको बाटो खुल्ने नेपालले अपेक्षा गरेको छ । नेपालले चीनसँग ओबिओआर अवधारणामा सहभागी हुने सैद्धान्तिक प्रारम्भिक समझदारीपत्रमा सन् २०१४ डिसेम्बरमा हस्ताक्षर गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक चीन भ्रमणका क्रममा ओबिओआरमा हस्ताक्षर गर्ने सहमति भएको थियो ।

ओबिओआर मञ्चको बेइजिङमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उपप्रधानमन्त्री कृष्णबहादुर महरा नेतृत्वमा तीन मन्त्रीसहितको प्रतिनिधिमण्डल शुक्रबारै चीन जाँदै छ । प्रतिनिधिमण्डलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की सहभागी हुनेछन् । सम्मेलन आइतबार र सोमबार सञ्चालन हुने तय भएको छ ।

लोकप्रिय