२ अर्ब १५ करोड रुपैयाँ लगानीमा पैदल मार्ग सुधार गर्दै काठमाडाैं महानगरपालिका

२ अर्ब १५ करोड रुपैयाँ लगानीमा पैदल मार्ग सुधार गर्दै काठमाडाैं महानगरपालिका


काठमाडौं ।

काठमाडौं महानगरपालिकाले पैदल मार्गलाई यात्रुमैत्री बनाउन यस बर्ष २ अर्ब १५ करोड रुपैयाँ लगानी गरेर निर्माण, मर्मत तथा सुधारको काम गर्दैछ ।

यसका लागि सबैजसो सडक खण्डको लागत अनुमान तयार भइसकेको छ । निर्माण कार्यका लागि जारी सूचनाबाट आएका र छनौट भएका केही निर्माण व्यवसायीसँग सम्झौता भइसकेको छ ।

मापदण्ड र निर्माण पक्षको क्षमताजस्ता प्राविधिक पक्षबाट काम हुन नसक्ने देखिएपछि केही सडकको पुनः बोलपत्रको सूचना भएको छ । केही सार्वजनिक सूचना प्रकाशनको चरणमा छन् ।

पैदल यात्रा गर्ने यात्रीको सहजताका लागि गएको आर्थिक बर्षबाट थालिएको कामलाई यस बर्ष थप तीब्र बनाइएको हो । सार्वजनिक निर्माण विभागले पैदल मार्गको संरचना निर्माण तथा सुधारका लागि काम गरिरहेको छ । यसअन्तर्गत मार्गमा रंगीन ब्लकहरु छापिनेछन् । दरबारमार्ग क्षेत्रमा भने ग्रेनाइट छापिनेछ ।

सार्वजनिक निर्माण विभागका अनुसार पुतलीसडक, अनामनगरलगायत क्षेत्रमा यस अघि काम भइसकेको छ । अहिले लैनचौरबाट सोह्रखुट्टे हुँदै बालाजुसम्मको सडक किनारा दुवैतर्फ काम भइरहेको छ । यसको लागत ४ करोड ५५ लाख रुपैयाँ रहेको छ। लैनचौरबाट–लाजिम्पाट–महाराजगञ्ज हुँदै चक्रपथसम्मको खण्डको कामका लागि सम्झौता भइसकेको छ । यसको लागत करिब १० करोड रुपैयाँ लाग्ने छ ।

प्रदर्शनी मार्गमा काम थालनी भएको छ । यसको लागत ३ करोड ७८ लाख रुपैयाँ रहेको छ । यता त्रिपुरेश्वरदेखि–सुन्धारा–महावौद्ध, रत्नपार्क, जमल हुँदै लैनचौरसम्मको सडक खण्डका लागि निर्माण पक्षसँग सम्झौता भइसकेको छ ।

यसको लागत १८ करोड रुपैयाँ लाग्ने छ । नयाँ बजार खण्डमा पर्ने जग्गा एकीकरण आयोजना क्षेत्रभित्र करिब ११ करोड लागतमा काम हुँदै गरेको महानगरपालिकाले जनाएको छ ।

बालुवाटार सडक खण्डमा निर्माण कार्य गर्नका लागि सम्झौता भइसकेको छ । यसको लागत ६ करोड ३५ लाख रुपैयाँ हो । तीनकुनेदेखि –सिनामंगल, त्रिभुवन विमानस्थल प्रवेशद्वार, सञ्चारग्राम, तिलगंगा हुँदै गौशालासम्मका लागि सम्झौता भइसकेको छ । यसको लागत ६ करोड ६९ लाख रुपैयाँ रहेको छ । यस्तै नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्मको मार्गका लागि ३ करोड २३ लाख थापाथली–टेकुहुँदै कालीमाटीसम्मको सडक खण्डको लागत ६ करोड रुपैयाँ रहेको छ ।

यस्तै बागबजारदेखि–चारखाल–डिल्लीबजार पिपलबोट, मैतीदेवी चोक, सेतो पुल, पुरानो बानेश्वर, भीमसेनगोलाहुँदै सिनामंगल सडक खण्डका लागि १० करोड लागत रहेको छ ।

कालीमाटीदेखि सोल्टी मोडहुँदै–कलंकी, गौशालादेखि –चावहिल, गौशालादेखि–रातोपुलसम्मको सडक खण्डलाई एउटा प्याकेजमा राखिएको छ । यसका लागि १० करोड लागत अनुमान गरिएको छ । यसका लागि पहिलो पत्र प्रकाशन गरिएको बोलपत्रबाट चाहिएको निर्माण पक्ष प्राप्त नभएपछि पुनः खरिद प्रक्रियामा लगिएको छ ।

यस्तै विशालनगरको भित्री सडकमा १ करोड ३५ लाख रुपैयाँ लागतमा काम हुँदैछ । महाङ्काल ओरालोदेखि मिलन चोकसम्मका लागि ८० लाख रुपैयाँ लाग्नेछ । यो खण्डको कामका लागि सम्झौता चरणमा पुगेको छ । वडा नं. १५ को भगवान पाउदेखि जुडोल मार्ग जोड्ने सडकका लागि १ करोड लागत अनुमान गरिएको छ । यसको वोलपत्र आव्हान सूचना प्रकाशन भएको छ ।

सूचनामा गएको अर्को योजना वडा नं. १६ को बालाजु चोकदेखि जनमैत्री अस्पताल, बालाजु उद्यानहुँदै बनस्थलीतर्फको सडक खण्ड हो । यसको लागत ३ करोड रुपैयाँ हो । वडा नं. ३२ जडीबुटी चोकदेखि पुरानो सिनामंगलपुलसम्मको सडक खण्डमा ११ करोड रुपैयाँ लागतमा पैदल मार्ग निर्माण हुनेछ ।

माइतीघर मण्डलादेखि नयाँ बानेश्वर हुँदै तीनकुनेसम्म १८ करोड रुपैयाँ लागतमा पैदल मार्ग र साइकल लेन निर्माण हुनेछ ।

यसैगरी बालमन्दिरदेखि नक्साल, नारायण चौर, हात्तीसार, कमलपोखरीहुँदै वडा डिल्लीबजार क्षेत्रका लागि ६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।धोवीखोला कोरिडोरको कपन सिमानादेखि बागमती दोभानसम्मको खण्डका लागि ११ करोड रुपैयाँ लागत हुनेछ ।

डल्लु आवास क्षेत्रमा ७७ लाख रुपैयाँमा उपभोक्ता समितिबाट काम भइरहेको छ ।

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र करिब १ हजार ३ सय किलोमिटर सडक सञ्जाल छ । यसमध्ये ८ मिटरभन्दा कम चौडाइ भएको १ हजार किलोमिटर सडक महानगरपालिकाको स्वामित्वमा आएको छ । बाँकी सडक संघीय सरकारअन्तर्गतको डिभिजन सडक कार्यालयको स्वामित्वमा छ । सडक जसको भए पनि पैदल मार्ग निर्माण, सम्भार र व्यवस्थापनमा महानगरपालिकाले काम गरिरहेको छ ।

यस खण्डमा छुटेका पैदल मार्ग निर्माण गर्नका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी सुधार गर्न, मर्मत गर्नका लागि १५ करोड रुपैयाँ विनियोजन भएको छ । यसको खरिद प्रक्रियाअन्तर्गत सूचना प्रकाशन भइसकेको छ ।