डिभी खुल्यो, कसरी दिने आवेदन ?

डिभी खुल्यो, कसरी दिने आवेदन ?


काठमाडौंँ ।

सन् २०२५ को अमेरिकी डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन दर्ता आजबाट खुला भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार नेपाली समयअनुसार बुधबार राति ९ः४५ बजेबाट डिभीको लागि आवेदन दिन सकिनेछ ।

डिभीको लागि आवेदन आगामी कात्तिक २१ गते राति १०ः४५ बजेसम्म दिन पाइने दूतावासद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ । ‘हामी डिभी आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गर्दछौँ,’ दूतावासले विज्ञप्तिमा भनेको छ ।

डिभी कार्यक्रममा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने दूतावासले स्पष्ट पारेको छ । दूतावासले भनेको छ, ‘अमेरिकी दूतावास तपाईँहरूलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला । सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ स्वयम् जिम्मेवार रहनुहुनेछ ।’

डिभीको लागि फारम अनलाइन भर्नुपर्नेछ । आवेदन दर्ता गर्दा आवेदकको पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य रहेको दूतावासले जनाएको छ ।

उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य हुने विज्ञप्तिमा उल्लेख छ । एक जनाले व्यक्तिले डिभीको लागि एउटा मात्र आवेदन दिन पाउनेछन् । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन् ।

अघिल्लो वर्षको डिभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिने दूतावासले जनाएको छ । फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु नहुने समेत दूतावासले बताएको छ ।

‘अघिल्ला वर्षहरूमा अमेरिकी विदेश मन्त्रालयले आवेदकहरूलाई डिभी आवेदन भर्दाको समयमा आफ्नो वैध र म्याद बाँकी रहेको राहदानीमा भएको जानकारी उपलब्ध गराउन निर्देशित गर्दथ्यो । हाल आएर आफ्नो डिभी आवेदन भर्दाको समयमा आवेदकहरूसँग म्याद बाँकी भएको राहदानी हुनु अनिवार्य छैन,’ दूतावासले भनेको छ ।