भैँसीको पेटबाट निकालियो साढे २ तोला सुनको मंगलसूत्र

भैँसीको पेटबाट निकालियो साढे २ तोला सुनको मंगलसूत्र


भारत ।

महाराष्ट्रस्थित वशिम जिल्लामा भैँसीको पेट चिरेर साढे २ तोला सुनको मंगलसूत्र निकालिएको छ ।

भैँसीले दाना खाने क्रममा मंगलसूत्र पनि निलेपछि सल्यक्रिया गरेर निकालिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्राप्त समाचारअनुसार सारसी गाउँकी एक महिलाले नुहाउने क्रममा आफ्नो मंगलसूत्र भटमास र बदामको बोक्राहरू राखिएको भाँडोमा लुकाएकी थिइन् । नुहाएर फर्किंदा उनले त्यही भाँडो भोकाएको भैँसीको अगाडि राखिदिइन् र आफू घरको अन्य कामधन्दामा लागिन् ।

जब उनलाई आफ्नो घाँटीमा मंगलसूत्र छैन भन्ने लाग्यो दगुर्दै बाहिर आइन् । तर, त्यतिञ्जेल भाँडोमा राखिएका बदामका बोक्रासँगै भैँसीले मंगलसूत्र पनि निलिसकेको थियो । त्यो देखेर आत्तिएकी उनले तुरुन्तै आफ्नो श्रीमान्‌लाई जानकारी गराइन् र उनका श्रीमानले गाउँकै पशुचिकित्सकलाई फोन गरे ।

डाक्टरको सल्लाहअनुसार भैँसी लिएर उनीहरू भेटेरिनरी पुगे । डाक्टरले भैँसीको पेटमै मंगलसूत्र रहेको यकिन गरे । भैँसीले दिसा गरेमा त्यसमै आउँछ कि भनेर एक दिन पर्खे तर नआएपछि डाक्टरले अर्को दिन शल्यक्रिया गर्ने निर्णय गरे । दुई घण्टाको शल्यक्रियापश्चात मंगलसूत्र निकालियो । भैँसीको पेटमा अहिले ६५ वटा टाँका लागेका छन् ।