डाक्टर कुटेर आएँ भन्ने इन्स्पेक्टर निलम्बित, प्रहरी प्रमुखको पनि सरुवा

डाक्टर कुटेर आएँ भन्ने इन्स्पेक्टर निलम्बित, प्रहरी प्रमुखको पनि सरुवा


पोखरा ।

चिकित्सकमाथि कुटपिट गरेको भन्दै खुलेआम स्वीकार गर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर ) मदन श्रेष्ठ निलम्बनमा परेका छन् ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक महिलाको मृत्युपछि उत्पन्न विवादमा सुरक्षाका लागि खटिएका श्रेष्ठले चिकित्सक र मृतकका आफन्तबीच भएको झडपका बेला विवादास्पद अभिव्यक्ति दिएका थिए ।

गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महारीक्षक वुद्धिराज गुरुङले इन्सपेक्टर श्रेष्ठमाथि अनुसन्धानका लागि निलम्बन गरिएको जानकारी दिए ।

उक्त प्रकरणमै सुरक्षा नेतृत्व लिएका वडा प्रहरी कार्यालय बैदाम प्रमुख डीएसपी वेद जोशीलाई पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको छ।

उक्त प्रकरणमा थप अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशसिंह कोइरालाको संयोजकत्वमा समिति समेत गठन गरिएको छ । समितिले छानबिन गर्दासम्म श्रेष्ठलाई जिम्मेवारीबाट हटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।